महाधिवेशनका लागि मंसिरको साइत हेर्दै कांग्रेस !

डिसी नेपाल
२४ साउन २०७८ ६:२१

काठमाडौं। पूर्वनिर्धारित समय भदौ १६-१९ सम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारीमा नेताहरू जुटेका छन्। क्रियाशील सदस्य विवाद अझै समाधान गर्न नसकेपछि महाधिवेशन प्रभावित हुने भएको हो।

साउन १२ गतेबाट वडा तहको अधिवेशन सुरु गरी भदौ १६ मा पार्टीको १४औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका सार्वजनिक भएको थियो। तर, क्रियाशील विवादलेल वडा तहको अधिवेशन रोकिएको छ । महाधिवेशन तोकिएको मिति नजिक आउँनै लाग्दा नेताहरू आगामी मंसिरसम्म महाधिवेशन सार्ने तयारीमा जुटेका हुन्।

२०७२ फागुन २३ गते १३औं महाधिवेशन सम्पन्न गरेको कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ २३ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । पार्टीको नियमित महाधिवेशन गर्ने समय चार वर्षमा महाधिवेशन गर्न नसकेको कांग्रेसले संवैधानिक व्यवस्था अनुसार एक वर्षमो थप समय पाएको थियो ।

कोरोना महामारीले थप भएको एक वर्षमा पनि महाधिवेशन हुन सकेको थिएन । पछि संविधानलाई नै टेकेर कांग्रेसले ६ महिनाको समय पाएको थियो। अहिले थपिएको ६ महिनाको समय पनि सकिन केही दिनमात्रै बाँकी छ ।

नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको पाँच वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

नयाँ कार्यकतालिकामा सहमति जुटाएर महाधिवेशन

तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुने लक्षण नदेखिए पनि सभापति शेरबहादुर देउवा आगामी मंसिरसम्म महाधिवेशन सार्न सकिने विषयमा छलफलमा जुट्नुभएको बताइन्छ । देउवाले आफ्ना विश्वासपत्रहरूलाई महाधिवेशन मंसिरसम्म जाँदा आइपर्ने कानुनी अड्चन र आयोगले गर्नसक्ने सम्भावित निर्णयको अध्ययन गर्न खाटाएका छन् ।

साउन १५ गतेमात्रै देउवाले दुईजना नेताहरूलाई निर्वाचन आयोग पठाएको स्रोत बताउँछ । आयोगका पदाधिकारीहरूले ग्रीन सिग्नल दिँदै कानुनी प्रक्रियाका बारेमा उनीहरूलाई ब्रिफिङ गरेकाे देउवा निकट नेताहरू बताउँछन्।

अहिले नेताहरू कानुन व्यवसायीसँग सोही विषयमा छलफलमा जुटेका छन् । विशेषगरी लक डाउनको समयलाई सर्वोच्च अदालतले शून्य समय मानेकाले सोही आधारलाई टेकेर महाधिवेशन सार्न मिल्ने वा नमिल्ने भन्ने सन्भर्दमा कानुन व्यवसायीहरूसँग छलफल भइरहेको हो।

कांग्रेसले २८ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा पनि सोही विषयमा छलफल गर्ने तयारी भएको छ । कांग्रेसले अब महाधिवेशनको नयाँ कार्यकतालिकामा सहमति जुटाएर महाधिवेशन गर्ने बुझिएको छ ।

पार्टीका महामन्त्री शशांक कोइराला मंसिरसम्म महाधिवेशन सार्न सकिने पक्षमा देखिए पनि संस्थापन इतर पक्षका अरू नेताहरू भने विशेष महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन्। क्रियाशील विवाद र अझै पार्टी समायोजनका कामहरू बाँकी देखिएकाले त्यसलाई टुंगामा पु¥याएरमात्रै महाधिवेशन गर्ने पक्षमा कोइराला छन्।

संस्थापन इतर अन्य नेताहरूले पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने काम नगर्न सभापति देउवालाई चेतावनी दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने काम नगर्न चेतावनी दिनुहुँदै सहज अवस्थामा महाधिवेशन कसरी सम्पन्न गर्न सकिन्छ, सबै विकल्पहरूमा आफूहरू छलफल गर्न तयार रहेको बताएका छन्। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *