बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा झडपः तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

डिसी नेपाल
२४ असोज २०७८ १९:३२

काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा भएको झडपमा परेर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पतालमा खटिएका एक सुरक्षाकर्मीले बताए । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । ​मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन।

​विवाद बढ्दा परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको थियो ।

यसअघि आइतबार बिहानै प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *