कांग्रेस महाधिवेशनका बाधकः क्रियाशील र कोरोना !
![कांग्रेस महाधिवेशनका बाधकः क्रियाशील र कोरोना !](https://www.dcnepal.com/wp-content/uploads/2020/03/nepali-congress_20180803062643.jpg)
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा फेरि पनि क्रियाशील सदस्यता र कोरोना भाइरस (कोभिड-१९) चुनौती बन्ने देखिएको छ। यसअघि पनि कोरोनालाई कारण देखाउँदै पटक–पटक तोकिएको मिति गुजारेको कांग्रेस महाधिवेशनमा फेरि पनि कोरोना बाधक बन्ने देखिएको हो।
तेस्रो लहरको संक्रमणदर बढिरहेको बेला कांग्रेसले १४औं महाधिवेशनको नयाँ मिति तय गरेको छ। मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशनअघि कांग्रेसको वडादेखि गाउँ’/नगर र जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। भदौ १८ देखि वडा तहको अधिवेशन सुरु हुनेछ ।
जबकि असोजदेखि नै कोरोनाको तेस्रो लहरले सुरु हुने स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्हरूले बताएका छन्। संक्रमण बढ्दै गएपछि प्रशासनले विभिन्न जिल्लामा जारी निषेधाज्ञामा कडाइ गर्दै लगेको छ। कोरोना संक्रमण पुनः दु्रत गतिमा बढ्दै जाँदा निषेधाज्ञामा कडाइ हुने हुँदा महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुनसक्ने देखिन्छ।
कांग्रेस महाधिवेशनको बाधक कोरोना भएकोमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी स्वीकार गर्छन्। तर, कोरोनाकै कारण महाधिवेशन प्रभावित भने नहुने उनको तर्क छ। प्रविधिको युगमा विभिन्न विकल्प प्रयोग गरेर भए पनि महाधिवेशन गर्न सकिने उनले बताए। ‘यो प्राकृतिक विपत्ति पनि महाधिवेशनको चुनौती हो,’ उनले भने, ‘तर, यसकै कारण महाधिवेशन प्रभावित हुँदैन ।
अहिले प्रविधिको युगमा जुममार्फत महाधिवेशन गर्न सकिन्छ। प्रविधिको यति विकास भइसकेको छ । यसबाटै भोटसमेत गर्न सकिन्छ। सहमतिमै नेतृत्व चयन पनि त हुनसक्छ।’
त्यस्तै यसअघि तोकिएकै समयमा महाधिवेशन नहुनुको मुख्य कारण क्रियाशील सदस्यता विवाद हो। कोरोनालाई बहाना बनाउँदै पटक–पटक मिति सारिए पनि महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता विवाद अहिले पनि जारी छ ।
अधिकांश जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिसकेको भए पनि केही जिल्लाको विवाद अझैं मिल्न सकेको छैन। पाँच जिल्ला र एक सय वडाको क्रियाशील सदस्यता विवाद मिलाउन बाँकी छ । क्रियाशील सदस्यता वितरण र नवीकरण पारदर्शी नभएको भन्दै केन्द्रीय कार्यालय सानेपामा बारा र सप्तरीका नेता कार्यकर्ता एक महिनादेखि अनशनमा छन्।
कांग्रेस क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा तीन नेतालाई दिइएको छ । पूर्वमहामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ २ गतेसम्म विवाद मिलाएर सभापतिलाई बुझाउन भनिएको छ । यसअघि रमेश लेखक नेतृत्वको समितिले विवाद मिलाउन नसकेपछि विवादित स्थानको फाइल पुनः केन्द्रीय समितिमै फर्काएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य भण्डारी जसरी पनि क्रियाशील सदस्यता विवाद मिल्नेमा विश्वस्त छन्। उनले भदौ २ भित्रै क्रियाशील विवाद मिल्ने विश्वास व्यक्त गरे। ‘यसअघि तोकिएको समयमा महाधिवेशन हुन नसक्नुको एउटा कारण क्रियाशील सदस्यता विवाद पनि हो,’ उनले भने, ‘क्रियाशील विवाद भदौ २ सम्म जसरी पनि टुंगिन्छ । टुंग्याउनुपर्छ । यसको विकल्पै छैन ।’
भदौ २ मा पनि समस्या समाधान नभए यसलाई थाती राखेर भए पनि महाधिवेशन गर्नुपर्ने उनले बताए। उनले विवाद नटुंगिएको अवस्थामा पुरानै सदस्यता कायम राखेर भए पनि महाधिवेशन गर्नुपर्ने दोहो¥याए।
‘फेरि पनि विवाद टुंगिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘टुंगिएन भने यसले महाधिवेशनमा भाग लिन पाउँदैन । पुरानै सदस्यकाताका आधारमा महाधिवेशन गर्नुपर्छ ।’ केन्द्रका केही नेताको दादागिरीका कारण हालसम्म क्रियाशील विवाद मिल्न नसकेको उनको आरोप छ ।
यता सदस्यताको विवाद मिलाउने जिम्मा पाउनुभएका नेता रमेश लेखले पनि क्रियाशीलकै कारण महाधिवेशन प्रभावित स्पष्ट पार्नुभयो । यसअघि कोरोनाकै कारण कार्यतालिका प्रभावित भए पनि अब भने नहुने उनको भनाइ छ।
उनले तोकिएको समयमै महाधिवेशन हुने दाबी गरे। ‘पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजनिक कार्यतालिका अनुसार नै हुन्छ,’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखकले भने, ‘कोभिडका कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बने पनि अब नयाँ कार्यतालिका अनुसार समयमै महाधिवेशन हुन्छ।’ हिमालय टाइम्स दैनिकबाट
Facebook Comment