कांग्रेस अधिवेशन : ६८ वडामा सकियो, एउटामा निर्वाचन

डिसी नेपाल
२० भदौ २०७८ १३:०५

ओखलढुंगा। नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनका क्रममा ओखलढुंगाका ७५ मध्ये ६८ वडामा नयाँ नेतृत्व चयन भएको छ। जसमध्ये ६७ मा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

अहिलेसम्म सात वडामा सहमति नहुँदा समिति घोषणा भएको छैन। निर्वाचनभन्दा सहमतिमै नेतृत्व चयन गर्न सबै पक्षको जोडबल भए पनि दाबेदार धेरै भएकाले छलफल जारी रहेको नेताहरुले बताएका छन् । चिशंखुगढी–५ मा भने निर्वाचन भएको कांग्रेस उपसभापति तेजेन्द्र खनालले जानकारी दिए।

अधिवेशन सकिएका वडाहरुमा क्षेत्रीय प्रतिनिधिहरुसमेत चयन भइसकेका छन्। कतिपय वडामा नेताहरुको दबाबमा आफन्त र परिवारका सदस्यलाई प्रतिनिधि बनाएको भन्दै विरोध भएको छ ।

एउटा वडामा महिला वडासभापति

सुनकोसी गाउँपालिका–७ बाट ३३ वर्षीया सपना खत्री कांग्रेस वडासभापति निर्वाचित भइन्। उनी निर्विरोध भएकी हुन्। जिल्लाका केही वडाको अधिवेशन सम्पन्न हुन बाँकी छ । हालसम्म निर्वाचित भएका वडासभापतिमा सपना एक्ली महिला हुन् । वडा अधिवेशनमा सपनासँगै अन्य ६ जनाले पनि वडासभापतिमा दाबी गरेका थिए।

‘महिलालाई कोटामा मात्रै सीमित गराउने होइन, अर्थपूर्ण सहभागिता पनि गराउनुपर्छ भनेर वडासभापतिमा दाबी गरेँ,’ सपनाले भनिन्, ‘जसले गर्दा सर्वसम्मत निर्वाचित भएँ ।’ सपना वडा नं ७ को वडा सदस्यसमेत हुन् । उनी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत छिन् । उनले अग्रजहरुको सुझावलाई मनन् गरेर पार्टीलाई अब्बल बनाउने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *