संखुवासभा हत्या प्रकरण : घटना अझै रहस्यमय, बिहानबाट अनुसन्धान सुरु

डिसी नेपाल
२२ भदौ २०७८ ११:१०

संखुवासभा। संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ। मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स हत्या घटना अझै रहस्यमय नै रहेको छ। सोमबार बिहान ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । तर, घटना सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि अझै रहस्यम नै देखिएको हो।

तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीले न्युज कारखानालाई बताए।

उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ । अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो। आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो।

सामूहिक हत्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ। घटनाकाबारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ। घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए।

घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए। हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो।

तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ। ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको थियो।

तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *