शिक्षक शिक्षिकाको कुटाइबाट विद्यार्थीको हात भाँचियो

काठमाण्डौं । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ।
भदौ २४ गते गृहकार्य नगरेको भन्दै शिक्षिका शोभा साह र शिक्षक रब्बानि हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई निर्घात कुटपिट गरेको खुलेको छ। कुटपिटबाट सिद्धार्थको दाहिने हात भाँच्चिएको छ। उनी अहिले उपचाररत रहेको परिवारले जनाएको छ। भदौ २३ गते पनि गृहकार्य नगरेको भन्दै शिक्षिका साहले उनलाई पाइपले पिटेको सिद्धार्थका बुवा जितेन्द्र ठाकुरले बताए।
कुटपिट गर्नेहरू दम्पत्ति हुन्। एक्सरे गर्दा उनको हड्डि भाँचिएको पत्तालागेको सिद्धार्थले बताए। शोभाले उनलाई पिटेको स्वीकार्दै उपचारमा लाग्ने खर्च व्यहोर्ने बताएको सिद्धार्थले जानकारी दिए। ‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर हात भाँचेर घर फर्कंदा मन दुख्यो ।’
स्कुलमा यसरी अमानवीय तरिकाले विद्यार्थीलाई कुटपिट गर्नु कानूनी र सामाजिक अपराध रहेको उनले बताए । विद्यार्थीका अभिभावकले स्कुलको अबिलम्ब दर्ता खारेज र कुटपिट गर्ने शिक्षकमाथि कारबाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् । बालक ठाकुरलाई कुटपिट गर्ने शिक्षिका विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहाकी पत्नी हुन् ।
यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कुटपिट गर्दा संयोगवश विद्यार्थीको हात भाँचेको प्रतिक्रिया दिए । उनले उनको सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको समेत बताए ।
उनले विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको कुरा अस्वीकार गरे । उनले शिक्षकले विद्यार्थीलाई हप्काएको हुन सक्ने तर, कुटपिट नभएको बताए । कुटपिट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने जानकारी दिए ।
Facebook Comment