१ सय २७ किलो गाँजासहित भारतीय ट्रक प्ररहीको नियन्त्रणमा
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका ८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १ सय २७ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन्।
उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिका १० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट १ हजार १ सय २५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका(१३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेका छन्। उक्त रेष्टुरेन्टमा लागूऔषध सहित मानिस बसेका छन् भन्ने सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० पिस फेनारगन, ३० पिस डाइजेल्याव र ३० पिस नुफिन सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ४ सितापाईला भिमढुङ्गा बस्ने ३२ वर्षीय बिमल श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ थाना भर्याङ सिमलटार बस्ने २१ वर्षीय डेनिएल तामाङ रहेका छन्।
Facebook Comment