समयमै मापदण्डअनुसार सडक निर्माण सक्न निर्देशन

डिसी नेपाल
२२ भदौ २०७८ १३:३८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडकखण्डको सोमबार स्थलगत निरीक्षणपछि राष्ट्रिय योजनाआयोगका सदस्य डा. रामकुमार फुयालले तोकिएको समयसिमाभित्रै मापदण्डअनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित् पक्षलाई निर्देशन दिएका छन्।

अरनिको राजमार्ग अन्तर्गतको बलेफी बजारदेखि नौबिसे सडकखण्ड र जलबिरेदेखि कात्तिके सडकखण्डको जुगल गाउँपालिकाअन्तर्गतको ढाँडे हुँदै गणेश खोलासम्मको स्थलगत निरीक्षणमा निर्माण कार्य थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ। जलबिरे कात्तिके सडकखण्डका लागि ठेक्का पाएको निर्माण पक्षलाई डिपिआर, ड्रोइङ र डिजाइनअनुसार निर्माण कार्य सम्पन्नगर्न निर्देशन दिइएको हो।

ढाँडे–कात्तिके सडकखण्डको कुम्भेश्वर वारीपट्टिको खण्डदेखि गणेश खोलासम्मको भाग निकै जोखिपूर्ण देखिएकोले सो क्षेत्रमा बलियो निर्माणका लागि थप उपायहरू अवलम्बन गर्न निर्माण पक्ष र प्राविधिक सहयोग गर्न सरकारी प्राविधिकहरूलाई निर्देशन दिइएको छ।

सो क्षेत्रमालगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको बताउँदै माथिल्लो भागदेखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनसडक डिभिजन कार्यालयकी ईन्जिनियर मैना राइले आग्रह गरिन्।

सभामुख अग्निप्रसाद सापकोटासँगको समन्वयमा सडक निर्माणको स्थलगत निरीक्षणमा आएको जानकारी गराउँदै सदस्य फुयालले तोकिएको मापदण्ड र समय ख्याल गरेर निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्। तोकिएको मापदण्ड पूरा गरेको नपाइए संलग्न सबै पक्ष कारबाहीको भागिदार हुनेतर्फसमेत सचेत गराइएको छ।

भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकका पहाडहरूमा यो वर्ष पनि ठूला साना गरी सयौं पहिरोबाढीका कारण थुपै भित्रि सडकहरु अवरुद्ध भएका छन्। निर्माण पक्षको लापरबाही र सरकारी संयन्त्रको फितलो अनुगमनका कारण सर्वसाधारणले भने वर्षेनी सास्ती भोग्नु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *