बेलायतस्थित नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन
काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले लन्डन सहर बाहिर रहेका स्वीन्डेनवासी नेपालीका लागि एकदिने घुम्ती सेवा सञ्चालन गरेको छ । नेपाली एशोसिएशन विल्सायरको सहकार्य र आयोजनामा भएको सो घुम्ती सेवामा कोरोना महामारीका कारण दूतावास जान नपाएका थुप्रै नेपाली लाभान्वित भएका छन् ।
लन्डन जान–आउन असहज खेपिरहेका वृद्ध भूपू गोर्खालगायतका नेपालीको सुविधाका लागि सो कार्यक्रम आयोजना गरिएको एशोसिएशनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए । घुम्ती सेवामा राहदानी नवीकरण, वारेसनामा, एनआरएनए कार्डजस्ता सेवा उपलब्ध गराइएको थियो ।
दूतावासका तर्फबाट द्वितीय सचिव रामबाबु नेपाल, सहचारी पुजन पाण्डे र विनोद कार्की उपस्थित भएर सेवा प्रदान गरिएको थियो । बिहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन गएिको उक्त घुम्ती सेवामा ४४ व्यक्तिलाई सेवा प्रदान गरिएको गुरुङले बताए ।
संस्थाले राहदानी तयार भएपछि वृद्धवृद्धालाई दुःख नहोस् भनेर आफैँ दूतावास गएर सङ्कलन गरिदिने पनि गुरुङले बताए । लामो समय खर्चिएर दूतावास पुग्नुपर्ने झन्झटबाट मुक्ति पाएकामा सेवाग्राहीलगायत स्विडेनवासीले खुशी व्यक्त गरेका थिए ।
नेपाली एशोसिएशन विल्सायरले नेपाली र बेलायती समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको छ । हालैमात्र संस्थाले स्विडेनमा नेपाली सांस्कृतिक महोत्सव आयोजना गरी बेलायतीलाई नेपाली कला संस्कृति, खाना आदिबारे अवगत गराएको एशोसिएशनका अध्यक्ष गुरुङले जनाए ।
सात वर्षअघि बेलायतका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत तेजबहादुर क्षेत्रीले सुरु गरेको यो घुम्ती सेवा पुनःसञ्चालनमा आएको हो । रासस
Facebook Comment