व्यासमा हेलिकोप्टरमार्फत चामल ढुवानी

डिसी नेपाल
१७ असोज २०७८ २१:४६

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । सडक संजालले नजोडेको व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएपछि गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गत २ भदौमा गृहमन्त्रीलाई भेटेर खाद्यान्न ढुवानीको माग गरेका थिए ।

भारतीय बजारबाट तुइनमार्फत खाद्यान्न आपूर्ति हुने व्यासका गाउँमा यस पटक जयसिंह धामी प्रकरणपछि भारतीय एसएसबीले महाकाली नदीमाथिका तुइनहरू हटाएको छ । तुइन हटाएपछि व्यासका नागरिकले खाद्यान्नको अभाव झेलिरहेका छन् ।

गृह मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई खाद्य ढुवानीका लागि जिम्मा दिएको थियो । व्यापार कम्पनीले एक्सेस सिपिङ एण्ड एयर लजिष्टिक प्रा।लि। काठमाडौंसँग ढुवानी सम्झौता गरी खाद्यान्न ढुवानी भइरहेको कम्पनीकी प्रादेशिक कार्यालय धनगढीकी अधिकृत कल्पना विष्टले जानकारी दिइन् ।

हेलिकोप्टरमार्फत वडा नम्बर १ को छाङरुमा १२५ क्विन्टल र तिंकरमा ७५ क्विन्टल, वडा नम्बर २ को दुम्लिङमा ४० क्विन्टल, मालमा ४० क्विन्टल, राप्लामा २० क्विन्टल, वडा नम्बर ३ सिनामा १०० क्विन्टल र वडा नम्बर ४ सुन्सेरामा २०० क्विन्टल चामल ढुवानी गरिने उनले बताइन् ।

धनगढीबाट दार्चुला सदरमुकाम खलंगासम्म ट्रकमा र दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत ढुवानीका लागि सम्झौता भएको छ । तर, सम्झौताअनुसार दार्चुला सदरमुकामबाट नभई करिब १५ किलोमिटर अगाडि दुहु गाउँपालिकाको सिलिङचौरासम्म ट्याक्टरमा ढुवानी गरी त्यहाँबाट हेलिकोप्टरमार्फत चामल ढुवानी भइरहेको छ ।

हेलिकोप्टर उडान सहजका लागि अघिल्लो क्षेत्रसम्म ट्याक्टरमा लगेर ढुवानी भइरहेको बुझिएको व्यास गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । ढुवानी गरिएको चामल दशैँअघि नै व्यासका जनतालाई बाँडिने अध्यक्ष बुढाथोकीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *