सरकारसँगको सहकार्यमा इजरायल पठाउने भ्रमको पछि नलाग्न मन्त्रालयको आग्रह

डिसी नेपाल
६ भदौ २०७८ ९:५२

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका लागि इजरायल जाने युवाहरूलाई कसैको पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

मन्त्रालका प्रवक्ता दीपक काफ्लेका अनुसार पछिल्लो सयम इजरायल जान फारम भरेका युवाहरूलाई मन्त्रालय वा वैदेशिक रोजगार विभागका अधिकारीसँग सम्बन्ध छ भनी प्रलोभन पार्ने कार्य भइरहेको छ भन्ने सूचनालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले इजरायलको रोजगारीका लागि परेका आवेदनको रूजु कार्य भइरहेको भन्दै विभागको आधिकारिक सूचनालाई मात्र पालना गर्न अनुरोध गरेको छ । त्यस्तै, इजरायलका लागि कुनै पनि भनसुनले काम नहुने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले पनि यसअघि बताएका थिए ।

मन्त्रालयले यस्ता कुनै पनि गैरकानुनी कार्यमा संलग्न नहुनसमेत सबैमा आग्रह गरेको छ । साथै, गैरकानुनी रूपमा रकम असुल गर्ने वा कानुनविपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकूल हुने कार्य गर्ने जोसुकै व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको छ ।
प्रवक्ता काफ्लेले रोजगारीका लागि इजरायल जाने कार्यका लागि दुई सरकारबीचको सम्झौता अनुसार श्रमिक पठाइने भएकाले यसमा अन्य व्यक्तिको कुनै पनि हात नहुने बताएका छन् ।

इजरायलको दीर्घकालीन स्याहारकेन्द्रहरूमा सहायक श्रमिकका रूपमा नेपाली युवाहरूलाई इजरायलले लैजान लागेको हो । विभागले १ हजार जनाका लागि खुला गरेको आवेदनमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको छ ।

ती आवेदनको अहिले रूजुको काम भइरहेको छ । विभागले रूजु गरेर तयार पारेका अन्तिम उम्मेदवारहरू लिखित परीक्षामा सहभागी हुन पाउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई मौखिक परीक्षामा सहभागी गराइने र अन्तिममा १४ सय जनाको नाम सार्वजनिक गरिने बताइएको छ । र, त्यसमध्ये १ हजार जना इजरायल रोजगारीमा जाने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *