कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति
काठमाडौं। नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ ।
कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो ।
कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था उल्लेख छ ।
तर, केन्द्रीय समिति बैठकले भने विधानविपरीत एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको हो । यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधिमध्येबाट नै जिल्ला सभापति चयन हुनेगरी निर्देशिका बनाइएको छ ।
‘एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका उम्मेदवार बन्न पाउँछन्, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनैपर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेस नेता रामहरि खतिवडा भने एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नीति ठीक नभएको बताउँछन् ।
‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठीक होइन, दुईथरी व्यवस्था नगरौं, यसलाई अझै सुधार्न सकिन्छ, यसतर्फ ध्यान दिऔं,’ नेता खतिवडाले भने । कांग्रेस विधानमा जिल्ला सभापति पदमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेहुन्छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटकमा नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत ल्याउने व्यक्ति निर्वाचित हुनेछ ।
कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका ल्याइसकेको छ । नयाँ कार्यतालिकाअनुसार कांग्रेस अब १८ भदौबाट मूल प्रक्रियामा प्रवेश गर्नेछ । यस्तै नयाँ कार्यतालिकामा गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भइसकेको छ
जिल्ला सभापतिहरू धर्ना बस्दै
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आज मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गर्दै छन् । कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले मुख्य तीन मागसहित आफूहरू नेतृत्वविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्न लागेको जानकारी दिए ।
‘पटकपटक महाधिवेशन सारिएको छ, विधिविधानको पालना हुनुपर्छ, सदस्यता वडाबाट जिल्ला हुँदै सिफारिस भएर आएकालाई मान्यता दिनुपर्छ, केन्द्रबाट थपिएकालाई मान्न सकिँदैन, जिल्ला सभापतिका लागि विधानले तोकेको मापदण्ड सबैलाई समान र एकरूपता हुनुपर्छ । यिनै मागसहित हामी धर्नामा सुरु गर्दै छौं,’ कांग्रेस नुवाकोटका सभापति केसीले राजधानीसँग भने ।
यसैगरी, काभ्रे सभापति मधु आचार्यले पार्टी विधिविधान अनुसार चल्नुपर्ने, पार्टीले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्नुपर्नेलगायतका आफूहरूको माग रहेको बताए । ‘क्रियाशील सदस्यतामाथि ५ हजार बढी उजुरी आएको सुनियो तर के कसरी छानबिन तथा सुनुवाइ भयो थाहा छैन, सदस्यताको सूची तत्काल सार्वजनिक गरिनुपर्छ, कांग्रेसजस्तो मासबेस पार्टीले सदस्यता लुकाउनुपर्दैन, सार्वजनिक गरियोस्,’ काभ्रे सभापति आचार्यले भने ।
हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै, धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।
नयाँ सदस्यताका विषयमा विवाद हुँदा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले यसअघि नै देशभरका १ सय २१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । राजधानी दैनिकबाट
Facebook Comment