सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान
फुङ्लिङ। ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ। गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१।७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो।
जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए। मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उहाँले जानकारी दिए। मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरधुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको बताइएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको प्राधिकरणले जनाएको छ।
पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजङ्गा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको प्राधिकरणको तथ्याङ्कले जनाएको छ। आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी सङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ।
फक्ताङलुङ गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन कुनै पुगेको छैन। चालु आवमा फक्ताङलुङ गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जिल्लामा आठ विद्युत् सहकारी दर्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकामा दुई सहरकारीमार्फत गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम भइरहेको प्राधिकरणका सूचना अधिकारी देवनाध मण्डलले बताए।
मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजङ्गा गाउँपालिका, सिदिङवा गाउँपालिकामा एक–एक र पाथीभरा याङवरक गाउँपालिकामा दुई गरी आठ विद्युत् सहकारीमार्फत राष्ट्रिय प्रसारण लाइन दुर्गम बस्तीसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ। रासस
Facebook Comment