व्यंग्य : भविष्यका शासक
‘तपाईँ त गाउँमा बिरामी भएर हेलिकप्टरमा पो आउनु भएको रहेछ। यहाँका मानिसहरुले तपाईंको निकै कुरा गरेको सुनेँ। तपाईंका छोरा बुहारीहरु पनि ज्यादै बेश रहेछन्। तपाईंको खुब हेरबिचार गर्ने रहेछन्। हेलिकप्टर त निकै महँगो होला। आफ्नै खर्चमा हो कि सरकारी खर्चमा हो दाइ?’ भित्तामा अढेस लगाएर पल्लो बेडमा सुतिरहेको बुढो मान्छेले मकर बहादुरलाई सोधे ।
‘के को सरकारी खर्चमा हुन्थ्यो। छोराहरुले गरे होलान् खर्च। कति पर्याे र कसले खर्च गर्याे भन्ने मलाई के थाहा? म त गाउँमा ओछ्यान परेँ र अब बाँचिन्न भन्ने बिचार गरेँ। यताबाट छोराहरुले के के गरे, गाउँमा हेलिकप्टर आयो र मलाई त्यसैमा हालेर ल्याए। ठाउँमा आइपुगेपछि ओखतीमुलो राम्रो भयो र काल टरेर गयो। भोग पुगेको रहेनछ र बाँचियो भन्न पर्यो।’ झ्याल पट्टी अढेस लगाएर ओठको र्याल पुछ्दै मकर बहादुरले भने।
‘सबै भगवानको कृपा हो दाइ। छोराहरु गतिला भएका हुनाले उति टाढादेखि हेलिकप्टरमा हालेर ल्याएर भएपनि बचाए। उस्तै मान्छेको भए के लाग्थ्यो र? तातोपानी पिउने र झारफुकको भरमा जिउने बाहेक अरु उपाय हुने थिएन। त्यस्ता छोराहरु भएपछि कालले पनि केहि लछार्न र बेला नआइकन पछार्न नसक्ने रहेछ भन्ने भनाइ सहि रहेछ भन्ने लाग्यो है मलाई त।’ बुढाले फेरि थपे।
‘आफ्नो भाग भोग नसकिएकोले सबै कुरो मिलेको हो। आफ्नो लेखान्त कति छ त्यो पूरा नभएसम्म केही नहुने रहेछ। मैले त यसपाली बाँच्छु भन्ने सोचेकै थिइनँ। सपना पनि त्यस्तै त्यस्तै देख्न थालिसकेको थिएँ। दुर्गम गाउँमा उपचारको सुबिधा पनि के नै हुन्छ र? औषधि डाक्टर अरु स्वास्थ्य सुबिधा भन्ने कुरो सुनिने मात्रै हो । बिरामी हुँदा औषधि खाइने त के कुरा देख्न पनि पाइने होइन।’ अलि दिक्क मानेजस्तो गरेर मकर बहादुरले भने।
उनीहरुका कुरा सुन्दा मलार्ई त सपना जस्तो लाग्छ। तारे होटल भन्दा तल खानपिन र उठबस नै छैन। ब्यायाम गर्न पनि पाँचतारे होटलको जिमखानामा जान्छन्। नातिनातिना सबै बिदेशमा पढ्छन् । कतिलार्ई खुवाएका छन्,कतिलार्ई पिलाएका छन्,कतिलार्ई के के दिलाएका छन् भन्ने केहि थाहा छैन। त्यती पढेलेखेका नभएपनि मेरा दुइटा छोराहरुले ठूलो उन्नति गरेका छन् र आफू लगायत धेरैको भुँडी भरेका छन्।
‘म त यतै बस्छु। सरकारले गाउँघर र दुर्गममा सबै किसिमको उपचार सित्तैमा गर्ने ब्यबस्था मिलाएको र कतैपनि कुनै भेदभाव नगरिकन सबैलाई यो सुबिधा दिलाएको छ रे भन्ने बारेमा पत्र पत्रिका रेडियो टेलिभिजन आदिबाट समाचार आइरहेका र सबैले थाहा पाइरहेका हुन्छन्। तपाईँले त अर्कै कुरा गर्नु भयो। तपाईंको तिर कसरी यो सुबिधा नपुगेको हो? मलाई त अचम्म लाग्यो। सरकारले त दुर्गमतिर स्वास्थ्य क्षेत्रमा धेरै पो गरेको र अझ थप गर्न अघि सरेको छ रे भनेर भाषण सुन्दा सुन्दा हामीलार्ई त यता भन्दा उता पो राम्रो स्वास्थ्य उपचार सुबिधा उपलब्ध होला भनेजस्तो लागेको थियो। अब चाहिँ तपाईंको कुरा पत्याउने कि भाषण गर्ने नेताहरुको कुरा पत्याउने भनेर दोधारमा परियो र पत्ता लगाउनै पर्ने हो कि भन्ने बिचार गरियो। दुर्गमका बिरामीहरुलार्ई त उपचारको लागि सरकारले निशुल्क हेलिकप्टरबाट ल्याउने निर्णय गरेकोले आउँदो चुनावमा पनि भ्याउने भयो भनेर प्रतिपक्षीहरुको अहिलेदेखि होश उडिसक्यो रे भन्ने बजार हल्ला निकै अघिदेखि सुनिँदै आएको छ। के हो के हो?’ हातले समेत अलमलिएको इशारा गर्दै पल्लो बेडका बिरामीले भने।
‘भाषणमा त हामीले पनि सुनेका सुन्यै छौँ। भाषण सुन्दा त्यस्तो छ। गाउँमा पैसा तिरेर किनेर खान्छु भनेर खोज्दा पनि एक चक्की सिटामोल मात्रै पाएमा पनि आफूलार्ई साह्रै लक्की सम्झन पर्ने अबस्था छ। भएका सुबिधाहरु पनि घट्दै गएका र कर मात्रै थप भएका हुन् कि जस्तो पो छ त उतातिर।’ दिक्क मानेजस्तो र निकै जानेजस्तो गरेर मकर बहादुरले भने।
मकर बहादुर दुर्गम गाउँका ठिकै खाले किसान हुन्। आफूलार्ई खानलाउन पुग्ने खेतीपाती छ। सबै छोराछोरीहरुको बिहेवारी भइसक्यो। केही बर्ष पहिले बुढी पनि बितिन्। सबै छोराछोरीहरु शहरमै बस्छन्। कोही बिदेशतिर पनि गएका छन्। गाउँमा खेती कमाइ गरिदिने कोही नभएकोले आर्थिक रुपमा अलि कमजोर एउटा भतिजो पर्ने लार्ई परिवारसहित आफूसँगै घरमा राखेका छन्। खेती पनि उनीहरुले नै गर्छन्। मकर बहादुरलार्ई खुवाउने पिलाउने काम पनि उनीहरुले नै गर्छन्।
खेतीको आयस्ता पनि खासै खोज्दैनन् मकर बहादुरले। छोराछोरीहरु सबै यतै भएपनि उनलार्ई चाहिँ गाउँमै रमाइलो लाग्छ। टाढा भएकोले त्यति आउजाउ पनि गर्दैनन्। शहरमै बस्न छोराछोरीहरुले कर गरेपनि अलि दिन बसेपछि उनलार्ई उकुस मुकुस भएर टिक्नै सक्दैनन् र यताउता गरेर हिँडिहाल्छन्।
सानोतिनो बिरामी हुँदा गाउँतिरकै जडिबुटीले काम चलाउने गरेका भएपनि यसपाली चाहिँ सिकिस्तै भएर जाने नै जस्तो भइसकेको हुनाले छोराहरुले भाडामा हेलिकप्टरको ब्यवस्था मिलाएर नल्याएको भए यिनको अबस्था यसै भन्न सकिने खालको थिएन। पन्ध्र दिन जति अस्पताल बसेर उपचार गरेपछि यिनलार्ई ठिक भएको छ । अब एकदुइ दिनमा त डिस्चार्ज पनि हुन्छन् होला। त्यति दुर्गम गाउँका किसानको हेलिकप्टरमा आएर यति महँगो अस्पतालमा उपचार भइरहेको देखेर कुरा नबुझेकाहरु भने जिब्रो टोक्छन्।
‘तपाईंका छोराहरु चाहिँ के गर्छन नि दाइ?’ फेरि तिनै बुढाले सोधे।
‘जेठो छोरो मास्टर छ। माहिलो ब्यापार गर्छ। साँहिलो बिदेशतिर छ। उसको पनि राम्रै छ भन्ने सुनेको छु देखेको चाहिँ छैन। कान्छो छोरो पनि माहिलोको ब्यापारमा सहयोग गर्छ। छोरीहरु पनि राम्रै ठाउँमा परेका छन्। यसो हेर्दा सबैको राम्रै छ। छोराछोरीहरुबाट चाहिँ मलार्ई सन्तोषै छ।’ भने मकर बहादुरले।
‘सबैले राम्रै पढेका होलान् नि हैन त दाइ?’ बुढाले फेरि सोधे।
‘जेठाले मास्टर्स गरेको छ। उ चाहिँ सानै देखि पढ्नमा ज्यादै तेजिलो। मान्छे पनि सोझो। पढ्न बाहेक अन्त ध्यानै दिएन। असाध्य मेहनत गरेर पढ्यो। बिद्यालय तहसम्म गाउँमै पढ्यो। त्यो भन्दा माथिको पढाइ गाउँमा थिएन। त्यसपछि शहरमा आएर काम गर्दै पढ्दै गरेर मास्टर्स पास गरेर सरकारी स्कूलको मास्टर भएको हो। अहिले पनि मास्टरै छ। बुहारी पनि मास्टर नै हो। दुबै मिलेर गुजारा गरेका र यसैमा सन्तोष गरेर दंग परेका छन्। एउटा सानो बासपनि बनाएका छन। तलब ट्यूसन आदि गरेर राम्रै हुन्छ रे। मेरो जेठो छोरो सह्रै इमानदार पनि छ। ढाँट छल बेइमानी केही छैन र स्कूलमा पनि राम्रो मास्टरमा पर्छ रे। सबैले उसको इज्जत पनि गर्छन्।’ भनेर मकर बहादुर चुप लागे।
‘अनि माहिलो नि?’ पल्लो बेडका बुढाले सोधे।
‘तेजिलो छ मेरो माहिलो छोरो। पढाइ त ठिकै हो। बिद्यालय तहसम्म गाउँमै पढ्यो। त्यो भन्दा बढी पढ्न पनि सकेन। सानै देखि अलि झगडिया स्वभाबको,जिद्दी,लप्पन छप्पन पनि गर्न सक्ने, केही किन्न पठायो भने मेरै पनि नाफा खाइ दिइ हाल्ने, फट्याइँ गर्नमा पनि पछि नपर्ने, दुई बिषयमा फेल नभइकन त कहिल्यै कक्षा पनि चढेन। यनतेन दश कक्षासम्म त पुगेको हो त्यसपछि चाहिँ उसको पढाइ अगाडि बढ्न सकेन। त्यसपछि सानोतिनो काम गरेर यतै पढाउन भनेर दाजुले शहरमा लिएर आयो। यहाँ आएपछि त के गर्यो के,पैसा चाहिँ मजाले कमायो र भन्नै पर्दा सबै कुरामा मजैले खुट्टा जमायो। अहिले उसले लगानी नगरेको क्षेत्र र सहयोग नगरेको ठूलाबडा कोही पनि छैन भनेपनि हुन्छ।’ निकै गर्वका साथ मकर बहादुरले भने।
‘भनेपछि तपाईंको माहिलो छोरो त तगडा रहेछ। अनि अरु दुईजना नि।’ फेरि सोधे तिनै बुढाले।
‘साँहिलो चाहिँ बिदेश गएको उतै छ। त्यो पनि मान्छे सोझो छ। मेहनती छ। जानेसम्म भेटेसम्म सबैलार्ई मद्दत गर्छ। पढाइमा पनि राम्रो हो। स्कूलमा सँधैं पहिला दोश्रा हुन्थ्यो। यता भनेजस्तो जागिर पनि पाएन भनौँ कि खाएन भनौँ। सोझो मान्छे कुनै पार्टीतिर पनि लागेन। खाली आफ्नो पढाइमा मात्रै ध्यान दियो। फट्याइँ लुच्याइँ लप्पनछप्पन जालझेल गुटबन्दी आदि केही गर्न नजान्ने भएकोले यहाँ त बिक्नै पनि सकेन र टिक्नै पनि सकेन। अनि के के मिलाएर बिदेशतिर लाग्यो। उता चाहिँ राम्रो गरेको छ। योग्यता अनुसारको काम र त्यही अनुसारको माम पाएको छ। यहाँ योग्यताको कदर हुँदै नहुने वाताबरण छ रे भन्छ। खोइ किन त्यसो भन्यो म त कुरा पनि बुझ्दिन। राम्रो पढे लेखेको र इमान्दार मान्छेले यहाँ कतैपनि केही मौका पाउँदैन। पार्टीको झोला बोकेर जति धेरै फट्याइँ गर्न सक्यो उति ठूलो मौका पाइने र मन लागे अनुसार खाइने हुनाले यता फर्किने काम गर्दिन भन्छ। उतै रमाएको जस्तो देखिए पनि बिदेश बस्नेका पिडा त सबैका उस्तै नै हुन नि।’ मकर बहादुरले भने।
‘अनि कान्छो?’ निकै चाख राखे जस्तो गरेर बुढाले सोधे।
‘कान्छो यतै छ। माहिलाको सहयोगी भएर हिँड्छ। पढाइ चाहिँ बिद्यालय स्तरसम्मकै हो। त्यो पनि मुस्किलले। तर मान्छे चाहिँ आँटिलो छ। काम बनाउन र काम पट्याउन राम्ररी जानेको हुनाले माहिलाले पनि यसले भबिष्यमा राम्रो गर्छ भनेर मानेको छ। दाजुहरुसित पनि बस्दैन। हाउजिङमा राम्रो घर बनाएर बसेको छ। जापानी गाडी चढेर हिँड्छ। चारपाँच आोटा त बुहारीहरु नै फेरि सक्यो। मान्छे अलि रमाइलो गर्न पर्ने रँगिन मिजासको पनि छ।’ मकर बहादुरले हाँस्दै भने। कान्छाको कुरा ति बुढाले पनि निकै घत मानेर सुने।
‘तपाईं शहरतिर आउँदा कहाँ बस्नु हुन्छ नि दाइ?’ बुढाले सोधे ।
‘जेठाकहाँ त्यति सुबिधा छैन। घर पनि साँघुरो साँघुरो नै छ। यताउता जान आउन गाडी पनि छैन। खानापिना पनि त्यस्तै उस्तै हो। लेखपढ बाहेक अरु कुरा पनि गर्दैनन्। त्यहाँ अलि असुबिधा नै छ। माहिला कान्छाकहाँ सबै सुबिधा छ। ठूला ठूला कोठा भएका घर छन्। सबै कोठाहरुमा अट्याच बाथरुम तातो चिसो पानीको ब्यवस्था छ। जे भन्यो जस्तो भन्यो त्यस्तै खान पाइन्छ। काम गर्ने मानिसहरुको कमी छैन। आउने जाने मानिसहरुको पनि भिडभाड लागिरहन्छ। त्यसैले समय बिताउन पनि सजिलो हुन्छ। जता जान परेपनि गाडी ड्राइभर चौबिसै घण्टा तयारी हालतमै हुन्छन्। भनेपछि म पनि उनीहरुका तिर नै बढी बस्छु। जेठासित माहिला र कान्छाको त्यति कुरा पनि मिल्दैन। जेठो आदर्श छाँट्छ उनीहरु समय अनुसार चल्न पर्छ भन्छन्। त्यही भएर यिनीहरुको त्यति आउजाउ पनि हुँदैन। उही म आएको बेला समय मिलाएर जेठो भेट्न आउँछ। अरु दुइटा ज्यादै ब्यस्त हुने हुनाले पनि भेटघाट नभएको हो।’ भनि सकेर थोरै पानी पिए मकर बहादुरले।
‘अनि तपाईं शहरतिर चाहिँ कतिको आउनु हुन्छ नि?’ कुरा सुनेर ट्वाल्ल पर्दै मकरबहादुरको मुख हेरेर वाल्ल परेका बुढाले फेरि सोधे।
‘वर्षमा दुइचार महिना दशैँ तिहार जस्ता चाडपर्बमा यतै बस्छु। त्यस बाहेक पनि अरु कुनै ठूलो कार्य भयो भने लिन पठाउँछन्। आउँछु बस्छु। तर धेरै जसो चाहिँ उतै बसिन्छ। गाउँमा पनि मान्छे छैनन्। उही आफ्नो जन्म थलो कर्म थलो भनेर छोड्न नसकेको मात्रै हो। बुढाखाडा धेरै जसो सिद्धिइ सके। अलिअलि भएका पनि छोराछोरीहरु सित शहर पसेका र यतै बसेका छन्। उहाँ त उही अन्यत्र जाने हैसियत नभएकाहरु मात्रै अलि अलि बाँकि छन्। उता भन्दा आफन्तहरु यतै बढी छन्। तैपनि आफ्नो ठाउँको मायाले बसेको हुँ। यसैगरी रोगले च्याप्दै लग्यो भने त जान पनि सकिन्न होला। अब हेरौँ के हुन्छ।’ अलि दिक्क माने जस्तो गरे मकर बहादुरले।
‘तपाईंका माहिला र कान्छा छोरा चाहिँ आँटिला र गर्न सक्ने बहादुर रहेछन् है। यति कलिलै उमेरमा यति धेरै कमाइ धमाइ गर्न सक्नु चानचुने कुरा होइन नि। यो बुढाले कति फतफत गरेर सोधेर हैरान पार्यो भनेर नभन्नु होला है दाइ। आफ्नै जस्तो लागेर सोधेको हुँ। अनि के काम गर्छन् उनीहरु?’ फेरि तिनै बुढाले सोधे।
‘किन त्यस्तो भन्थेँ र। मलार्ई पनि बोल्ने मान्छे नपाएर सारै एक्लो जस्तो भइरहेको बेलामा तपाईंसित बोल्न र मनको कुरा खोल्न पाउँदा रमाइलो लागेको छ। यिनीहरुले के काम गर्छन् भन्ने त मलार्ई पनि थाहा छैन। माहिलाले चाहिँ शहरमा आउनासाथ जग्गाको कारोबार गर्नेहरुको सहयोगी भएर काम गर्न थालेको हो रे। पहिले सानो तिनो कुल्ली काम गर्ने, जग्गा नाप्दा टेप समात्ने, किला ठोक्ने, ग्राहकहरुलार्ई जग्गा देखाउने, साँध सिमानामा केही कचिँगल परेमा मारमुङ्ग्री गरेर भएपनि मिलाउने, कमिसनको कुरो मिलाउने इत्यादि गर्दागर्दै आफैं ठूलो घरजग्गा कारोबारी हुन पुगेको हो रे। अहिले यो शहरको गिनेचुने घरजग्गा कारोबारीमा पर्छ। कति ठाउँमा प्लटिङ्ग,कति ठाउँमा हाउजिङ,कति ठाउँमा अपार्टमेन्ट,कति ठाउँमा फ्ल्याट,कति ठाउँमा सपिङ कम्प्लेक्स आदि चलाईरहेका छन्। कुनै साथीभाइहरुसित संयुक्त लगानीमा, कति ठाउँमा आफ्नो मात्रै एकल लगानीमा कारोबार गरेका छन् रे। ठूला बैँकहरु, ठूला स्कूलहरु, ठूला अस्पतालहरु, ठूला सहकारीहरु, ठूला निर्माण कम्पनी, ठूला सञ्चार गृहहरु, एयरलाईन्सहरु, ठूला म्यानपावर कम्पनी, ठूला क्रसर उद्योगहरु आदिमा पनि राम्रै लगानी गरेका छन रे। यो अस्पतालमा पनि उनीहरुको लगानी भएकोले मलार्ई जहिले पनि जँचाउन औषधि उपचार गर्न यहीँ ल्याउँछन्। उनीहरुको कारोबार ठूलो छ।’ निकै गर्वका साथ मकर बहादुरले सुनाए ।
‘भनेपछि तपाईं त यो अस्पतालको मालिक पो हुनु हुँदो रहेछ त दाइ। तपाईंका छोराहरुले यति छोटो समयमा यत्रो प्रगति गरेछन् । साह्रै ब्यस्त हुन्छन् होला बिचराहरु।’ बुढाले भने।
‘उनीहरुसित मेरो त त्यति भेट पनि हुँदैन। दिनमा धेरै ठाउँमा मिटिङ, भेटघाट,पार्टी खानपिन, बिभिन्न कार्यक्रमहरुमा अतिथि, कहिले बिदेश, कहिले स्वदेश भ्रमण र घुमफिर आदिले गर्दा उनीहरुलार्ई एकै मिनेट पनि फुर्सद हुँदैन। सबै पार्टीका मुख्य मुख्य नेताहरुले पनि त्यत्तिकै बोलाउँछन्। कहिले काहिँ त उनीहरु नै लुसुक्क घरमै भेट्न आइपुग्छन्। पार्टीका अरु नेता कार्यकर्ताहरु, माथिल्लो तहका कर्मचारीहरु, ठूला ठेकेदारहरु, ठूला ब्यबसायीहरु सबैजसो भेट्न आइराख्छन्। गत चुनावमा सबै मुख्य मुख्य दलहरुबाट टिकट लिइदिन पर्यो भने माहिलालार्ई धेरै कर पनि गरेका थिए रे। पछि सोचौँला भनेर टार्याे रे। उनीहरुका कुरा सुन्दा मलार्ई त सपना जस्तो लाग्छ। तारे होटल भन्दा तल खानपिन र उठबस नै छैन। ब्यायाम गर्न पनि पाँचतारे होटलको जिमखानामा जान्छन्। नातिनातिना सबै बिदेशमा पढ्छन् । कतिलार्ई खुवाएका छन्,कतिलार्ई पिलाएका छन्,कतिलार्ई के के दिलाएका छन् भन्ने केहि थाहा छैन। त्यती पढेलेखेका नभएपनि मेरा दुइटा छोराहरुले ठूलो उन्नति गरेका छन् र आफू लगायत धेरैको भुँडी भरेका छन्।’ कतै नरोकिइकन मकर बहादुरले भने।
‘मकर बहादुर दाइ। तपाईं हामीले त देख्न पाउँछौँ पाउँदैनौँ थाहा छैन। एउटा बुढाले भन्थ्यो भन्नु होला। तपाईंलार्ई अहिले देखिनै बधाइ छ। निकट भबिष्यमै तपाईंका माहिला र कान्छा छोराहरुले यो देशमा शासन चाहिँ गर्छन् गर्छन्। त्यसमा कुनै शँका छैन।’ बुढाले ढुक्कैसित भने।
‘खै, त्यस्तो त कसरी होला र?’ यसपाली चाहिँ मकर बहादुरले सोधे।
‘के कुरा गर्नुहुन्छ दाइ,उनिहरुको लक्षण नै त्यस्तै छ। एक पटक उउटा राम्रो ज्योतिषलार्ई देखाउनुस् । फरक परेछ भने मेरो मुखमा थुकिदिए पनि हुन्छ, लौ जा।’ निकै उत्तेजित भएर बुढा कुर्लिए । गमक्क परेर नबोलिकन बेडमा पल्टिए मकर बहादुर।
Facebook Comment