चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने
![चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने](https://www.dcnepal.com/wp-content/uploads/2020/10/5f5b212e80516_udhog-780x452-1.jpeg)
काठमाडाैं । चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन्। घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ।
विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन्। मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता नेपाल मरासिनीले भने, “नयाँ औद्योगिक ग्राम घोषणाका लागि नयाँ करिब १५ वटा प्रस्ताव आइसकेका छन् । मापदण्डअनुसार चेकजाँच गरेर तयारी अवस्थामा छ । मन्त्री आएपछि क्याबिनेटमा लैजाने र घोषणा गर्ने काम हुन्छ।”
आर्थिक वर्ष २०७७/७८ मा ७० वटा औद्योगिक ग्राम घोषणा गर्ने योजना भए पनि २९ वटा मात्र गरिएको थियो । मापदण्डअनुसारका प्रस्ताव नआएपछि घोषणा गर्न नसकिएको मन्त्रालयले जनाएको छ । कोरोना महामारीको बन्दाबन्दीले पनि प्रभावित बनाएको मरासिनीको भनाइ छ । स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आउन ढिलाइ भएको कारणले पनि कम घोषणा हुन पुगेको उनको भनाइ छ। याे खबर आजकाे गाेरखापत्रले छापेकाे छ।
Facebook Comment