इजरायल रोजगारीको परीक्षा भदौ अन्तिम साता हुने
काठमाडौं । इजरायलले ‘केयरगिभर’का लागि माग गरेको १ हजार जना नेपाली श्रमिकको कोटाको परिक्षा यहि भदौ अन्तिम साता हुने भएको छ । वैदेशिक रोजगार विभागको सूचनाका अनुसार रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको यहि भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएको हो ।
परीक्षा भौतिक उपस्थितिमा काठमाडौंका विभिन्न केन्द्रमा गरिने छ भने प्रवेशपत्र अनलाइनमार्फत् उपलब्ध गराइने छ । साथै, केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेशपत्र तथा विभागको वेवसाइटमार्फत जानकारी गराइने जनाइएको छ ।
भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ । सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ ।
लिखित परिक्षाको सूचना निस्किएसँगै दरखास्तहरुको भेरिफिकेसन लगायतका काम भने अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । साथै, परिक्षाको तयारी होस भन्ने मनसायले परिक्षाको सूचना निकालिएको बताइएको छ ।
Facebook Comment