व्यंग्य : लाज पचेका नकचरा

डिसी नेपाल
१० असोज २०७८ ७:४७

अरुको दल फुटाएर भएपनि आफूसहितको गठबन्धनको सरकारलाई बढी समर्थन जुटाएर सबैतिर हालिमुहाली गर्न पाए जसलाई जुन मन्त्रालय चाहिन्छ त्यही लुटाएर भएपनि काम चलाउने र गठबन्धनवालाको लागि मनचिन्ते झोलीबाट सबैथोक फलाउने अनि बिरोधी जति सबैलाई अहिले मात्रै होइन भविष्यमा पनि उठ्न नसक्ने गरी ढलाउने ज्यादै पवित्र उद्देश्य राखेर ल्याएको अध्यादेशले राम्रो नतिजा दिएको जनताले प्रत्यक्ष महसुस गर्न पाएका छन्।

आफ्नो साबिक दलमा टिक्न र त्यहाँ बसेर राजनीतिमा गतिलोसित बिक्न नसक्ने पक्का भएकाहरुले बिद्रोह गरेजस्तो गर्दै जोडको धक्का दिएर कमसेकम जति प्रतिशत भए दल फुटाउन मिल्छ त्यति प्रतिशत भए पुग्ने गरि ब्यबस्था गरिदिएपछि सबैलाई हाइसन्चो भएको देखियो।

लरर्र परेको बाक्लो दाल देखेपछि जिब्रोमा सरर्र पानी बगाएर जुन छान्यो त्यही मन्त्रालय कतै नजाने र छानेको बाहेक अर्को झुरेझारे मन्त्रालय नखाने एकिन गरेपछि मात्रै प्रतिशत पुर्‍याएर दल टुक्याउँदै गठबन्धनको पक्षमा भोट दिएर मनग्गे नोट कमाउने पबित्र सोच सहित डेरा सरेको कार्यलाई जनताले ज्यादै ठूलो जनहितको कामको रुपमा मूल्यांकन गरेको पाइएको छ।

दल फुटाएको पनि जनताकै लागि हो, दायाँबायाँ कतै नहेरी मन्त्री पदलाई मात्रै अर्जुन दृष्टी गरेर गठबन्धनको पक्षमा अमूल्य भोट हालेको पनि जनताकै लागि हो, सरकारको हनिमुन अबधी सकिन लागिसक्दापनि सरकार बिस्तार गर्न नसकेको पनि जनताकै लागि हो।

यत्रो अबधीसम्म सरकार प्रधानले झण्डै दुइ दर्जन मन्त्रालयको भार एक्लै बोकेर भएपनि जनतालाई मार पर्न नदिइकन सबै झमेलाबाट पार लगाउने अठोटकासाथ अति जोडदार रुपमा काम गरिरहेकोपनि जनताकै लागि हो। यस्ता सक्षमलाई लाज पचेको नकचरो भन्न हुँदैन भन्ने जनताको भनाइ छ।

यिनै सरकार प्रधानले पहिले पहिले जनताको सुख सुबिधाको लागि इतिहासकै ठूलो मन्त्री मण्डल बनाएको भएपनि अहिले इतिहासकै सबैभन्दा सानो मन्त्रिमण्डलमार्फत जनतालाई त्यो भन्दा राम्रो सेवा दिने प्रतिबद्धता जनाएको देख्दा यसको लागि सरकार प्रधानले जनताको भलाईको लागि गठबन्धनका सबै हस्तिहरुलाई मनाएको भनेर जनता दंग परेका छन्।

यिनै सरकार प्रधानले पहिले पहिले जनताको सुख सुबिधाको लागि इतिहासकै ठूलो मन्त्री मण्डल बनाएको भएपनि अहिले इतिहासकै सबैभन्दा सानो मन्त्रिमण्डलमार्फत जनतालाई त्यो भन्दा राम्रो सेवा दिने प्रतिबद्धता जनाएको देख्दा यसको लागि सरकार प्रधानले जनताको भलाईको लागि गठबन्धनका सबै हस्तिहरुलाई मनाएको भनेर जनता दंग परेका छन्।

हुन पनि कुरा ठिकै हो। गठबन्धनमा भएका दलका नाइकेहरुले आफ्नो दलबाट मन्त्री खान र मन्त्रिमण्डलमा जान इच्छुकहरुको सूची तयार गर्न खोज्दा भएजति सबैले जनताको सेवा बाहेक अरु कुनै स्वार्थ नराखी मन्त्री बन्न प्रबल इच्छा राखेको देख्दा आफ्ना सांसदहरु प्रति ज्यादै कृतज्ञ र भावविह्वल हुँदै सबैलाई मन्त्री पद दिलाउने काम नगरे निकट भविष्यमा दलबाट आफैं बिलाउने सम्भावनालाई मध्यनजर राख्दै टाक्कटुक्क पारेर सबैको मुख सिलाउने थामथुमे नीतिका साथ काम चलाउने प्रयास गरेकोमा पनि लाज पचेका नकचरा भनिहाल्न अलि नमिल्ने देखिन्छ।

मन्त्री हुन र त्यसको आडमा चाहेजति नगदको गड्डी छुन नपाए धुरुधुरु रुन अगाडि सर्ने देखि लिएर आत्महत्या गरेर मर्ने सम्मका घुर्की र धम्की आइसकेको अनि आफ्नालाई मात्रै मन्त्री बनाउँदा बिस प्रतिशतको प्राबधानले दलहरु अझ सानो साइजमा टुक्रिने डरले अध्यादेश खारेज नभएसम्म मन्त्रीहरुको नाम पेश गर्न नसक्ने ज्यादै बेश तर्क दिँदै बल्लतल्ल फेस जोगाएर आफैं मन्त्रीको रेशमा भाग लिने सोच भएका शिर्ष नेताहरुलाई कहाँ पुगेपछि ठेस लागेर पछारिने भन्ने पिरले पिरोलिएको देख्दा कठै भन्न कोहि अघि सर्लान् जस्तो छैन।

जतिसुकै शिर्ष नेतृत्व भनेर फूलेजस्तो देखिएपनि दलमा सन्तुलन मिलाउन नसकेपनि नगद खेलाउने लोभले हात चिलाउन नछोडेको हुनाले ठोस निर्णय गर्ने होश चाहिँ कहिल्यै नआउने हो कि भनेर शंका गर्नेहरुलाई कसैले सम्झाइदिए हुन्थ्यो कि भन्ने चाहना राख्नु नेताहरुको नैसर्गिक अधिकार नै हो।

मन्त्री नखाइ नछोड्ने र जस्तै समस्या आइपरेपनि आफ्नो त्यति राम्रो जनवादी विचारलाई अन्यत्र नमोड्ने अनि भित्र एकान्तमा शीर्ष नेताको पाउ परेर लम्पसार परेपनि बाहिर बाहिर मन्त्री खान कसैलाई हात नजोड्ने भन्दै ठुला कुरा गर्दै हिँड्नेमा मन्त्रीका सबै आकांक्षीहरु रहेका छन् भन्ने हल्लामा कुनै सत्यता नभएकोले जनताले पटक्कै पत्याएका छैनन्।

ज्यादै ठूलो मन्त्रिमण्डल भएपनि र ज्यादै सानो मन्त्रिमण्डल भएपनि कर तिर्ने र त्यसबापत प्रशासनिकदेखि लिएर सबैतिरको दुख र झन्झट भिर्ने बाहेक सरकारबाट अरु केही नपाउने जनतालाई जो आएपनि र जो गएपनि एउटै हो। साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखेजस्तो जनताले निकै वर्षसम्म एउटै अबस्था बेहोरि रहेका छन्।

यो भयो उ भयो र यो उ मन्त्रीको पदमा गयो उ यो मन्त्रीमा गयो भनेर समाचार सुन्ने बाहेक जनताले अरु केही गुन्ने काम नभएपनि भविष्यमा उसैलाई फेरि चुन्ने काम चाहिँ गर्नै पर्छ र यसरि नै पुस्तौँ पुस्ता मर्छ अनि नेताहरुको लागि चाहिँ चाहेजति माल झर्छ,कुनै पेशा व्यावसाय नगरिकन नेता कार्यकर्ताहरुको गर्जो टर्छ र नेताले जनतालाई यसैगरी देखाइ देखाइ हाकाहाकी नगदमा चर्छ।

त्यही भएर नै मन्त्रिमण्डल पूर्ण होस वा अपूर्ण रहोस् जनतालाई खासै चासो नभएकोले यसलाई जनताको नासो भने जसरी प्रचार प्रसार गरेर पासो थाप्नुलाई अलि हाँसो लाग्दो काम हो कि भन्न सकिन्छ। हालको परिप्रेक्ष्यमा यस्तालाई पनि लाज पचेका नकचरा भनिहाल्न अलि मिल्दैन।

ठूलो रुखको ओत लाग्दा गतिलो छहारी पाइन्छ भनेजस्तो नेताहरुको ओत लाग्दा बसिबसी मिठो खाइन्छ र मनले चिताएको ठाउँमा जाइन्छ भनेकोमा ठूलाको आशीर्वाद भएमा अब त ठूला ठूला तक्माहरु पनि लाइन्छ भन्नेपनि जनताले अहिले आएर थाहा पाए।

हरेक वर्ष बाँडिने पदक मान पदबी अलंकार आदिमा यस्तो हुनु र बितरण गर्न सक्नेले आफ्नालाई मजाले छुनु नौलो कुरा नभएकोले नपाउनेले कुरा काटेर रुनु बेकार छ। परापूर्बकाल देखि नै राष्ट्र सेवकको नाममा सत्ता र शक्ति सेबकहरुलाई निर्बाध बितरण भइरहेको अनि यसैगरी निरन्तर गइरहेको कार्यमा टिका टिप्पणी गर्नुको कुनै अर्थ छैन भन्ने बुझ्न पर्छ।

अघिपछिभन्दा यसपाली अलि फरक देखिएको हुनाले यस बारेमा बढी लेखिएको हो कि भन्ने जनताको धारणा पाइयो। तक्मा पाउने र त्यसमा नाम आउने केहीले तक्मा बहिष्कार गरेको देख्दा सबै छक्क परे। यत्रो सम्मान अस्विकार गर्न नहुने भनेर टिप्पणी गर्नेहरुलाई यस्ता आदर्शले नछुने भइसकेको अबस्थामा बहिष्कार गर्दा तक्मा पाउनेको भन्दा बहिष्कार गर्नेको बढि चर्चा भएको देख्दा यस्ताका समर्थक अझै निकै बाँकि रहेछन् भन्ने थाहा भयो।

सरकार प्रधान र गठबन्धनका शिर्ष नेताहरुले मन्त्रिमण्डल बिस्तार गर्न र सबै मन्त्रालयहरुमा मन्त्रीहरु भर्न नसकेपनि मिलीजुली सबैतिर चर्न मजाले जानेको हुनाले देशका समस्या आफसेआफ टर्न सकेका हुन्। दल फुटाउने अध्यादेश खारेज नगरी मन्त्रिमण्डल बिस्तार भएमा र मन्त्री नपाउनेहरु बिरोधमा गएमा थोरै प्रतिशतले दल फेरि फुट्ने पक्का भएको हुनाले यो समस्याको हल खोजेर मात्रै बिस्तार गर्न पर्नेमा सबै शिर्ष नेताहरु एकमत छन्।

सधैं यस्तै उस्तै गरेर जो डुल्दै तक्मा दिने ठाउँमा पुगेपनि आफन्तको नाम हुल्दै र वास्तबमा राष्ट्रको लागि योगदान दिनेहरुलाई भुल्दै आएको भनेर असन्तुष्ट र असक्षमहरुले आरोप लगाएको सुनिँदै आएको बिगत भएपनि यसपाली चाहिँ अलि फरक तरिकाले राष्ट्रिय अन्तर्राष्ट्रिय सेटिङद्वारा परमादेश गरी आफूहरुलाई सरकारमा पुर्याएर राष्ट्रको लागि प्रशंसनीय योगदान पुर्‍याएका , आफूलाई जन्माएर राष्ट्रकाे लागि ज्यादै ठूलो योगदान पुर्‍याएका, आफूले जन्माएर राष्ट्रका लागि अतुलनीय योगदान पुर्‍याएका, आफ्नो लागि छोराछोरी जन्माइ दिएर राष्ट्रको लागि भयंकर योगदान पुर्‍याउने, आफ्नो बारेमा राम्रा राम्रा समाचार र टिप्पणीहरु लेखेर राष्ट्रकाे लागि अति ठूलो योगदान पुर्‍याउने,आफ्नो लागि नगदको ब्यबस्था मिलाईदिएर राष्ट्रकोे लागि अति उल्लेखनीय योगदान पु र्‍याउने, ठूला ठूला ठेक्का हात पारेर केही काम नगरी बात मारेर मिलीजुली बजेट पचाउँदै राष्ट्रको लागि ज्यादै अनुकरणीय योगदान पुर्‍याउने, कालो सूचिमा परेर नाम र दाम कमाउन सफल हुँदै राष्ट्रको लागि अतुलनीय योगदान पु र्‍याउने आदि आदिले तक्मा पाउनेहरुको लिस्ट भरिएको र नांग्लोमा राखेर आफन्तमा तक्माहरु छरिएको हल्ला चलाउने बिरोधीहरुले पनि पहिले पहिले यस्तै गरेको र भविष्यमा अरुले गर्ने पनि यस्तै नै हो भनेर जनता ढुक्क परेको हुनाले यसलाई ठूलो बिषय बनाएर केही काम छैन।

यसमा जनताको ठूलो चिन्ता भनेको आफ्ना पितृहरुले पनि तिथीमा पुरोहितमार्फत अरुथोकको साटो पदक मान पदवी अलंकार आदि खोजिदिए भने कहाँबाट ल्याउने र तिथीको पितृ कार्य कसरी पूरा गरेर भ्याउने भन्ने मात्रै हो।

अरु त यस्तै हो चलिरहन्छ र सक्षमहरुको भाग्य यसैगरी फलिरहन्छ। स्वर्ग वा नर्कमा पनि अब तक्मा पाउने पितृ र तक्मा नपाउने पितृहरु बीच भेदभाव भएर इज्जत र प्रतिष्ठाको समस्या पर्ला अनि यसले गर्दा पितृहरुकोसमेत निद्रा हर्ला र त्यहाँपनि उहाँहरुको मर्यादा तल झर्ला भन्ने पिर त पर्ने नै भयो। उता पदकबाट बन्चित पितृहरुलाई लाज पचेका नकचरा भन्ने बात लगाइ देलान् र बसिरहेको ठाउँबाट त्यहाँको दुर्गमतिर भगाइ देलान् भन्ने डर पो भयो त।

सरकार प्रधान र गठबन्धनका शिर्ष नेताहरुले मन्त्रिमण्डल बिस्तार गर्न र सबै मन्त्रालयहरुमा मन्त्रीहरु भर्न नसकेपनि मिलीजुली सबैतिर चर्न मजाले जानेको हुनाले देशका समस्या आफसेआफ टर्न सकेका हुन्। दल फुटाउने अध्यादेश खारेज नगरी मन्त्रिमण्डल बिस्तार भएमा र मन्त्री नपाउनेहरु बिरोधमा गएमा थोरै प्रतिशतले दल फेरि फुट्ने पक्का भएको हुनाले यो समस्याको हल खोजेर मात्रै बिस्तार गर्न पर्नेमा सबै शिर्ष नेताहरु एकमत छन्।

पुरानो दलमा ज्यानै फालेर लाग्दापनि भनेको पद र सुबिधा नपाएपछि अनेक झेला गरेर ठूलो माछो फेला पार्न यता आएकाहरुलाई मन्त्री पद नपाएर हेला गरियो भने फेरि दल टुक्र्याएर नयाँ खेला देखाउन नजान्ने कोहि छैनन्।

देश र जनताको भलाईको लागि मन्त्रि नभइ नछोड्ने तिब्र इच्छाले राजनैतिक भबिष्य नै दाउमा राखेर दल बदल्दै हिँडेका माननीयहरुको घाउमा नुनचुक छर्किन नहुने मात्रै होइन उनिहरुलाई पुरानै दलमा फर्किन पनि दिन भएन।

मन्त्रिमण्डलको आजै बिस्तार हुन्छ, भोलि बिस्तार हुन्छ, यो बार हुन्छ यो गतेसम्म हुन्छ भनेर शिर्ष नेताहरुले भाका सारेको र मन्त्री हुने भनिएका माननीयहरुलाई बैना मारेको धेरै भइसक्दापनि धेरै स्वार्थहरु बाझेर झारामात्रै टारेको हुनाले उहाँहरुलाई अमूल्य भोट दिएर त्यहाँ पुर्याउने जनताले चाहिँ सबैतिरबाट हारेको हो कि भनेर हल्ला फिँजाउन खोज्नेहरुका कुरा सुन्न हुँदैन भन्ने जनतालाई राम्ररी थाहा भएपनि लाज पचेका नकचराहरुसित आजित भएका हुन् कि भनेजस्तो देखिन्छ।

मन्त्रिमण्डल बिस्तार हुन नसकेको हुनाले सरकार चलाउन नसक्ने र बिपक्षीहरुले बहिष्कार र बिरोध गरिरहेका हुनाले संसद चलाउन नसक्ने, दैनिक प्रशासन चलाउन नसक्ने, देशमा सरकारले चलाउन पर्ने सबैथोक चलाउन नसक्ने भनेर बिपक्षीले आरोप लगाउँदै र सरकार बिरोधीहरुलाई जगाउँदै आएपनि देशमा सबैथोक राम्ररी चलिरहेको र नेताहरुको लागि फल्न पर्ने चिजबिज राम्ररी फलिरहेको देखेर जनता ज्यादै सन्तुष्ट छन्।

सर्वोच्चमा ज्यान मुद्दा खेप्न र सभामुख भएर बिपक्षी माननीयहरुलाई हेप्न पाउने दोहोरो सुबिधा यहाँ बाहेक अन्य प्रजातान्त्रिक मुलुकमा सम्भव नभएकोले यसमा पनि हामी पहिलो नम्बरमा भएकोमा गिनिज रेकर्डको लागि पहल गर्ने निकाय सुतेर बसेको देख्दा हाम्रो स्तर अलि खसेको हो कि भन्नेहरुलाई केहि भन्न सकिन्न।

सभामुखले गुरिल्ला शैलीमा संसद संचालन गरेको र अर्थ मन्त्री गुरिल्ला शैलीमै रोष्ट्रममा देखा परेको भनेर बिरोधीहरुले भनेको सुन्दा जनतापनि हाँस्न बाध्य भएका छन्। आआफ्नो पृष्ठभूमी अनुसारको ब्यबहार त देखाउनै पर्यो नि। जे गर्न जानेको छ,जुन सिद्धान्तलाई मानेको छ, जुन दक्षता र क्षमताले आफूलाई जनताले छानेको छ अनि जुन शक्तिले आफूलाई त्यहाँसम्म तानेको छ त्यसको सोझो गर्नु त ठिकै हुनपर्ने हो।

सत्र हजार निर्दोषहरुको हत्याको आरोप लागेका स्वघोषित महान नेताका बिश्वास पात्रहरुले अलि अलि त्यसको जिम्मेवारी लिने र त्यसलाई मिल्दोजुल्दो ब्यबहारको झल्को दिने काम त गर्नै पर्‍याे नि। गुरिल्ला शैली भएकैले सभामुखको ज्यानमारा मुद्दा सर्बोच्च अदालतमा चलिरहेकोमा जनताले गर्व गर्नपर्छ।

सर्वोच्चमा ज्यान मुद्दा खेप्न र सभामुख भएर बिपक्षी माननीयहरुलाई हेप्न पाउने दोहोरो सुबिधा यहाँ बाहेक अन्य प्रजातान्त्रिक मुलुकमा सम्भव नभएकोले यसमा पनि हामी पहिलो नम्बरमा भएकोमा गिनिज रेकर्डको लागि पहल गर्ने निकाय सुतेर बसेको देख्दा हाम्रो स्तर अलि खसेको हो कि भन्नेहरुलाई केहि भन्न सकिन्न।

हजारौँ निर्दोषहरुको हत्या, सयौँ बैँकहरुमा डकैती,लाखौँ जनताका घरमा लुटपाट, हजारौँ बिघा र रोपनी घरजग्गा कब्जा, मनपरि न्याय निसाफ, बन्दुकको बलमा बन्यजन्तु जडिबुटी लागु औषध र बहुमूल्य बस्तुहरुको निर्बाध तस्करी, डर धम्की त्रास फैलाएर सबैतिर प्रभुत्व, अनेक तिकडम गरेर सत्तामा पुगेपछि आफू आफन्त र नजिककालाई मात्रै अबसर, क्षमता नभएपनि सबैतिर हालीमुहाली गर्न पर्ने आदि आदि देखिएको हुनाले त्यसको अगाडि सँसद भित्रको गुरिल्ला शैली त केहि पनि होइन भन्ने सबैले बुझिदिएर त्यसलाई भित्री मनबाटै आत्मसात गर्नपर्छ र यहि नै सबैभन्दा प्रजातान्त्रिक ब्यबहार हो भनेर बिश्वासमा पर्नपर्छ। लाज पचेका नकचरासित कसैको केही लाग्दैन भन्नेमा जनता पनि ढुक्क छन्।

सत्ताको मात चढेर कसैलाई मान्छे नगनेर चम्किँदा र मनलागे जसरी लम्किँदा दुइतिहाइ समर्थन सहितको सत्ताबाट खँगारिएका बालकोटे कामरेडको चुरिफुरी हेर्दा फेरि त्यस्तै सरकार गठन गर्न खासै दुरी नभएजस्तो देखिए पनि ठालु मानसिकता, कसैसित मिल्न नसक्ने बानी, सबैलाई समेटेर काम गर्न नसक्ने एकलकाँटे प्रबृत्ति, समन्वयात्मकताको कमी, अरुलाई ज्यादै होच्याएर बोल्न पर्ने आदत, आफूभन्दा जान्नेसुन्ने कोहि छैन भन्ने सोचाइ, कसैलाई बिश्वासमा लिन र महत्व दिन नसक्ने बेहोरा, सीमित कोटरीबाट प्रभाबित भएर काम गर्ने शैली, लोभानी पापानीमा माहिर,लाज शरम र घिन सबै पचाएर बोल्न हिँड्न सक्ने अद्भुत खुबी आदिको कारणले बालुवाटारबाट बाहिरिन परेपनि नचेतेको देख्दा जनता प्रभाबित भएका छन्।

जनताले त्यत्रो मौका दिँदापनि सदुपयोग गर्न नसकेर देश ब्यबस्था र पद्धतीलाई नै धरापमा पारेर र सबैथोकलाई निकै तल झारेर पनि अझै उही स्टाइलमा कुर्लिन र केके न गर्छु जस्तो गरी उर्लिन सक्नुलाई लाज पचेको नकचरो बाहेक अरु भन्न नसकिने जनताको राय रहेको हो कि जस्तो देखिन्छ।

यिनी र अहिले सबै छोडेर ठुलो भाग खान हिँडेका कोटेस्वरे कामरेड लगायत सबैकोे ढुलमुले नीतिले सरकार देखि अरु सबैको मिती चाँडो सकिने होकि जस्तो देखिएपनि संघीयदेखि प्रदेशसम्मका सरकार, संसद, पालिकाहरु, प्रशासन र अन्य सबैतिर यस्तै लाज पचेका र मिलीजुली खानपिन गरेर अहिलेसम्म सबैतिरबाट बचेका नकचराहरुको जमातबाट ज्यादै मजासित राज चलेको हुनाले अरु सबै क्षेत्र चाहिँ मजाले गलेको छ भन्ने जनताको गुनासो कसले सुन्ने हो थाहा छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *