व्यग्य : दिनभरिको शिकार र कान्छाबाउको अनुहार

डिसी नेपाल
२३ साउन २०७८ १०:०९

आफूले सोचेजस्तो र खोजेजस्तो सम्मान नपाएपछि अनि अध्यक्षले सारै नै हेपेर धपाएपछि र उनलेपनि आफ्नो मन भित्रको खास कुरो लुकाएर चपाएपछि कोटेश्वरे बरिष्ठ कामरेडको स्थिति बिचित्रको अबस्थामा पुगेको देखिन्छ।

इतिहासमै आजसम्म नभएको र सबैले गफ गरेपनि कसैको क्षमतामा नगएको स्तरको बाम एकता भएको अनि घटिमापनि अर्को पचास वर्षसम्म कसैले चलाउन हल्लाउन ढलाउन गलाउन र हराउन नसक्ने शक्तिको निर्माण भएको हुनाले अब सबैले दायाँ बायाँ केही नसोची हाम्रो भक्तिमा लाग्नु बाहेक अर्को उपाय छैन भन्ने स्वघोषित महान नेतासमेत रहेका खुमलटारे कामरेडको उद्गारसहित एकता भएको दलमा कसले कसलाई कति सम्मान पुर्यायो भन्ने आम चासोको बिषय परेन।

चाहिने जति सम्मान नपुगेर आफनो अपमान भयो भन्दै ठाउँठाउँका सभाहरुमा भाषण गरेको सुन्दा उनले मागेको कुरा त खासै ठुलो होइन रहेछ भन्ने लागेपनि र त्यही जाबो एउटा सम्मान नपुगेर उनी अर्को गुटसित मिलेर भागेपनि मानिसहरुले कुरै बुझ्न सकेनन्।

महाधिवेशनको चुनावमा हारेको भएपनि दलको अध्यक्ष देउ, सरकार प्रधानको कुर्सीमा बस्न देउ, आफ्ना आसेपासे सबैलाई उप प्रधान र राम्रा मन्त्रालयका मन्त्री बनाइदेउ, खाने पाउने र राम्रो कमिशन आउने ठाउँहरुमा आफ्नालाई मात्रै नियुक्ती देउ, विधि बिधान ऐन नियम कानुन सबै बिर्सेर आफू र स्वघोषित महान नेताले जसोजसो भन्यो त्यसोत्यसो मात्रै गर, आफूले सरकार प्रधान र दलको अध्यक्षको हैसियतले पाएको कुनैपनि अधिकार हाम्रो मन्जुरी नपाइ प्रयोग नगर आदि आदि भनेको भए अर्घेलो गरेको र अन्याय तर्फ अघि सरेको देखिन्थ्यो। सम्मान पुगेन अपमान भयो भन्नपनि नपाउनु र यति मागेकै भरमा उठ्न नसक्ने गरि धपाउनु त राम्रो हुँदै होइन।

काम कुरो भनेको जस्तोतस्तो भएपनि स्वघोषित महान नेताको पगरी सस्तो हुँदै गएर हो कि किन हो थाहा भएन तर जहाँ गएर जोसित मिलेपनि अड्को थापेर आफै अग्रगामी फड्को मार्न खोज्दा राम्रोसित गोडा नटेकिएपछि अनेक तिकडम गरेर मिलाएको जोडालाई काम गर्न नदिएर घोडा चढ्न खोजेको सम्झेर सुरुबाटै दुरी राख्न थाल्ने हुनाले उनले चाल्ने हरेक कदमले आफैलाई रद्दीको टोकरीमा फाल्ने खालका देखिन्छन् भन्नेहरुको मुख थुन्न कसैले सकेको छैन।

अघिल्लो सरकारले नियुक्त गरेका सयौँ अरिंगालहरुलाई पल्टाएर ठेगान लगाइ सकेर आफ्नाहरुलाई त्यसमा सल्टाएर मिलाउने बेलासम्म केके भइसक्ने हो कि भन्ने अर्को चिन्ताले उनीहरुलाई झर्को लागिसकेको भएर नेतृत्ववालाहरुले पहिले जस्तो चर्को अभिव्यक्ति दिएको पनि सुनिन छोडेको छ रे।

आफूसित मिल्न आएमा दुबै जनाको बलले बालकोटे कामरेडलाई कप्लक्कै निल्न सकिने र त्यसपछि दुबैको लागि धेरै ठूलो उपलब्धि लिन सकिने लालच देखाएर भड्काउँदै अनि बालकोटेका हरेक काममा हलो अड्काउँदै र त्यसो गर्न सकेकोमा ताली पड्काउँदै यहाँसम्म आएपछि कोटेश्वरे कामरेड न दलमा न सरकारमा यता न उताको स्थितिमा परेका हुन् कि जस्तो पो छ।

अदालतको परमादेशले आफ्नै दलको सरकार ढलेपछि र बालकोटे कामरेड बालुवाटार छोडेर त्यहाँबाट चलेपछि एकैचोटी दुइटा नाउमा खुट्टा हालेर ठूलै भाग खाने दाउमा लागेका कोटेश्वरे कामरेडको कारणले सरकारले पूर्णता पाउन सकेन भन्ने हल्ला चलाएर गठबन्धनका अरुले आआफ्ना कमजोरी लुकाउने राम्रो बहाना पाएका छन् रे भनेर अड्कल गर्नेहरु पनि नभएका होइनन् तर उनीहरुको तर्कमा त्यति दम रहेको चाहिँ देखिन्न। संसारका कुनैपनि देश र नेताहरुले गर्न नसकेका कामहरु चुड्किको भरमा गर्छौँ भन्दै धेरै वर्ष अघिदेखि मुड्की उचालेर हिँडेका नेताहरुले एउटा जाबो काकताली सरकारलाई पूर्णता दिन सकेनन् भनेर कसैले पत्याएको छैन।

संबिधान, संसदीय गणित,ब्यबहारिक समाधान, सर्बदलीय परम्परा, बाधा अड्काउ फुकाउको ब्यबस्था र अन्य सबै तरिकाहरु बाहेकको आदेशबाट धेरै मेहनत नगरीकन अपत्यारिलो नतिजा अनुसार सजिलोसित सरकार प्रधान बनाइएको र माननीय सांसदहरुको जागिर जोगाउने अस्त्रको रुपमा सरल किसिमले बिश्वासको मत दिन मनाइएको देख्दा यो सरकारलाई अब कुनै समस्या आइलाग्ने नदेखिएकोले यसले जतासुकै जाइलाग्ने सुबिधा प्राप्त गर्यो भन्ने गठबन्धनको सोच रहेको थियो।

यसो हेर्दा सरकार प्रधानभन्दा मन्त्री बनाउन मुश्किल परेको र गठबन्धनमा भएका सबै माननीयहरुले जसरिपनि मन्त्री खाने इच्छा गरेको हुनाले यो अहिलेको सबैभन्दा पेचिलो मुद्दा बन्न पुगेको हो। सबै माननीयहरुले उपप्रधानसहितको मन्त्री बनेर जनताको सेवा नगरी नछोड्ने र यो उच्च बिचारलाई कुनै हालतमा नमोड्ने प्रतिबद्धता देखाएको हुनाले कसलाई सरकारमा पठाउँदा जनताको बढी से बढी सेवा हुनसक्ला भन्ने लागेर यो अवस्था आएको हो भन्ने जनताको ठम्याइ छ।

गठबन्धनका शिर्ष नेताहरुले यसमा कुनै किसिमको स्वार्थ राखेका छैनन् र उनीहरु त्यस्ता मान्छेपनि हैनन् भन्नेमा जनतालाई पुरै बिश्वास छ। आफूसित भएका सबै माननीयहरु एकसेएक क्षमतावान र जनसेवाको भावनाबाट प्रेरित भएर जतिसक्दो चाँडो सरकारमा गएर गतिरोधको घाँडो सुल्झाउने सुरसारमा लागेका हुनाले नेतृत्वलाई अप्ठ्यारो परेजस्तो देखिएको मात्रै हो।

यो धर्तीलाई कसरी राम्रो सेवा पुर्याउन सकिन्छ भनेर सबैलाई अर्ति दिँदै हिँड्ने शिर्ष नेताहरु आफैं राजनीतिको जर्ति अबस्थामा पुगिसकेका हुँदा माननीयहरुबाट मन्त्रीमा नयाँ भर्ति गर्न नसकेका हुन् भन्ने बिरोधीहरुको बर्बराहटमा कुनै सत्यता भएजस्तो देखिँदैन।

आफनो बेसुरका ठूलाठूला कुरा बक्ने बाहेक अरु केही गर्न सक्ने हुती नभएपछि यसो फाइदा उठाउन सकिन्छ कि जस्तो लाग्नासाथ बिचार सिद्धान्त भूत वर्तमानका गतिविधि आदि केही नहेरिकन लपक्क टाँसिएर निकै हितैषीको अभिनय गर्दै उसलाई थपक्क कुर्सीमा राख्न ज्यान फालेर मद्दत गर्ने र उसले अब चाहिँ मजाले खाइयो भन्ने सोचेर खुशीले अनुहार धपक्क बालेपछि उसकोे कुर्सीका खुट्टा काट्न बडेमानको करौँती लिएर खन्निइहाल्ने कहीँ कतै नदेखिने अचम्मको चरित्र बोकेका नेताहरु राजनीतिमा छउन्जेल अहिलेकाभन्दा गाइजात्रे मनोरन्जन हेरिराख्न पाइने हुनाले पनि जनता दंग छन्।

सरकार हाँक्ने आफ्नो औकात र क्षमता नभएपछि बैशाखीको रुपमा अर्काको सहारा लिने र कुर्सीमा बस्नेलाई कठपुतली बनाएर उसको नाममा आहारा जति आफूमात्रै हसुर्न खोजेपछि गठबन्धन वा अरु जेसुकै नाम दिएर काम चलाउन खोजेपनि कहिल्यै उँभो लाग्ने छाँटकाँट नभएकोले यो ढाँटको खेती सँधैको लागि पन्छाउने आँट कसैले गर्न सकेनन् भनेर दोष लगाउनेहरुको मुखमा बिर्को लगाउने कुरापनि आएन।

मन्त्रीपनि एकाघरका वा आफ्नै मुठ्ठीको माखालाई मात्रै बनाएर अरुलाई पाखा लगाउने गरेको हुनाले मन्त्री नहुनेलाई आम मान्छे लगायत नेता जनता कसैलेपनि आफनो नभन्ने र संसदमै पनि कसैले नगन्ने हुनाले त्यस्ताको बैँक खाता पनि नबढ्ने भएपछि जस्तो नाता लगाएर भएपनि ठुला नेताको छाता ओढेपछि मात्रै मौका पाइन्छ रे भन्ने हल्लामा खासै सत्यता होला भन्ने जनताले सोचेका छैनन्।

बालकोटे कामरेडलाई अध्यादेशले कुर्सीबाट खसाल्ने र बालुवाटारबाट बालकोटमा बसाल्ने अनि अहिलेका सरकार प्रधानलाई बालुवाटार पसाल्ने काम गरेपछिको बिश्वासको मत दिने कार्यक्रममा पक्षमा मत हाल्ने सबै माननीयहरुले पुण्य पाइन्छ भन्दापनि मन्त्री खाइन्छ भनेर नै मत दिएका होलान्।

यस्तै चाला हो भने संसदको बाँकी अवधि भित्र मन्त्री हुने कुनै सम्भावना नभएको बेलामा बिश्वासको मत द्वारा मन्त्री खाने बाटो खुल्छ भने को नैतिकताको पुच्छर समातेर हावामा डुल्छ भन्ने त प्रष्टै भइहाल्यो। बालकोटवाला दलकै बिभिषण समूहका सबैले मन्त्री पाउनै पर्यो।

बालकोटेका अति विश्वासिला मन्त्रीसमेत रहेर खाइखेली गरेका र उनको नाम भजाएर ठूलो आर्थिक लाभ लिइ सांसद अपहरणसम्म गरेर सेवा पुर्याएर मेवा खाइरहेका पटके कामरेडहरुले यता विश्वासको मत हालेपछि रोजेको मन्त्रालय नपाए खोजेको बिषय पूरा हुँदै भएन।

खाओवादीका त झन् मन्त्री खानकै लागि जे गर्नपनि तयार भएको हल्ला सुनिएको छ। एकजना वरिष्ठ र अध्यक्षका विश्वासिला कामरेडले त मन्त्री नदिए आत्महत्या गर्ने भनेर बैठकमै अभिब्यक्ति दिए रे भन्ने गाइँगुइँ छ।

मागेजति नगद बुझाएर मनोनित वा समानुपातिकमा छिरेका र ब्यक्तिगत फाइदाको लागि सांसदको लोगो भिरेका माननीयहरुले पनि एउटा मन्त्रीपनि नभइकन लगानी डुबाउने कुरो आएन। सरकार प्रधानको दलका माननीयहरुले पनि उनको मुख हेरेर भन्दापनि मन्त्रीको कुर्सी हेरेर मत दिएको बुझ्न टाढा गइराख्न पर्दैन होला। बाहिर बसेर पार्टीका अध्यक्ष सभापति वरिष्ठ नेता आदिलाई सबै किसिमको सेवाद्वारा खुसी पारिरहेका र त्यसैको आड्मा तर् मारिरहेका महानुभावहरुले पनि यो मौका सकेसम्म चुकाउन हुँदै भएन।

श्रीमती र हार्नै नसक्ने नजिकका नातेदारहरुको समेत बिचार गर्ने हो भने टार्नै नसकिने उम्मेदवारहरुको संख्या अझ बढ्न सक्छ। श्राद्ध गर्न त सजिलो सिदा पुर्याउन गाह्रो भनेजस्तो जसोतसो कुर्सी त समातियो अब त्यसमा बस्ने र सुशासनले सबैतिर कस्ने काम मुखले बोलेजस्तो सजिलो नहुँदो रहेछ भनेको पक्का हो कि क्या हो?

अर्को चोटी मन्त्री होइन माननीय हुन पनि के कसो हो भन्ने भएपछि सरकार प्रधानको पक्षमा बिश्वासको मत दिने सबै माननीयहरुले एउटा जाबो मन्त्री पनि हुन नपाउने हो भने त्यो मतको के मतलब? सरकार प्रधानलाई बधाइ दिँदा पाएको धन्यबादबाट कुनै लाभ त हुने होइन।त्यसको बदलामा मन्त्रीको कुर्सीमा बसेर चारैतिरबाट कुम्ल्याउन नपाइकन त के स्वाद आयो र?

बिश्वासको मत दिने माननीयहरुलाई मन्त्री मण्डल कहिले पूरा होला र त्यसमा आफनो नाम पर्ला कि नपर्ला भन्ने भन्दा अर्को चिन्ता नभएको बेलामा सरकार भने पुरानो सरकारले गरेका निर्णयहरु उल्टाउने र दलको धाकधम्की दिएर खाइरहेकाहरुलाई त्यहाँबाट गुल्टाउने काममा ब्यस्त भएको देखेर मन्त्रीका आकाँक्षीहरु चिन्तित भएका छन् रे।

अघिल्लो सरकारले नियुक्त गरेका सयौँ अरिंगालहरुलाई पल्टाएर ठेगान लगाइ सकेर आफ्नाहरुलाई त्यसमा सल्टाएर मिलाउने बेलासम्म केके भइसक्ने हो कि भन्ने अर्को चिन्ताले उनीहरुलाई झर्को लागिसकेको भएर नेतृत्ववालाहरुले पहिले जस्तो चर्को अभिव्यक्ति दिएको पनि सुनिन छोडेको छ रे।

जसलाई पनि उचालेर सरकार प्रधान भइदिन तताउने र केही दिनमै आफनो दलाली भाग स्वरुप ठुलो हिस्सा मागेर सताउने अनि उनलाई यहाँसम्म मैले नै पुर्याएको हो भनेर सबैलाई बताउने स्वघोषित महान नेतालाई मन्त्रीको प्रस्तावित नामहरु नआएमा आफूले राजीनामा दिन सक्ने बताएर सरकार प्रधानले तर्साए रे भनेको सुन्दा उहाँहरुको क्षमतामा कसैले पनि प्रश्न उठाइराख्ने कष्ट गरेर समय नष्ट गर्नै परेन।

आफ्नो पालामा भएका खास नियुक्तिहरु उल्टाउँदै गयो भने आगो बाल्ने र जुनसुकै कदम चाल्ने धम्कि दिँदै हिँडेका अरिँगालहरुलाई सरकार प्रधानको कुर्सी फुत्किँदा किन आगो नबालेको भनेर कुनै कुनै उपबुज्रुकहरुले खिसी ट्यूरी गरे रे भनेको सुन्दा जनतालाई चाहिँ राम्रो लागेको छैन।

बालकोटे कामरेडलाई नाटकीय साथ दिएर दुइ हप्ते मन्त्री खाने मधसवादी दलका सांसदहरुले निर्वाचन आयोग र अदालत दुबै ठाउँबाट ठक्कर खाएर अर्को पक्षलाई टक्कर दिने कुनै उपाय नभएपछि बाठो हुँदा आफ्नै चक्करमा परेको देखेर उनीहरुबाट ठुलो गफको पुलिन्दा पाइरहेका मधेशका जनता दुखी छन् भन्ने सुनिन्छ।

सत्ता गठबन्धनको मधेसवादी दलमा पनि भएजति सबैजना मन्त्रीको चरम आकाँक्षी भएकोले माग अनुसारको भाग पुर्याउन ठूलै चमत्कार नगरेमा को कता लाग्ने हुन् थाहा छैन भनेर नेतृत्ववालाहरु डराइरहेका हुनाले के गरौँ कसो गरौँ भनेर आफैंमा हराइरहेका छन् रे भन्ने बजारे हल्लामा कसैको बिश्वास छैन्।

आफूखुसी फ्लोर क्रस गरेर दलको ह्वीप उल्लंघन गर्दै जताबाट राम्रो नगद र पद हात पर्छ त्यतै सल्किने अनि यसैमा बानी लागेर पल्किने गर्दै कसैलाई मान्छे नगनेर टेरपुच्छर नलगाइ जता मन लाग्यो उतै ढल्किने गर्दै आएका केहि माननीयहरुको पदपनि अदालतले खुस्काइ दिएकोमा जनता त्यति खुसी छैनन् भनेर यिनै माननीयहरुले हल्ला चलाएको सुनियो।

वरिष्ठहरु भन्दा अलिकति मात्रै तलका र कनिष्टहरु भन्दा अलिकति मात्रै माथिका भएपनि सबैलाई थाम्ने आफैं हूँ भन्दै कड्किएर भाषणमा मुड्कि उज्याउँदै काम्ने एकथरि चाहिँ आफनो समुहको नेतृत्व गर्दै सरकारमा जानैपर्ने र गतिलो मन्त्रालय सहित उपप्रधान मन्त्रीको पद खानैपर्ने अनि आफूलाई कुनै हालतमा त्यहाँसम्म लानैपर्ने भनेर अड्को थापेका थाप्यै छन् रे भनेको सुन्दा नेतृत्वमा बसेका र सबैलाई तह लगाएर अझ धेरै बर्षसम्म खाइन्छ भनेर कम्मर कसेका वरिष्ठहरु अलमलमा पर्दै गएका छन् रे भन्ने हल्ला सबैतिर चलेको सुनिन्छ।

यसो हेर्दा अन्तैको चाबीबाट संचालित भएपनि आफूलाई अत्यन्त सक्षम नेतृत्व दावी गर्ने नेताहरुलाई अहिले अचानक आइलागेको कुर्सी नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार भनेजस्तो पो भएको हो कि भन्ने उप बुज्रुकहरुको कुनै कमि देखिएन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *