सोह्र श्राद्ध : पितृ उद्धारकाे महान कार्य
पितृपक्षमा सोह्र श्राद्धको विशेष महत्त्व
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च।
प्रयच्छन्ति तथा राज्यं नृणां प्रीताः पितामहाः।।
आयुः पुत्रान् यशः स्वर्गं कीर्तिं पुष्टिं बलं श्रियम्।
पशून् सुखं धनं धान्यं प्राप्नुयां पितृपूजनात्।।
श्राद्ध गर्नेहरूले आयु, सन्तान, धन, विद्या, स्वर्ग र मोक्षको सुख पनि प्राप्त गर्दछन् यतिमात्र नभई यसै जीवनमा यश, कीर्ति , पुष्टि, धन, एैश्वर्य समेत त्यसलाई प्राप्त हुन्छ। शिवपुराण अनुसार भारद्वाज ऋषिका सातवटा छोराहरूको आचरण बिग्रँदा सप्तव्याधा भए।
तिनीहरूले गुरुकुलमा बसेका बेलामा गुरुका गाईहरू चराउन जंगलमा जाँदा ज्यादै भोक लागेकाले कान्छोे भाइले हुँदैन भन्दा भन्दै बाँकी छ भाइले गुरुको गाईको बाछो मारेर खान लाग्दा त्यही कान्छो भाइले खानै पर्छ भने श्राद्ध गरेर खाओ भने पछि अनि उनीहरूले त्यसै गरे।
त्यति श्राद्ध गरेको फलले ती सातै भाइ सप्तब्याधा भए। त्यसपछि मृग जुनी चखेवा, हाँस हुँदै पछि कुरुक्षेत्रमा ब्राह्मणकुलमा जन्मे। यसरी सात जन्म पछि तिनीहरू मोक्ष भए।
‘सप्तब्याधादशारण्य’ भन्ने शिवपुराण, मत्स्यपुराणको श्लोक नै श्राद्धको पुस्तकमा लेखिएको छ। यसर्थ श्राद्धको फल यस जन्मको सुख सम्पत्ति मात्र नभई परत्रमा स्वर्ग प्राप्ति र योग्य अधिकारी छ भने यसै जन्ममा ज्ञान प्राप्त गरी मोक्ष पनि हुन्छ। यो श्राद्ध गरेको फल हो।
चन्द्रमान अनुसार आश्विनकृष्णपक्षलाई पितृपक्ष भनिन्छ। आश्विन प्रतिपदादेखि लिएर औँसीसम्मको दिनलाई पितृपक्ष भनिन्छ। यस पक्षमा प्रतिपदादेखि औँसीसम्म प्रत्येक दिन श्राद्ध गर्नुपर्छ। यसकारण सोह्रश्राद्ध पनि भनिन्छ।
श्राद्ध भनेको श्रद्धापूर्वक आफ्ना पितृप्रति आदरभाव, श्रद्धाभाव प्रकट गरी पिण्डदान तर्पण गर्ने दिनलाई श्राद्ध भनिन्छ। सोह्र दिनमा श्राद्ध गर्नुपर्ने त्यसका तीनवटा पक्ष छन्। तिथि वृद्धि भएमा वृद्धि भएको तिथिमा समेत श्राद्ध गर्नु पर्दछ। तिथि क्षय भएमा घटि नै श्राद्ध गर्नुपर्छ भन्ने एउटा पक्ष छ।
भाद्रशुक्ल पूर्णिमादेखि औँसीसम्म सोह्रदिन श्राद्ध गर्नुपर्दछ भन्ने दोस्रो पक्ष छ भने आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्म सोह्रदिन श्राद्ध गर्नुपर्छ भन्ने तस्रो पक्ष छ। यसमा सक्नेले सोह्रदिन नै श्राद्ध गर्नुपर्छ नसक्नेले पञ्चमीदेखि औंसीसम्म, त्यो नसक्नेले अष्टमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म श्राद्ध गर्नुपर्छ।
त्यसमा पनि नसक्नेले पितृपक्षभरिमा एकदिन मुख्य रूपमा बाबुको मृत तिथिमा श्राद्ध गर्नुपर्दछ। यो श्राद्धका विषयमा यजुर्वेदीहरूले विशेष गरेर मध्यान्हको समयमा एकोद्दिष्ट श्राद्ध र अपरान्हको समय पार्वणश्राद्ध गर्नुपर्दछ। स्मृतिमा पनि—
पूर्वान्हे दैविकं श्राद्धमपरान्हे तु पार्वणम् ।
एकोद्दिष्टन्तु मध्यान्हे प्रातर्वृद्धिनिमित्तकम् ।।
यसैगरी ऋग्वेदीहरूका लागि मुख्य श्राद्ध भनेको ब्राह्मण भोजन हो र सामवेदीहरूका लागि मुख्य श्राद्ध भनेको पिण्डदान पनि हो र ब्राह्मण भोजन पनि हो भनेर हाम्रा धर्मशास्त्रहरूमा उल्लेख भएको पाइन्छ।
विशेष गरी सोह्र श्राद्ध नगरीकन या पितृहरूलाई तर्पण नदिइकन देवी देवताको पूजा आराधना पनि पूर्णरूपमा सफल नहुने हुनाले पहिला सोह्रश्राद्ध त्यसपछि मात्र नवदुर्गापूजन अनुष्ठान गरिन्छ। श्राद्ध पनि धेरै प्रकारका छन् एकोद्दिष्टश्राद्ध, एकपार्वणश्राद्ध,महालयश्राद्ध, वृद्धिश्राद्ध, तीर्थश्राद्ध आदि श्राद्ध छन्।
यसरी नै पर्व र अष्टका आदि छयानब्बे प्रकारका श्राद्ध हुन्छन् भन्ने कुरा धर्मशास्त्रमा वर्णन गरिएको छ। श्राद्ध कसरी गर्ने? कुन–कुन समयमा गर्ने? यसको समय निर्धारण पनि धर्मशास्त्रले गरेको पाइन्छ। एकोद्दिष्टश्राद्ध मध्यान्हमा गर्नुपर्छ। एकपार्वणश्राद्ध अपरान्हमा गर्नुपर्छ।
महालयश्राद्ध पनि अपरान्हमा गर्नुपर्छ। वृद्धिश्राद्ध प्रातःकालमा गर्नुपर्छ। तीर्थश्राद्ध सायंकाल बाहेक जुन समयमा तीर्थमा पुगिन्छ त्यही समयमा श्राद्ध गर्नुपर्छ। कुनै ब्रह्ज्ञानी महापुरुष घरमा आएको दिन नै सबै भन्दा पवित्र र उत्तम दिन भएकाले तिथि नक्षत्र हेरिरहनु पर्दैन त्यो दिन गरेको श्राद्ध तर्पणले सम्पूर्ण पितृहरू सन्तुष्ट हुन्छन् भन्ने कुरा पनि शास्त्रमा उल्लेख छ।
विशेष गरेर महालय श्राद्धमा पितृकुलका तीन पुस्ता र मातृकुलका तीन पुस्ता सासु ,ससुरा, गुरुलाई विशेष स–सम्मान रूपमा श्राद्ध गर्नु पर्दछ। सकेसम्म यो श्राद्ध घरमा नै गर्नु उत्तम मानिएको छ । भविष्यपुराण अनुसार—
गृहस्थस्य क्रियाः सर्वा न सिध्यन्ति गृहं विना।
यतस्तस्माद्गृहारम्भ……………..।।
परगेहे कृताः सर्वा श्रौतस्मार्तक्रियाः शुभाः ।
निष्फला स्युर्यतस्तासां भूमीशः फलमश्नुते ।।
अर्थात् गृहस्थीहरूले आफ्ना सम्पूर्ण देव पितृकार्यहरू आफ्नै घरजमिनमा गर्नुपर्दछ अर्काका नाममा रहेका घरजमिनमा गरेका श्रौतस्मार्त कर्महरू निष्फल हुन्छन् भन्ने हो। यदि घरबाट बाहिर जानुपर्ने अवस्था भयो भने र आफ्नो घर जग्गा छैन भने त्यस्ताले तीर्थमा, नदी किनारमा अपरान्हको समय पारेर श्राद्ध गर्नु भनिएको छ। श्राद्ध गर्दा पिण्डदानको विशेष महत्त्व रहेको पाइन्छ।
पिण्ड भनेको चिन्ह हो। ‘यत् ब्रह्माण्डे तत् पिण्डे ’ अर्थात् ब्रह्माण्डमा जे जति वस्तु छन् ती सम्पूर्ण हाम्रो शरीरमा छन्। तीनै ब्रह्माण्डका सम्पूर्ण स्वरूपको अवयव नै शरीर हो। त्यसैले शरीर छुटेपछि त्यो शरीरको चिन्हको रूपमा पिण्ड बनाउने गरिन्छ। पिण्ड बनाइसकेपछि विशेष गरेर पितृहरूलाई आह्वान गरेर त्यो पिण्डमा तील, जल अर्पण गरिन्छ।
पिण्ड दिँदाखेरी के–के गर्नुपर्छ र पिण्डदान कसरी दिनुपर्छ भन्ने विषयमा पितृहरूको नाम, गोत्र, आदि उच्चारण गरेर मन्त्रहरूको उच्चारण गरेर श्रद्धापूर्वक पिण्डदान दिने गरिन्छ ।के हामीले दिएको पिण्ड पितृहरूले पाउँछन् त? अवश्य पाउँछन् यदि हाम्रा पितृहरू मुक्त भइसकेका छन् भने उनीहरूले ‘तस्यान्नममृतं भूत्वा’ देव योनिमा गएका छन् भने अमृततत्त्व भएर उनीहरूले प्राप्त गर्दछन्।
त्यसैगरी ‘गान्धर्वी भोगरूपेण पशुत्वेऽपि तृणं भवेत्।’ यदि गन्धर्व भएका छन् भने उनीहरूले भोग रूपमा पाउँछन्। पशुरूपमा गएका छन् भने घाँसको रूपमा प्राप्त गर्दछन्। यसरी पितृहरूले जस्तो जस्तो रूपमा पुनर्जन्म लिन्छन् त्यस्तै त्यस्तै रूपमा हामीले श्राद्धमा अर्पण गरेका वस्तुहरू पितृहरूले प्राप्त गर्न सक्दछन्।
यसैगरी श्राद्धमा तर्पणको विशेष महत्त्व रहेको पाइन्छ । तृप् धातुबाट तर्पण शब्द बन्दछ। जसको अर्थ हुन्छ सन्तुष्ट पार्नु अथवा तुष्ट पार्नु आफ्ना पितृहरूलाई लक्षित गरेर जुन जलाञ्जली दिइन्छ यसलाई तर्पण भनिन्छ। जसमा जौ, तील र कुश मिलाएर पितृहरूलाई जलको अर्पण गर्नु नै तर्पण हो। तर्पणको प्रमुख उद्देश्य भनेको पितृको तृप्ति नै हो।
जसरी हामीले अन्नको अपेक्षा गर्दछौँ। जलको अपेक्षा गर्दछौँ। त्यसरी नै हाम्रा पितृहरूले पनि जति पिण्डको अपेक्षा गर्दछन् त्यति नै जलको अपेक्षा गर्दछन्। यसकारण पितृलाई तर्पण दिनाले तर्पण गर्ने व्यक्तिको तेजको वृद्धि हुन्छ, धन वृद्धि हुन्छ, यश वृद्धि हुन्छ, बुद्धिको विकाश हुन्छ भनेर शास्त्रमा पाइन्छ।
श्राद्धमा देवतालाई, ऋषिलाई र पितृलाई तर्पण दिइन्छ। देवतर्पण, ऋषितर्पण, दिव्यमानवतर्पण, दिव्यपितृतर्पण, यमतर्पण,मनुष्यपितृतर्पण गरी श्राद्धमा यी छ प्रकारका तर्पण दिने विधि धर्मशास्त्रमा उल्लेख पाइन्छ।
तर्पणमा कस्तो प्रकारको जल अर्पण गर्नुहुदैन भन्ने विषयमा ब्रह्माण्डपुराण यसरी बताइएको पाइन्छ। दुर्गन्धित जल, फिँज आएको जल, नुनिलो जल, धमिलो जल, धेरै गहिरो खाडलमा धेरै लामो समयदेखि जमेको जल, जुन जलमा गोमाता तृप्ति हुदिनन् त्यस्तो जलले पितृलाई तर्पण गर्नु हुदैन भनिएको छ।
यसैगरी श्राद्धका दिनमा मही नतुल्याउनु, नङ नकाट्नु, नाचगान नगर्नु, दाउरा नकाट्नु, कपाल नकाट्नु, दिउँसो नसुत्नु आदि काम नगर्नु भनेर शास्त्रले बताएको छ।
श्राद्धको अघिल्लो दिनदेखि हविस्यान्न खाने भाव दूषित वासी नखाने, भण्टा, गाजर, वैगुन मुसुरोको दाल, रहरको दाल,लौका वीरेनुन, हीङ, प्याज, लसुन, जामुन, कोदो, तीतेफापर, गोलभेडा सुपारी आदि पदार्थलाई शास्त्रले खान निषेध गरेको छ। यो पितृपक्षमा घरको जग राख्ने, वैवाहिक कार्य, सवारी साधन किनवेच गर्ने, खेतबारी जोत्ने जस्ता कुनै पनि नयाँ कामको थालनी गर्न पनि निषेध गरेको पाइन्छ।
श्राद्धको तिथि परिवर्तन गर्नुहुदैन भन्ने शास्त्र वचन रहेको पाइन्छ कारणवश कुनैबेला जूठो सूतक आदिका कारणले श्राद्धको तिथि परिवर्त हुँदा दोष लाग्दैन। कसैलाई आफ्नो पितृको तिथि थाहा भएन आमा बुबा चाँडै नै बित्नु भएको छ भने तिथि थाहा नभएको अवस्थामा पञ्चमी अष्टमी, द्वादशी, आँैसीमा श्राद्ध गर्नुपर्दछ।
जसको विवाह नगरी मृत्यु भएको भने सोह्रश्राद्धको पञ्चमी तिथिलाई कुमार पञ्चमी भनिएको छ यही पञ्चमी तिथिमा श्राद्ध गर्नु। मातृकुल अथवा कुलका माताको उद्धार गर्न खोजिएको छ भने नवमी तिथिलाई मातृनवमी भनिन्छ। यही तिथिमा श्राद्ध गर्नु।
अकाल मृत्यु हुनेका लागि चतुर्दशीमा श्राद्ध गर्नु। मावलीतर्फ को कोही छैन भने मावलीतर्फका लागि प्रतिपदामा श्राद्ध गर्नुपर्छ भनेर शास्त्रले बताएको छ। श्राद्धमा चाहिने सात मुख्य वस्तुहरूः गंगाजल, दूध,मह,तोरीको साग, छोरीको छोरा, तील कुश आदि हुन् । यदि श्राद्धका समयमा विदेशमा भएको बेलामा के गर्ने त भन्दा नदी, तलाउ, वृक्षका फेदमा गएर दुबै हात माथि उठाएर प्राश्चित्त गर्दै दक्षिणाभिमुख गरी निम्न श्लोक पाठ गर्नुपर्दछ :
न मेऽस्ति वित्तं न धनं च नान्य—
च्छ्राद्धोपयोग्यं स्वपितृन्नतोऽस्मि ।
तृप्यन्तु भक्त्या पितरो मयैतो
कृतौ भुजौ वत्र्मनि मारुतस्य ।। विष्णुपुराण । ३ । १५। ३० ।
।। इति ।।
Facebook Comment