वर्षातले कालिकोट, सुर्खेत र दैलेखमा राजमार्ग अवरुद्ध

सुर्खेत । अविरल वर्षाले बाढी पहिरो जाँदा कर्णाली राजमार्ग र करिडोरका विभिन्न क्षेत्र अवरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–१ कोटमा पहिरो जाँदा पूर्ण रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
सान्नित्रिवेणी गाउँपालिका-१ कोटमा सबैभन्दा ठूलो पहिरो गएको र अहिले प्रहरी तथा स्थानीय तहको पहलमा डोजरले पन्छाएर खुलाउने प्रयास भइरहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए।
कर्णाली राजमार्गको दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ चिसाखोला, डुङगेश्वर गाउँपालिका–६ र गुराँस गाउँपालिका–४ को सालताडामा पनि पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ राउटे गल्छिनामा पहिरोले रातानाङलाबाट-धरमपोखरा दैलेख जाने सडकखण्ड अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । ‘वर्षातका कारणले कर्णाली राजमार्ग विभिन्न ठाउँमा अबरुद्ध भएको छ,’ उनले भने, ‘अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।’
त्यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ गौडामा पहिरोका कारणले एक घर भत्किएको छ । जगतबहादुर भण्डारीको २ तले ४ कोठे कच्ची घर बर्षाको कारणले भत्किएको प्रहरीले जनाएको छ।
घर भत्किँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन पुरिनुका साथै दुई वटा बाख्रा घरले च्यापिएको प्रहरीले जनाएको छ।
Facebook Comment