श्रमिकले अब म्यानपावरमार्फतै कोरोनाविरुद्ध खोपको प्रमाणपत्र पाउने
काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरुले अबदेखि क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र म्यानपावर कम्पनीमार्फत् नै पाउने भएका छन् । शुक्रबार वैदेशिक रोजगार विभागले सो को बारे सूचनामार्फत जानकारी गराएको हो ।
कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएर संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेहरुले सम्बन्धित इजाजतपत्रवाला म्यानपावरबाटै अनलाइन फारम भरी क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क लिन पाउने व्यवस्था गराउन विभागले अनुरोध गरेको छ । साथै, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको कोभिड–१९ खोपको विवरण प्रस्तुत लिङ्क https://vaccine.mohp.gov.np मा भरी सोही लिङ्कमार्फत क्यूआर कोडसहित प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिएकाले सो अनुसार गर्न गराउन हुन सबै इजजातपत्रवालालाई सूचित गरेको छ ।
त्यसैगरी, व्यक्तिगत श्रम स्विकृति लिनेले उक्त वेभसाइडमा गएर आफैँले भर्न सक्ने छन् । यदि कठिनाई भएमा नजिकमा रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिन सक्ने छन् ।
त्यस्तै, आफ्नो आवेदनको प्रमाणपत्र हेर्न तथा प्रमाणपत्र डाउनलोड गर्न https://vaccine.mohp.gov.np/search मा गएर हेर्न सकिन्छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच भएको छलफलमा उक्त खोप प्रमाणपत्र स्वास्थ्य सेवा विभागले म्यानपावर कम्पनीको मेलमा पठाउने सम्झौता भएको हो ।
यसअघि वैदेशिक रोजगारीमा जाने युवाहरु अव्यवस्थित र झन्झटिलो प्रणालीका कारण खोप प्रमाणपत्र लिन घण्टौँ लाइन कुर्नुपर्ने बाध्यता थियो । जसले गर्दा कतिपयको विदेश जाने टिकटसमेत क्यान्सिल गर्नुपर्ने वाध्यताले आर्थिक भार थपिने गरेको थियो ।
Facebook Comment