१० गुणा बढी मतान्तरले संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का विजयी
संखुवासभा। नेपाली कांग्रेस संखुवासभा सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। प्रतिस्पर्धी रामबहादुर राईलाई भारी मतान्तरले पराजित गर्दै खड्का सभापति पदमा निर्वािचत भएका हुन्।
कुल खसेकाे एक हजार ३४९ मतमा खड्काले एक हजार १९८ ल्याए भने राईले ११० मत मात्रै प्राप्त गरे। खड्का २०७० सालकाे संखुवासभा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भइ खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए। उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ मत ल्याएर विजयी भएका छन्।
सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी भएका छन्। सभापति खड्का कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्। जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो।
कांग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ पदका लागि मतदान भएको हो। महाधिवेशन प्रतिनिधिको मत गणना आइतबार राति बाट रोकिएको छ।
Facebook Comment