बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल

डिसी नेपाल
१७ असोज २०७८ १६:१०

काठमाडौं ।  कोरोनाको सङ्क्रमण कम भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

बाँके र बर्दियामात्र नभइ कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसहित अन्य जिल्लाबाट पाहुना घुम्न आएका छन् । ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टका प्रबन्ध निर्देशक रेशम थापाका अनुसार बाहिरी जिल्लाका साथै दसैँ मनाउन बाँके र बर्दिया फर्किएका सर्वसाधारण पनि यतिबेला निकुञ्जमा आउने गरेको छन् ।

दसैँसँगै ठाकरद्वारास्थित होटलले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनासमेत ल्याएका छन् । बर्दिया टाइगर रिसोर्टले अरु बेलाको भन्दा धेरै सुलभ रुपैँयामा दसैँ प्याकेज बनाएको प्रबन्ध निर्देशक थापाले बताए । ठाकुरद्वारा क्षेत्रमा २८ वटा पर्यटकीय होटल छन् । कोरोनाका कारण पर्यटकको आवागमन नहुँदा धराशायी बन्न पुगेका होटल अहिले विस्तारै तङ्ग्रिने प्रयत्नमा रहेको पर्यापर्यटन विकास मञ्च जिल्ला अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिए । सरकारले पर्यटनसम्बन्धी नीति बनाएरै पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले दसैँलाई लक्षित पर्यटकीय क्षेत्रका होटल व्यवसाय सञ्चालनमा आए पनि पूर्ण रुपमा राम्रोसँग चल्न अझै समय लाग्ने उल्लेख गरे । “अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ होटल व्यवसाय राम्रोसँग सञ्चालनमा आउन सक्दैन, सवारी आवागमन हुनुपर्दछ, मान्छेले होटलमा बस्नसक्ने सुरक्षा र आर्थिक जोहोको व्यवस्था गर्नुपर्छ”, उनले भने, “कोरोना कम भए पनि पूरै सकिएको छैन, अत्यावश्यक कामबाहेक मान्छेले घर छोड्ने अवस्था नरहेका बेला होटल व्यवसाय सञ्चालन गरेर फाइदा हुनैसक्दैन त्यसैले अरु बजार सामान्य अवस्थामा आए पनि होटललाई लामो समय लाग्ने छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *