नाच्न नजान्ने आँगन टेढो
तीन वर्ष अघि भएको आम निर्वाचनमा देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भन्ने नाम अनुसारको काम गरेर देखाउनु भन्दा दामले भरिएको खाम तिरमात्रै बढी ध्यान दिने बानीको परिणाम स्वरुप नराम्रोसित भएको हार पछि सरकारमा जाने सोच्नु मुर्खता नै हो।
यसलाई हरुवा टोलीले राम्रैसित मनन गरेर बसेको र अर्को चुनावमा आफ्नो राम्रो कामलेभन्दापनि चुनाव जितेर सरकारमा गएको पार्टीको गल्ती कमजोरीबाट चुनाव जित्न कम्मर कसेको भन्ने सबैलाई लागेकोमा कसैले कल्पना नगरेको परिस्थितीले गर्दा सरकारमा जानै पर्ने कारणले फसेको भन्नेहरुलाई मुर्ख साबित गर्न ढिला भइसकेको हो कि भन्नेहरु बजार भरी नभएका होइनन्।
चुनाव हार्नुमा जसले जेसुकै कारणहरु अगाडि सारेपनि र हरुवाहरुले जे जस्ता तर्कहरु दिएर टारेपनि जनताले भोट नदिएको कारणले हारेको चाहिँ पक्का हो। पहिलेपनि चार चार चाीिट सरकार हाँकिसकेको अनुभव भएपनि काम भनेको त्यस्तै उस्तै हो सानातिना भएपनि गफसम्म गरेर देखाएको र असक्षम भनेर पटक पटक इतिहासमा नाम लेखाएको ब्यक्तिले जतिसुकै बल गरेपनि सरकार प्रधान हुने सपना देख्ने कुरै आएन।
अरुका गफ जतिसुकै भयंकर सुनिएपनि बालकोटे कामरेडका अगाडि फिका लाग्ने हुनाले सबै गफाडीहरुले एक ढिका भएर जानेसम्मको गफ दिँदापनि उनलाई भेट्न नसक्ने भएर अरुका गफलाई सानातिनाको कोटीमा राख्न पर्ने र यसलाई सबैले पत्यार गर्ने बाध्यता नै छ।
आफ्नै क्षमता र काम गराइले चुनाव हारेर र सरकार प्रधानको कुर्सीलाई माया मारेर दलको किचलोमै रंगभंगिएर महाधिबेशन समेतलाई भयँकर ठुलो चटारो सम्झेर बसेको बेलामा अरुको उक्साहटमा हानेको झटारो काकताली परेर अपत्यारिलो अपुताली आइलागेको हुनाले बिना योजना, बिना तयारी, बिना कुनै जोश जाँगर सरकार प्रधानको कुर्सीमा जाइलागेको अबस्थामा त्यहाँबाट जनताले केही पाउने आशा गरेजस्तो देखिन्न।
जो भएपनि एकजना त्यो कुर्सीमा बस्न पर्ने हो बस्यो केही फरक परेन र त्यसले कसैलाई अचम्मपनि गरेन। यस अघिकाले धेरै रमाइलो पारामा ठूला ठुला सुख र समृद्धिका गफ छोडेको सम्झनेहरु अहिलेपनि रोमान्चित भएर क्षणिक मनोरन्जनको लागि त्यस्तै गफको अपेक्षा गर्नेहरु धेरै भेटिए तर त्यस्ता रमाइला गफहरु पाँच बर्षे कार्यकाल नसकिँदै बिचैमा रेटिए।
हँस्यौली ठट्यौली र उखान टुक्कासहितका समृद्धीका गफ सुन्ने बानी परेका जनताले अहिलेकाबाट पनि त्यस्तै खोजेका र अदालतले रोजेका सरकार प्रधानबाट पनि त्यस्तै आशा गरेका हुन सक्छन्। उनको त सरकार प्रधान भएदेखि स्वर सुनिएकै छैन। सुनिएको भएपनि बुझिएको छैन।
पहिलेकालाई भन्दा अहिलेकालाई बोल्न र मनका कुरा खोल्न धेरै गाह्रो छ रे भन्ने हल्ला सुनिन्छ। पहिलेकालाई जे बोलेपनि अँकुशे लगाउने र यस्तो बोल्न पाइँदैन भनेर भगाउने कोही थिएन। अहिलेकालाई त पाइलै पिच्छे गठबन्धनको लगामलाई बिचार गरेर जिब्रो र बोली ठिक ठाउँमा राख्दै तौलेर बोल्दै र गठबन्धनका शिर्ष नेताहरुको इच्छा पूरा हुने गरी मुख खोल्दै हिँड्न नजानेमा वा पहिलेकाले जसरी नमानेमा वा आबश्यक नठानेमा जसरी थाहै नपाइ कुर्सीमा बसियो त्यसैगरि पत्तै नपाइ कुर्सीबाट खसियो भन्ने स्थिती नआउला भन्न सकिन्न।
पहिलेकाले जस्तो झ्याप्प काम गर्न खोज्दा च्याप्प समातेर डाँडो कटाउनको लागि स्वघोषित महान नेता लगायतका गठबन्धनका शिर्षहरु चौबिसै घण्टा तम्तयार भएर नयाँनयाँ टण्टा निकाल्दै प्रत्येक घण्टा कटाउन पनि मुश्किल पारिदिन र थाहै नपाइ कुर्सीबाट झारिदिन अनि अर्को अति योग्य ब्यक्तिलाई अगाडि सारिदिन बेरै मान्दैनन् र यस्तै तिकडम बाहेक अरु कुनै काम जान्दैनन्।
पहिलेकाले जस्तो झ्याप्प काम गर्न खोज्दा च्याप्प समातेर डाँडो कटाउनको लागि स्वघोषित महान नेता लगायतका गठबन्धनका शिर्षहरु चौबिसै घण्टा तम्तयार भएर नयाँनयाँ टण्टा निकाल्दै प्रत्येक घण्टा कटाउन पनि मुश्किल पारिदिन र थाहै नपाइ कुर्सीबाट झारिदिन अनि अर्को अति योग्य ब्यक्तिलाई अगाडि सारिदिन बेरै मान्दैनन् र यस्तै तिकडम बाहेक अरु कुनै काम जान्दैनन्।
सँधैभरि यस्तो अन्योलको अबस्था ल्याउन र यसैको आडमा सबैतिरबाट नगद भ्याउन पल्केका अनि बिदेशीले जता भन्यो उतै ढल्केका नेतृत्वले हाम्रो नाक ठाडो छ भनेर जति धाक लगाएपनि उताको सिदा बिना राजनीतिकोे छाक टर्दैन भन्ने सोच नत्यागेसम्म स्थिति यस्तै भइराख्छ जस्तो छ भनेर सोच्नेहरुलाई शिर्ष नेताहरुले महामुर्खको स्तरमा राख्नु मनासिबै हो।
वर्षायामको महाकालीको भेलमाथि तुइन तरिरहेको मान्छेलाई देख्दादेख्दै तुइन फुस्काउने र कुनै बिराम नभएको सोझो सिधा मान्छेको प्राण खुस्काउने छिमेकीको घोर बिरोध गरेको देखाउन अनि फलानो दलले पनि बिरोध गर्यो भन्ने समाचारमा लेखाउन भातृ सगठनका केही युवाहरुलाई यसो एकदुइ घण्टा ब्यानरसहित सडकमा उफारेपछि सत्तापक्ष, प्रतिपक्ष, बिपक्ष आदि सबैको जिम्मेवारी पूरा भइहाल्यो।
यसबारेमा दक्षिणसँग कूटनैतिक बार्ता वा अन्य कदम चालेर पीडितलाई न्याय दिनुभन्दा सबैको आँखामा छारो हालेर जाँचबुझको नाटक मन्चन गर्दैमा मृतकको तेह्र दिनको काम सकियो यसै गरीगरी बर्खान्त पनि सकिन्छ र हामिले सकेसम्मको कारवाही गरेर देखायौँ भन्दै माथिल्लो तहबाट बकिन्छ अनि कुरै सकियो भनेर हल्ला चलाउनेहरुको कुरा सुनेर साध्यपनि हुँदैन।
उताबाट हाकाहाकी सीमा मिचेको, सबै दलका मैँ हुँ भन्दै चम्कने शिर्ष तहका नेताहरुलाई उताको बिरोधमा बोल्नै नसक्ने गरी थिचेको,नाकाबन्दी लगायतका थिचोमिचोमा नाकाबन्दी नै हो भन्ने बाक्य निकाल्न नसक्ने गरी किचेको र ठुलो आदर्श र देशभक्तिको बखान गरेर नथाक्ने नेताहरुले दिल्लीबाट सिधै र यहाँको दूताबासबाट समेत चाहेजति नगद घिचेको बजारे हल्लाहरु गलत भएपनि यस्तै बेलामा राम्ररी बोल्न पर्ने कुराहरु नबोलेको देख्दा चाहिँ सही नै हुन् कि भनेजस्तो लाग्नुमा जनताको के गल्ती हुन सक्ला र?
यहाँका ठूला हुँ भन्ने नेताहरुलाई मदारीले बाँदर नचाए जसरी नचाएर आफ्नो इशारामा खेलाउने उताका माइबापहरुले ‘ज्याादा बकबक मत करो’ भनेर यसो औँला ठड्याइदिएपछि सबै जोश सेलाउने र पीडितकै गल्ति केलाउने बाटोतिर लाग्ने परम्परा यसपाली दोहिरिँदैन होला भन्ने जनताको चाहना भएकोले जनभावनाको कदर र सुनुवाइ हुन सके त राम्रै हो।
मिलाउनै नसकिने अबस्थामा पुग्न लागेको सबै दलहरुको आन्तरिक खिचलो र मन्त्री खान खोज्नेहरुले सिर्जना गरेको किचलोको अगाडि यो अलि महत्वहीन समस्या भएर नै अलि प्राथमिकतामा नपरेको होला भनेर नानीदेखि चित्त बुझाउने बानी परेका जनतालाई समाचार अलि पुरानो भएपछि फासफुस हुन्छ भन्ने थाहा भएकोले जिम्मेवार कसैले पनि धेरै चिन्ता लिने नगरेको ठिकै हो।
परमादेशबाट बिघटित सँसद पुनस्र्थापित हुनुको साथै नयाँ सरकार बनेपछि संसदमा सत्तापक्ष र प्रतिपक्षको एकअर्का माथि थोपरिएको फोहोरी दोषारोपण सहितको रमाइलो दोहोरी सुन्न पाउँदा भोट दिएर त्यहाँ पुर्याउने जनता चाहिँ त्यसैत्यसै दंग परेका छन्।
मुखले जनता जनता भनेपनि र भोट हाल्ने बेलामा निकै महत्वसाथ गनेपनि नेताहरुको ध्यान भने आफ्नो गक्ष अनुसारको कुर्सीमा मात्रै केन्द्रित रहेछ भन्ने पनि यो एकदुइ वर्षको गतिबिधिहरुले अझ प्रष्ट भयो भनेर सोच्ने उपबुज्रुकहरुलाई नेताहरुले आफ्नो असली रुप देखाउन अझै बाँकी हुन सक्छ भनेजस्तो लागेको पनि होला।
तर यस्तो सोचलाई असल जनताले भने सही मान्न र ठिक ठान्न अनि यो बाहेक अझ धेरै हुनपनि सक्छ भनेर जान्न आबश्यक छैन। डुँगा चढेर नदी तरेर पारी पुगि सकेपछि आपूmलाई नदी तारेको डुँगा भन्दै माया गरेर डुँगालाई काँधमा बोकेर अर्को नदीको साँधमा पुग्ने गरी हिँड्न आबश्यक नभए जस्तै हो नि नेताहरुलाई जनताको आवश्यकता पनि। कुर्सीमा पुग्नको लागि जनताको भोट चाहिने हो।
कुर्सीमा पुगेपछि जनताको बोझ उठाउने सोच राख्यो भने कुर्सीको बोझ कसले उठाइदिने? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। नदी तरेपछि जति राम्रो भएपनि डुँगा छाडेर हिँड्नै पर्ने बाध्यता भएजस्तै हो नेता र जनताको सम्बन्ध भन्ने सबैले बुझिदियो भने यसले समस्या पर्ने भन्दापनि सजिलै टर्ने हुनाले सबैको मुश्किल हर्ने निश्चित छ।
पहिले पनि यहि हुँदै आएको,अहिलेकाले पनि यहि अनुभव पाएको र भबिष्यमा पनि यही तरिकाले नेताहरु जनतासम्म धाएको देख्न पाइने पक्का छ। यति कुरा राम्ररी मनन गर्ने हो भने नेता जनता कसैले पनि अनावश्यक दुख खेप्न र एकअर्कालाई हेप्न पर्दै पर्दैन अनि कसैलेपनि अनाबश्यक टण्टाको सामना गर्दै गर्दैन।
दम्भ अहंकार घमण्ड सर्बसत्ताबाद निरंकुशता आदिको सिङ एकैचोटि फुस्केपनि बालकोटे कामरेडले जुध्न र सिँगौरी खेल्न अनि गाली डायलग उखान टुक्का कबिता गितका प्यारोडी आदि समेत प्रयोग गरेर साबिक अनुसार अरुलाई पेल्न नछोडेको हुनाले बिरोधीहरुले यिनलाई झेल्न अझैपनि गाह्राे हुन्छ भन्नेहरु पनि नभएका होइनन्।
बालकोटे कामरेडको नेतृत्वमा रहेको केन्द्र सरकार ढाल्ने र उनलाई कुर्सीबाट फाल्ने आप्mनै दलका धमिरा कामरेडहरुकै राम्रो सहयोगको कारणले उनकै दलको नेतृत्वमा रहेको गण्डकी र लुम्बिनी प्रदेशको अति लोकप्रिय भनेर प्रचारित सरकारहरु पनि ढले अनि भविष्यमा फेरि सत्तामा पुग्न नसक्ने गरि शानदार तरिकाले चले।
नम्बर एक र बागमती प्रदेशमा पनि यसैगरि सरकार गिराउने र परमादेशवालाहरुलाई त्यसमा छिराउने अनि हालकोलाई असक्षमको पगरी भिराउने तर्फ जोडदार काम भइरहेको छ रे भन्ने खबर दिनदिनै सुन्न पाउँदा जनता दँग छन्।
यसैगरी खुट्टा तानातान र एकअर्कामा शब्दबाँण हानाहान गरेर अर्को चुनाव आउन बाँकी अबधि भरी जनतालाई मनोरन्जन दिइराख्ने नेता, दल र सरकार पाएपछि जनतालाई पनि अरु के नै चाहियो र?
केन्द्र वा प्रदेश जहाँ सरकार बदली भएपनि त्यसको कारण उही भागबण्डा गर्ने र मिलीजुली जनताको नाममा आफ्नो लागि सुनको अण्डा भेट्टाउन मात्रै चर्ने प्रबृत्ती सबैमा बराबर रहेको देखेर नेताहरु बारे जनताको एउटै धारणा रहन सक्नु अनि यो सबै काम जनताकै लागि हो भनेर नेताहरुले बक्नु भनेको नियमित कर्मकाण्ड बाहेक केही होइन भन्ने जनताले बुझिसक्दा पनि नेताहरुले नबुझे जस्तो गर्नु नेताहरुको महानता नै हो।
दम्भ अहंकार घमण्ड सर्बसत्ताबाद निरंकुशता आदिको सिङ एकैचोटि फुस्केपनि बालकोटे कामरेडले जुध्न र सिँगौरी खेल्न अनि गाली डायलग उखान टुक्का कबिता गितका प्यारोडी आदि समेत प्रयोग गरेर साबिक अनुसार अरुलाई पेल्न नछोडेको हुनाले बिरोधीहरुले यिनलाई झेल्न अझैपनि गाह्राे हुन्छ भन्नेहरु पनि नभएका होइनन्।
परमादेशवाला गठबन्धनका नेताहरुलाई यिनले सँसदको रोष्ट्रमबाट गरेको कटाक्ष निकै चर्चित रहेको र अरु नेताहरुको क्षमता नभएकोले घोसेमुन्टो लगाएर हाँसेजस्तो गरि सबै सहेको हो भनेर यिनका अरिंगालहरुले ठाउँठाउँमा कहेको सुन्दा जनता मक्ख छन्।
पार्टी छोडेर जानपनि नसक्ने, गठबन्धन भित्र छिरेर मन्त्रि पद खानपनि नसक्ने र घुर्किभन्दापनि आँट गरेर नयाँ पार्टी बनाउने गरी नेताहरुलाई लानपनि नसक्ने गजबको अक्करमा फसेर आफ्नै गोल चक्करमा घुमिरहेका बिभिषण मार्का सहकर्मी कामरेडहरुको लागि सरकार प्रधानसित मन्त्री पद मागी दिँदाको प्रस्तुतीको चारैतिर प्रसंशा भएको यिनको ठहरलाई गलत भन्ने कसैको रहर छैन।
शत्रु पक्षसित मिलेर बालकोटेलाई अप्ठ्यारोमा पार्ने सगोत्री कामरेडहरुको जत्थाले भित्री मनमा जसरी भएपनि मन्त्रि खाने प्रबल इच्छा हुँदाहुँदै पनि अलिअलि बाँकी छ कि भन्ने अबस्थामा पुगेको लाज गाल जोगाउन र जुन मन्त्रालयको भएपनि कुर्सी सुख भोगाउन आतुरी भएको भएपनि निर्णय गर्न नसक्दा अहिलेका सरकार प्रधानलाई पनि घाँडो भइसकेकोले कुन दशा लागेर यो भुत्ते काँडो भिरिएछ भन्दै नजिककाहरुसित गुनासो गर्न थालेका अनि आफूसित हुँदै नभएको बुद्धि खियाउनुभन्दा छिटै ज्योतिषकहाँ जाने बिचार पालेका र त्यहि अनुसारको कदम चालेका छन् रे भन्ने गाइँगुइँ पनि सुनिन्छ।
स्वघोषित महान नेताले आगो हुँ नहेप्नु भनेर दिएको धम्कीलाई बालकोटे कामरेडको दुइचार बाल्टी पानी खन्याएर त्यस्ता डँडेलोलाई सजिलैसित सेलाउने, क्यान्टोनमेन्टको भ्रष्टाचारलाई राम्रोसित केलाउने र यस्ता धम्किवालालाई सजिलैसित औँलामा खेलाउने डायलगसहितको जवाफ सुन्दा भुँग्रो निभेपनि धुँवाको मुस्लो चाहिँ बाँकी नै रहेछ भन्ने जनतालाई लागेको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीयहरुले पनि आफ्ना अध्यक्षहरुको राम्रो ताबेदारी गरेर भबिष्यमा यो भन्दापनि राम्रो ठाउँको दाबेदारी निश्चित गर्न तँछाड मछाड गरेको सुन्दर दृश्यहरु हेर्न पाउँदा जनता खुसी छन्।
देशमा जुनसुकै ब्यबस्था र अवस्था आएपनि सत्ताको नजिक पुगेर पँच, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, राजा,गणतन्त्रवादी सबैको पालामा आफ्नो कला गला र अन्य क्षमता देखाएर आफ्नो राम्रो ब्यबस्था मिलाउन सर्बकाल सफल बालकोटे कामरेडको एकाथरी माननीयले राष्ट्रिय सभामा उनको वकालत गरेर अहिले मनोनित मात्रै भएपनि भबिष्यमा निर्वाचित भएरै देखाउने लक्ष्य राखेको राम्रो हो।
त्यसैगरी स्वघोषित महान नेताको गुनगान गाएर र राम्रो आर्शिवाद पाएर संविधान सभा सदस्य हुँदै राष्ट्रिय सभामा भएका थाहावाला माननियले स्वघोषित महान नेतालाई देवता वा भगवानकै रुपमा सबैले बुझ्न र उनले जस्तै सबैले पुज्न पर्ने जोडदार तर्क राख्दै कानुनको विद्यार्थी हुनुको नाताले सबैलाई हँसाउने प्रयास गर्नु नराम्रो काम हुँदै होइन।
नियम, कानुन, विधि, पद्धति, ऐन, सिद्धान्त, नैतिकता, भ्रष्टाचार निषेध, आदर्श, स्वच्छ आचरण, सरल जीवन, स्वार्थत्याग, जनहित कार्य, मेहनत, इमानदारिता, संविधानको पालना आदि जस्ता शब्दहरु जति सबै अरुको लागि मात्रै बनेको र देखावटी रुपमामात्रै सबैले हाम्रो भनेको हो कि जस्तो देखिन्छ भनेर शंका गर्ने मुर्खहरुलाई त के भन्न सकिन्छ र?
परमादेशबाट सरकारमा पुगेका गठबन्धनवाला सत्तापक्ष, छँदाखाँदाको दुई तिहाइ नजिकको बहुमत हुँदापनि सत्ता गुमाएको प्रतिपक्ष, आफ्नो दलको खाँटी घिउ नपचेर अर्को पक्षसित घाँटी जोड्न पुगेको कोटेश्वरे कामरेडको टोली, मधेशको नाममा राजनीति गर्ने र मन्त्रि खान पाए सबैथोक बिर्सिँदै आँखा चिम्लेर नोटमा चर्ने कुनैपनि बेला र अबस्थामा टुटफुट हुन बेरै नमान्ने मधेशवादी घटकहरु, बेलाबेलामा जंगलको धाक लगाएर नाक ठूलो पार्दै र नगद भेटेपछि सिद्धान्तको माया मार्दै सम्झौता गर्दै हिँड्ने टोली, राजनीति गर्ने राजनीतिज्ञ हुँ भनेर गफ हाँक्दै फाइदा उठाउने प्रयासमा लागेका र मौका अनुसार जागेका बिभिन्न टोलीहरुको बर्तमान राजनीति गराइ हेर्दा नाच्न नजान्ने आँगन टेढो भनेजस्तो पो भयो भनेर जनताले भन्न थालेको लामै समय भइसकेको छ। अरु त के कसो हो थाहा भएन।
Facebook Comment