सरस्वती प्रधान १ लाख १५ हजार धरौटीमा रिहा
काठमाडौं । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्।
बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् । उनलाई जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै मुद्दा दायर भएको थियो । बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश जारी गरेको हो।
सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् । त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो । उनलाई रिहा गराउन तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालय नै पुगेकामा आलोचना भएको थियो ।
Facebook Comment