पार्वतीलाई हरण गरेर वनमा पुर्याइएको कथासँग जाेडिएकाे हरितालिका तीज पर्व
नेपाली हिन्दु नारीहरूको साँस्कृतिक पर्वको रूपमा हरितालिका तीज पर्वलाई लिइएको छ। हरितालिका सम्बन्धमा धर्मशास्त्रमा यसरी बताइएको छ —
आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका। (व्रतराज पृष्ठ १०८)
आलि शब्दको अर्थ हुन्छ साथी वा संगिनी। हरिताको अर्थ हुन्छ हरण गरिएकी वा लगिएकी पार्वतीलाई आफ्ना जया, विजया आदि सखीहरूद्वारा हिमालयको दरबारबाट हरण गरेर शिवजीको तपस्या गर्न तपस्या स्थलमा पुर्याइएकी थिइन्। यसैले हरितालिका भनिएको हो।
पार्वती माताले भगवान शंकरलाई नै पति रूपले प्राप्त गर्ने तीव्र इच्छा राख्नु भएको थियो। एक दिन नारद मुनि आएर पार्वतीको हस्त रेखा हेरेर भन्नु भएको थियो कि हातका रेखा ब्राह्मी लिपि (ब्रह्माजीले लेखिदिएका अक्षर) हो। हस्तरेखाका आधारमा भाग्य बन्दछ।
नारदजीले कैलाशमा पुगेर शिवजीलाई पार्वतीको बारेमा संकेत गर्नुभएको थियो। नारदजीको वचन सुनेको दिनदेखि माता पार्वतीले मन मनैले भित्र भित्रै शिवको आराधना गर्दै रहेकी थिइन्।
हिमालय पर्वतले विष्णु भगवानसँग पार्वतीको विवाहको प्रस्ताव राख्दा पार्वतीलाई चिन्ता पर्यो। त्यसपछि पार्वती कै इच्छा अनुसार सखीहरूले पार्वतीलाई हरण गरेर एक वनमा पुर्याइएको कथासँग यो हरितालिका तीज पर्व जोडिएको हो।
माता पार्वतीको अनेक नाम छन् माताले तपस्या गर्न नजाऊ भन्दा नमानीकन तपस्या गर्न गएकी हुनाले उमा, पात पनि त्यागेर तपस्या गरेकी हुनाले अपर्णा, पर्वतकी छोरी भएकीले पार्वती, हिमकी छोरी भएकीले हैमवती शैलेश्वरी, गिरीजा, स्कन्दमाता, आदि नामले प्रख्यात रहेकी छिन्।
यिनै पार्वतीले शिवजीलाई पति पाउनको लागि बाह्र वर्षसम्म वायुको आहार गरेर चौबीस वर्षसम्म सुख्खा पात खाई व्रत गरेको प्रसंग पनि छ । यसैगरी वैशाख मासमा सूर्य मेष राशीमा हुन्छन् । यस समयमा पञ्चाग्नि तापेर, जब सूर्य मकरमा प्रवेश गर्दछन् त्यतिखेर चीसो जलमा बसेर तपस्या गरेकी थिइन्।
जब सूर्य कर्कटमा हुन्छ तब बालुवाको मूर्ति स्थापना गरी शिवको पूजा आराधना गरे पछि भगवान शिव खुसी भएर पार्वतीको मनोकामना पूर्ण गर्नुभएको थियो । यस विषयलाई लिएर तीज पर्व मनाउने परम्परा चलिआएको भन्ने धार्मिक मान्यता रहेको छ।
तीजको व्रतको अघिल्लो रातमा दर खाने चलन छ। दर शब्दको अर्थ तीजको व्रतको अघिल्लो रातमा खाने भोजनलाई दर भनिन्छ। भोलिबेर व्रत बस्ने भएकाले अघिल्लो रात्री छोरी चेलिबेटी जम्मा भई रमाइलो गरी आफ्नी आमा दिदी बहिनीसँग वर्षदिनमा भोगेका सुख दःख सुनाउने मीठो मीठो खानेकुरा बनाई रात्रीमा खाने चलन छ।
आजकल दर खाने भनेर दर खाने दिन भन्दा धेरै अगाडि दिनदेखि नै रमझम गरी नाचगान गर्ने मीठा –मीठो खाने चलन छ। दर खाँदा सकभर तामसी राजसी नहोस्। हाम्रो भोजनले नै मनलाई अशान्त गरिदिन्छ। शरीरलाई पीडा दिने गरी रातीसम्म जाग्राम बसेर गरिष्ठ भोजन उकुसमुकस हुने गरी खान हुँदैन। त्यसैले गीतामा भनिएको छ कि
युक्ताहारविहारस्य युक्त चेष्टस्य कर्मसु ।
आहार, विहार, सुत्ने, उठ्ने आदि हाम्रा हरेक कर्मका चेष्टा ठीक वा सन्तुलित भएमा मात्र दीघार्यु भई जीवन सफल बन्दछ। भोजन ठीक्कको हुनुपर्छ । धेरै खानु पनि हुँदैन। धेरै भोक्कै बस्नु पनि हुँदैन भनिएको छ।
भाद्र शुक्ल तृतीयालाई हरितालिका तीज व्रत भनेर मनाउने चलन छ। यस दिनमा सम्पूर्ण नारीहरूले व्रत बस्ने चलन छ। व्रत भनेको उपवास हो। उपवास भनेको भगवानको नजिकमा बस्नु भन्ने हुन्छ। भगवानलाई प्राप्त गर्नलाई व्रत बस्ने चलन छ। तीजको व्रतको दिनमा सक्नेले निराहार व्रत गर्ने नसक्ने असक्त्त वृद्धा रोगीले आफ्नो स्वास्थ्यको ख्याल गरी व्रत बस्नु पर्दछ।
यसगरी भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले मनाउने चलन छ। बिहानै उठेर नारीहरू नजिकैको नदी, खोला,ताल, तलैया र पोखरीमा गई तीनसय पैँसठ्ठी दतिवनले दाँत माझ्ने , गाईको गोबर, सप्तमृत्तिका लगाई स्नान गर्ने चलन छ।
रजस्वलाको समयमा छाइछुई लगायत कुनै त्रुटि भएको दोष मेटाउनका लागि अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । सप्तर्षिका नामहरू—
कश्पोऽत्रिर्वशिष्ठश्च विश्वामित्रोऽथ गौतमः ।
जमदग्निर्भरद्वाज इति सप्तर्षयः स्मृताः ।।
कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि, र भरद्वाज यी सातवटा ऋषि नै सप्तर्षि हुन्। ऋषि भनेका वेदका मन्त्रद्रष्टा हुन्। वेद, उपनिषद्, स्मृति, पुराण, रामायण , महाभारत आदि हाम्रा पूर्वीय वाङ्मयहरू नै ऋषिहरूको देन हो।
पशुरूपमा रहेका मानिसहरू पनि ऋषिहरूले बताएको मार्गको अनुसरण गर्दै गएमा मनुष्य नै देवता र देवी पदमा पुग्ने योग्यता बन्दछ पशुबुद्धिबाट देवबुद्धिमा बदलिदिने गुनले गर्दा तिनै ऋषिहरूको सम्झनामा पूजा गर्नु नै ऋषिपञ्चमीको महिमा हो।
Facebook Comment