प्रधानमन्त्री देउवालाई साक्षी राखेर सेनापतिले भने—सेनाले सुक्ष्म अध्ययन गरिरहेको छ

डिसी नेपाल
७ असोज २०७८ २२:४४

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवालाई साक्षी राखी मुलुकको स्थायित्वसंग सरोकार राख्ने गतिविधिहरुबारे सेनाले सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताएका छन् ।

उनले मुलुकमा उत्पन्न हुंदै आएको अस्थिरतातर्फ संकेत गर्दै सो कुरा बताएका हुन् । अस्थिरताले सुरक्षा चुनौति उत्पन्न हुने र त्यस्ता चुनौति सामना गर्न सेना प्रतिबद्ध रहेको पनि सेनापतिले बताएका थिए । असोज ७ गते सैनिक मुख्यालय जंगी अड्डामा शुरु भएको प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकका स्वागत मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । सो बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका थिए ।

सो कार्यक्रममा सन्दर्भमा सेनाद्वारा जारी विज्ञप्तिमा सेनपातिको भनाइ उल्लेख गर्दैै भनिएको छ—“देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्व संग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।”

तस्वीर: नेपाली सेना

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली सेनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिहरुको विश्लेषण गर्दै त्यसबाट मुलुकलाई असर पर्न नदिने रणनीति तय गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सेनाबाट सञ्चालित विकास निर्माणका परियोजनाहरुलाई आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।प्रधानसेनापतिको रुपमा कार्यभार सम्हालेपछि देशभरका उच्चतहका सैनिक कमाण्डरहरुलाई भेला गरी आयोजना गरेको सो बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सरकारका विधिसम्मत आदेश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सेनाको दीर्घकालीन सोच २०७८ को कार्यान्वयनमा सयहोग पुर्याउन मन्त्रालय तयार भएको बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री एवं रक्षा मन्त्री देउवाको उपस्थितिमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति शर्मा र नेपाल सरकार रक्षा मन्त्रालयका तर्फबाट रक्षा सचिव पौड्यालका बीच कार्यसम्पादन सम्झौतासमेत भएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत सहभागिता रहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *