कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा
काठमाण्डौं । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ”, उनले बताए । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले बीपीको सपना पूरा गर्ने नेतृत्वलाई १४औँ महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाएका थिए ।
Facebook Comment