कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत। कर्णाली प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। बिहीबार प्रतिष्ठानले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ उक्त स्वास्थ्य समाग्री हस्तान्तर गरेको हो ।
प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गाउन, इमेरजेन्सी रिलिफ बेड, पिपिइ सेट,मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन्।
स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए । मुख्यमन्त्री शाहीले प्रतिष्ठानले यो भन्दा पछिको दिनहरुमा पनि निरन्तर सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए ।
‘कर्णालीमा सहयोग गर्ने दाताहरुले पैसा भन्दा सामाग्री सहयोग गर्दा राम्रो भएको छ यहि सामान प्रदेश सरकारले खरिद गर्दा सार्वजनिक खरिद ऐनले गर्दा झनझटिलो गराएको छ, ‘मुख्यमन्त्री शाहीले भने,‘अब आउने दिनहरुमा प्रदेश सरकारलाई सहयोग गर्ने कुनै पनि संघ सस्थाले कर्णालीको आवाश्यकता के छ त्यसलाई ध्यान दिएर सहयोग गर्दा झनै राम्रो हुने छ।’
प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले आफूहरुले यो भन्दा पछि कर्णालीको आवाश्यकता अनुसार फेरी पनि सहयोग गर्ने र त्यसको लागि प्रदेश सरकार सँग समान्वय गर्ने बताएकी थिइन्।
Facebook Comment