झाडापखाला फैलिएपछि कृष्णपुरले प्रदेश सरकारसँग माग्यो गुहार

डिसी नेपाल
२० असोज २०७८ १०:०३

काठमाडौं । कपिलवस्तुको कृष्णपुर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ।

झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५० जना बिरामी परेपछि नगरपालिकाले लुम्बिनी सरकारसँग औषधि र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको हो।

‘यस विषयमा प्रदेश सरकारसँग कुराकानी भएको छ, उहाँहरूले थप औषधि र चिकित्सक पठाउने भन्नु भएको छ,’ नगरपालिकाका मेयर रजतप्रसाद शाहले भने । उनका अनुसार झाडापखलाबाट करिब २५० जना बिरामी परेका छन्।

अहेब विष्णु पौडेलका अनुसार झाडापखला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवाबाट मंगलबार दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटाएको थियो । तर, उक्त टोली फर्किसकेको छ।

तौलिहवाको टोली फर्केसँगै प्रदेशबाट आज दुई जना चिकित्सकसहितको टोली आउन लागेको उनले जानकारी दिए।

बहादुरगन्जस्थित शिवराज अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि निजी क्लिनिकमा पनि उपचार भइरहेको छ । शिवराज अस्पतालमा एकमात्र चिकित्सक छन्।

झाडापखालाबाट कृष्णनगर-९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भइसकेको छ । कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो।

पौडेलका अनुसार कृष्णनगर नगरापलिका-७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका झाडापखलाबाट ग्रसित छन् । गम्भीर बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *