एक दृढ प्रतिज्ञ नारीको कथा

डिसी नेपाल
२ असोज २०७८ ६:४१

वि.सं.२००२ सालमा पाल्पामा जन्मिएका अर्जुनदेव भट्ट आफ्ना पिताजीको जागिरसँगै देशका विभिन्न ठाउँमा बसेर पढे। उनले उच्च शिक्षाको लागि रुस गएर पढ्ने मौका पाए। एमडी, पीएचडी (सर्जरी), डी.एस. (युरोलोजी ) एफ.आइ.सी.एस, मृगौला प्रत्यारोपण फेलोसिप अध्ययन गरेका डाक्टर अर्जुनदेव भट्ट हाल मेडिकेयर चावहिलमा कार्यरत छन्।

आफ्नो विगतलाई शब्दमा उतारेर पाठक माझ ल्याइएको मेरी आमा एक दृढ प्रतिज्ञ नारी अर्जुनदेव भट्टको एउटा सुन्दर कृति हो। २०७८ सालमा ओरिएन्टल प्रकाशनले निकालेको उनको यो कृति संस्मरण विधा अन्तर्गत पर्दछ। यस्तै उनका अन्य कृतिहरु यस प्रकार छन्ः

बैतडीका केही स्थानीयशब्द (२०१७), प्राकृतिक परिवार नियोजन (२०४७),  एड्स प्रतिरक्षा प्रणाली विनासक रोग (२०४७),  यौन प्रसारित रोगहरू (२०४८),  मुटुको धड्कन (२०७७) र  अविस्मरणीय पलहरु (२०७७)

यो पुस्तकमाजम्मा सोह्र वटा लेख रहेका छन् । ‘विवेकीनारी’ देखि ‘दिवङ्गत स्थलविमर्श’सम्म लेख छन् भने तीनवटा कविता र केही पारिवारिक तस्वीरहरु पनि पुस्तकको अन्त्यमा समावेश गरिएका छन्।

“जननीजन्मभूमिश्च स्वर्गादपी गरीयसी!” आफ्नो जन्मथलो र आफूलाई जन्मदिने आमाभन्दा ठूलो यो संसारमा कोही हुँदैन। कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै बिर्सिन सक्दैनौं। चाहे गर्भमा होस्, चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन्। यो एक कर्तव्य परायण छोराको आफ्नी आमा प्रतिको कृतज्ञताको सुन्दर कथा हो।

“डाक्टर भएर त आएँ तर उतैबाट म्लेच्छ केटीलाई श्रीमती बनाएर दुई बच्चासहित आएको थिएँ। व्रतवन्ध नै नगरी पढ्न गएको म। आमालाई मैले यसरी सबैभन्दा ठूलो पिडा दिएँ। वहाँलाई मेरो यो कार्यले साह्रै मन दुख्यो।”

बाल्यकालको सम्झनाबाट सुरु भएको यो संस्मरण उनी यसरी लेख्छन्, “सात सालको क्रान्तिमा पिताजीको जागिर खोसिँदा हामीहरु प्यूठानमा थियौं। त्यहाँ बस्न उचित नभएपछि गाउँलेले हामीलाई बैतडी पठाए ।”क्रान्ति भनेकै एउटा अराजक अवस्था हो, त्यहाँ जे पनि हुनसक्छ ।

हजुरबुवाको सामन्ती मिजास र व्यवहार प्रतक्ष देख्न र भोग्न पाएका उनले सानै छँदा देखेको क्रूर हजुरबाको सम्झना उनको आँखामा आज पनि ताजै छ। “खेट्टी दिदी र धौली दिदी हाम्रो घरमा काम गर्ने नोकरचाकर भएर बसेका थिए। उनीहरू थिए अर्कै श्रेणीका, कति गाली, चुटाइ र हेर्नै नसकिने दण्ड पाउँथे हजुरबाबाट। उनीहरू दास थिए। त्यो अतीत सम्झिँदा अहिले पनि डर लाग्छ, मुटुमा त्रासको धड्कन छुट्छ। मान्छेलाई डोरीले बाँधेर कुट्नु कहाँसम्मको अत्याचार थियो ?” (पेज ३१)

आफ्नो प्यारो भाइ भरतको कुनै रोग पहिचान बिना नै भएको दर्दनाक मृत्यु, भाइको मृत्युले आमाको मुटुमा कहिल्यै निको नहुने सन्तानको चोट। यी सबै आफ्ना आँखा अगाडि घटेका घटनाकै कारण पनि उनले डाक्टरी पढाई रोजे सायदै।

पढाईको सन्दर्भमा उनी रुसमा एघार वर्ष अध्ययन गरि कुशल जनरल सर्जन भएर फर्केपछि नै यो संस्मरणमा आमा हीरादेवीको खास उपस्थिति महसुस हुन्छ। एउटी जन्मदातृले आफ्ना छोराछोरीको लागि धेरै सपना साँचेकी हुन्छिन्, झनै विदेशमा पढ्न गएको छोरो माथि आमाका कति धेरै सपनाहरु बुनिएका थिए होलान् त्यो समयमा। आमाले सोचेको भन्दा विपरित भएकोले अथाह पिडा बोकेर आमा मौन बसिरहिन्।

आमा सम्झदैँ उनी लेख्छन्, “डाक्टर भएर त आएँ तर उतैबाट म्लेच्छ केटीलाई श्रीमती बनाएर दुई बच्चासहित आएको थिएँ। व्रतवन्ध नै नगरी पढ्न गएको म। आमालाई मैले यसरी सबैभन्दा ठूलो पिडा दिएँ। वहाँलाई मेरो यो कार्यले साह्रै मन दुख्यो।” (पेज ५३) त्यतिका वर्षपछि छोरो आउँदा पनि आमाको मन हाँस्न सकेन।

आफ्नो पढाई सकेर परिवारसहित सोभियत संघबाट फर्किंदा दिल्लीमा ट्रान्जिट परेको कुरा उनी यसरी लेख्छन्, “जनरल सर्जरीको चार सय पानाको पाण्डुलिपि मैले भर्खर काम गर्न सुरु गरेका चिकित्सकका लागि लेखेको थिएँ। त्यो नै ट्रान्जिटमा चोरेछन्। यो पिर मेरो मुटु र मस्तिष्कको एक–एक कुनामा कहिल्यै नमेटिने गरी रह्यो। विश्वको विशालतम लोकतन्त्रको ट्रान्जिटमा भएको यो चोरी प्रतिको तिक्त कथा डाक्टर भट्टको मनमा अझै ताजा छ।

अर्जुनदेवका छोरा (सिरगेइ) सानै थिए। छोरी (अल्योना) अलि बुझ्ने थिइन्। हजुरआमाले पूजा कोठामा बसेर घण्टी बजाएको, पुजा गरेको उनलाई साह्रै हेर्न मन लाग्थ्यो तर धर्म भिरु हजुरआमा उनलाई छुँदा जातै जाने र देवता एवं पितृ अप्रसन्न हुन्छन् भन्ने डरले नातिनीलाई छेउछाउमा आउनसमेत दिन्न थिन्। यस्ता कुरा पढ्दा त्यो सानी नानी सम्झेर धेरै मन कुँडिन्छ। बिचरा ! त्यो बच्चाले ढोकाबाहिर बसेर हेर्दासमेत हजुरआमा ढोकाबन्द गरेर पुजा गर्थिन्। डाक्टरको घर भित्र त यस्तो डरलाग्दो अन्धविश्वास छ अरु के कुरा गर्नु र! त्यो अवोध नातिनी प्रति उनले गरेको त्यो कठोर व्यवहार शब्दमा वर्णन गर्न म सक्दिनँ।

शिक्षाको महत्व कति रहेछ भन्ने कुरा नातिनीले विस्तारै बुझिन् र उनी पढ्न विदेश गइन्। उनी पढाई सकेर चिकित्सक बनेपछि आफ्नै घर नेपाल फर्किइन्। उनी नेपाल फर्कँदा जटिल जीवनको कठोर यथार्थ बुझ्ने भइसकेकीले आफ्नी हजुरआमाले हिजोका दिनमा गरेको उपेक्षालाई बिर्सि दिइन्। आफ्नो एउटा परिवार सम्झेर माया गर्न थालिन्। अनेकौं रोगले ग्रस्त हजुरआमाको उनी रात दिन सेवा , उपचार, रेखदेख गर्थिन्।

हजुरआमाले पूजा कोठामा बसेर घण्टी बजाएको, पुजा गरेको उनलाई साह्रै हेर्न मन लाग्थ्यो तर धर्म भिरु हजुरआमा उनलाई छुँदा जातै जाने र देवता एवं पितृ अप्रसन्न हुन्छन् भन्ने डरले नातिनीलाई छेउछाउमा आउनसमेत दिन्न थिन्। यस्ता कुरा पढ्दा त्यो सानी नानी सम्झेर धेरै मन कुँडिन्छ। बिचरा ! त्यो बच्चाले ढोकाबाहिर बसेर हेर्दासमेत हजुरआमा ढोकाबन्द गरेर पुजा गर्थिन्।

एक दिन नातिले बदमासी गर्यो भनेर हजुरआमाले तीन चड्कन लगाइन्। नाति सिरगेइको कोमल चित्तमा त्यो चड्कनको पिडा लामो समयसम्म आलै रह्यो। एक वर्षसम्म सिरगेइ हजुरआमासँग बोलेन। पछि हजुरआमालाई सायद पश्चाताप महसुस भयो होला र मेडिसिन पढ्न जर्मनी गएको नातिसिरगेइलाई प्रायश्चितको भाकामा एउटा चिठी लेखिन्। त्यो चिठी पढेपछि नातिले पनि पुराना कुराहरु सबै भुलिदियो। पढाई सकेर नेपाल आउँदा उनीहरू (नाति र हजुरआमा) नङ–मासुसरी अन्तरङ्ग र प्रिय बने। विद्वान ज्योतिषिकी छोरी भएकीले उनले आफ्ना पिताजीबाट सानैमा अक्षर लेख्न र पढ्न जानेकी थिइन्। अत्यास लाग्दा दिनहरूमा उनले रामायण पढेर समय बिताइन्। त्यो पढाई उनलाई बाँचुन्जेल काम लागिरह्यो।

कुशल सर्जन भएर स्वदेश फर्केपछि अर्जुनदेवलाई जलेश्वर अस्पतालमा जागिर मिल्यो। “त्यहाँका मानिसहरुमा अनेक भ्रमको सृजना गरिएको थियोे। त्यहाँ सुइ नदिने डाक्टरको त कोही पनि प्रसंसा गर्दैनथ्यो। बिरामीले घुँडा या पैतालादुख्यो, टाउको दुख्यो भनेको छ भने त्यही ठाउँमा आला(क्तभतजयकअयउभ) राखेर नाटक गर्न सक्ने र धेरै पैसा असुल्ने डाक्टरको प्रसंसा हुन्थ्यो ।”(पृष्ठ ६५)

यो बेथिति र दुराचार सहँदै उनले त्यहाँ चार वर्ष बिताए। त्यसपछि छोराछोरीको पढाइका निम्ति उनी काठमाडौं फर्किए। बाआमासँग बसेर धित मर्नेगरी बात मार्न नपाएको कुरा उनी सधैँ सम्झन्छन्। बुवा अड्डाको काम घरमा लिएर आउनुहुन्थ्यो र कसैसँग कुरा नगरी आफ्नो काम मात्र गरिरहनु हुन्थ्यो। आमा पनि सधैँ आफ्नै घरायसी काममा व्यस्त भइरहने। अनेकौं व्यवहारले थिचेका बाआमासँग बसेर कहिल्यै गफ गर्ने समय मिलेन।

जब आमा घुँडा दुख्ने र पिसाबको रोगका कारण कतै हिंडडुल गर्न नसक्ने भएपछि आमाका लागि आफ्नै आँगन परदेश भयो, तब बिरामी आमाका छेउमा बसेर बल्ल गफ गर्ने मौका मिल्यो उनलाई। सबै जना खाना खाएर आमाको कोठामा जम्मा भइ गफगाफ गर्दा आमाको मन प्रसन्न हुन्थ्यो।

आमा
म तिमीभन्दा टाढा भएर पनि
नजिक छु,
अझै मलाई
एउटा यस्तो अचुक शक्ति प्रदान गर
जसले
असमानता विरुद्ध
लड्न सिकाओस्।

आमालाई धेरै पटक डाक्टर छोराले अस्पताल लान कोशिस गर्दा पनि आमा जान नमान्दा उनले आमाको उपचार आफ्ना साथीहरूलाई बोलाएर घरमा नै गर्न बाध्य भए।

आमालाई अस्पताल भन्ने बित्तिकै डर लाग्ने कारण चैं एक दिन पिताजीलाई सामान्य पेट दुखेको थियो। वहाँ चेक गर्नलाई हिँडेर नै वीर अस्पताल जानु भयो। त्यहाँ चिकित्सकले नसामा सुइ लगाउने बित्तिकै वहाँलाई ह्रदयघात भयो र तुरुन्तै वहाँको निधन भयो। त्यो दिनबाट आमालाई अस्पताल प्रति भरोसा उठ्यो। मेरा पतिलाई आधुनिक विज्ञानले मार्यो भन्ने छाप आमाका मनमा पर्यो। त्यसकारण अस्पताल र आधुनिक उपचार प्रति भयङ्कर भय र तिव्र वितृष्णाका कारण आमा बाँचुन्जेलसम्म अस्पताल जान मान्नु भएन।

एउटै घरमा आमा पिसाबको रोगले छट्पटाउने, छोरो यो रोगको वरिष्ठ विशेषज्ञ। आमा अस्पताल नजाने, कुनै उपचार गर्न नमान्ने, आमाको यस्तो अवस्था देखेर उनी आफ्नो डाक्टरी डिग्रीलाई बेला बेलामा धिक्कार्थे। एक दिन आमालाई धेरै गाह्रो भएपछि उनले फकाउँदै पिसाब पाइप (क्याथेटर) राख्न मनाए, आमाले हुन्छ भनेपछि आफ्नै हातले बिस्तारै क्याथेटर राखिदिए। त्यो दिनदेखि भिजेको गन्हाउने ओछ्यानमा सुत्नु नपर्दा आमा खुसी हुनुभयो।

पिसाब थैलीमा पिसाब गानिएर, तपतपी चुहिएर , लुगा भिजेर, गनाएर हुने सबै हैरानी एकैपटक सकियो। रातदिन केही नभनी सेवा गर्ने धौलीदिदीलाई पनि अब काम होलो भयो। एक दिन आफ्नी नातिनीको कुरा सुनेर रमाएकी हजुरआमा व्हिलचियरमा बसेर यसो बाहिर घुम्न निक्लँदा उहाँलाई नयाँ संसार देखेजस्तै लाग्यो।

यो पुस्तकको अन्त्यमा तीनवटा मार्मिक कविता र आफ्नो परिवारको सामुहिक तस्वीरहरु पनि समावेश गरिएका छन्।

“मेरी आमा”कविताको एक अंशः

आमा
म तिमीभन्दा टाढा भएर पनि
नजिक छु,
अझै मलाई
एउटा यस्तो अचुक शक्ति प्रदान गर
जसले
असमानता विरुद्ध
लड्न सिकाओस्।

साहित्यकार बन्ने होडमा नराम्रा कुराहरु लुकाएर राम्रो कुराहरुको मात्र बिस्कुन लगाइएको हुन्छ। समग्रमा भन्नुपर्दा यो पुस्तकमा लेखकले कुनै पनि कुरा नलुकाई स्पष्ट लेखेका छन। आमाले बोल्ने डोटी, डडेल्धुरा तिरको गाउँले बोलीले झन् किताब पढ्न मज्जा आउँछ। आमाको स्नेह, त्याग र निश्छल व्यक्तित्वबारे शब्दमा चित्रण गर्न लेखक सफल भएका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *