दशौं शताब्दीमा बनेको शिवको मूर्ति अमेरिकाबाट नेपाललाई फिर्ता

वासिंगटन डिसी । अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टले दशौं शताब्दीमा निर्मित भगवान शिवको एउटा मूर्ति नेपाल सरकारलाई फिर्ता गरेको छ । सो मूर्ति नेपालको कंकेश्वरी मन्दिरबाट चोरिएको थियो।
सेप्टेम्बर २९ तारिक बुधबार एक कार्यक्रमको आयोजना गरी सो पुरातात्विक महत्वको मूर्तिलाई संग्रहालयले नेपाल सरकारको न्यूयोर्कस्थित महावाणिज्यदूतावासलाई हस्तान्तरण गरेको छ।
हस्तान्तरणसम्बन्धी कागजातमा नेपाल सरकारका तर्फबाट निमित्त महावाणिज्यदूत विष्णुप्रसाद गौतम र संग्रहालयका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ड्यानियल एच वाइसले हस्ताक्षर गरेका छन्।
सन् १९९५ देखि सो मूर्ति न्यूयोर्कको सो संग्रहालयमा राखिएको थियो । नेपालका प्रसिद्ध इतिहासकार स्वर्गीय लैनसिंह बाङ्गदेलले सो मूर्तिबारे आफ्नो पुस्तकमा खुलासा गरेका थिए। मूर्तिमा भगवान शिव आफ्नो कैलाशस्थित वासस्थानमा आफ्ना केही भक्त वा सहयोगीसंग बसेका छन्। ढुंगामा खोपिएको पुरातात्विक सो मूर्ति कसरी चोरियो ? कस्ले चोर्यो भन्ने चाहिं अझैसम्म खुलेको छैन।
तर, नेपालका पुरातात्विक महत्वका मूर्तिहरु बर्षौंअघि हराएकोबारे बाङ्गदेल लगायतका अनुसन्धानकर्ताहरुले खुलासा गर्दै आएका थिए । यसैक्रममा अमेरिकाका विभिन्न संग्रहालयमा आइपुगेका मध्ये केही अति महत्वपूर्ण पूरा तात्विक महत्वका मूर्तिहरु अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ।
यसबर्षमात्रै केही यस्ता मूर्तिहरु फिर्ता भइसकेका छन् । अमेरिकाबाट फिर्ता गरिएकामा पछिल्लो मूर्ति कंकेश्वरी मन्दिरमा रहेका शिवको मूर्ति हो।
मूर्ति फिर्ता गरेकोमा नेपाल सरकारका तर्फबाट महावाणिज्यदूत गौतमले संग्रहालयका अध्यक्ष, संरक्षकहरु र व्यबस्थापनप्रति कृतज्ञता ज्ञापन गरेको महावाणिज्यदूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा मूर्ति फिर्ता गरेकोबारे बोल्दै संग्रहालयका अध्यक्ष वाइसले सांस्कृतिक सम्पदाको संरक्षण कार्यमा अमेरिका र नेपालका बीचको सहकार्य अझै अभिबृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
Facebook Comment