म्यानपावरलाई क्यूआर कोडसहितको प्रमाणपत्रको शुल्क नलिन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले उक्त प्रमाणपत्रको लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको भन्ने सूचना प्राप्त भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासो गरेका थिए । सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सम्बन्धित म्यानपावरमार्फत अनलाइन फाराम भरी प्राप्त गर्नुपर्ने उक्त क्यूआर कोडसहितको प्रमाणपत्र निःशुल्क लिन सकिने जनाएको थियो ।
तर, कोरोनाका कारण विश्वव्यापी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बेलामा समेत कतिपय म्यानपावरहरुले शुल्क उठाइराखेको गुनासो प्राप्त भएपछि मन्त्रालयले सर्वसाधारणलाई मर्का पर्ने कुनै पनि कार्यहरु नगर्न सम्बन्धित म्यानपावर कम्पनीलाई आग्रह गरेको हो । साथै, शुल्क लिनेउपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comment