संस्मरण : तक्मा र तोक्मा, भट्टी पसल्नीदेखि महाराजधिराजसम्म
म सानो छँदाको कुरा हो सायद म कक्षा ८ मा पढ्दै थिएँ होला विद्यार्थीहरुले पढाइ खेलकुद साहित्य गोष्ठी बादबिवाद प्रतियोगिता साँस्कृतिक कार्यक्रम आदि इत्यादिमा राम्रो गरेमा पुरस्कार बापत स्कुलबाट पाउने किताप कापी कलम (हामी फाउन्टेन पेन भन्थ्यौँ), मसी, पेन्सिल (सिसाकलम), मिठाइ, बिस्कुट यस्तै यस्तै सामानहरु पाइन्थ्यो।
जे होस पुरस्कार पाउनु भनेको निकै ठूलै गौरवको अबसर हुन्थ्यो। स्कुलबाट दिइने यस्तै पुरस्कार पाउन कति मेहनत गर्नु पथ्र्यो भन्ने हामी सबैलाई जानकारी भएकै कुरा हो।
हाम्रो स्कुलको बार्षिक कार्यक्रममा मैले स्कुलबाट केही पुरस्कार पाएको थिएँ। पुरस्कार पाएर ममा निकै फुर्ति पनि बढेको थियो। पुरस्कारकै सन्दर्भ चलिरहेका बेलामा बेलुका हामी दोकान घरमा रेडियो सुन्दै थियौँ।
राजाले सरकारका बिभिन्न कर्मचारीहरुलाई तक्मा बक्स भएको भन्ने समाचार रेडियोबाट सुनियो। समाचार सुनिसकेपछि मेरो भाइ छविरमण(छवु)ले दाजु त्यो तक्मा भनेको के हो? हाम्रो स्कुलले त कहिल्यै पनि दिएको छैन नि भनेर मलाई सोध्यो।
मैले पनि सानका साथ भाइलाई बुझाएँ-हेर त्यो तक्मा भनेको सुनको सानो तोक्मा हो (ढाकर बोक्ने भरियाले ढाकर बोकेर हिँडिरहेका समयमा यसो एकछिन ढाकर बोकी बोकी उभिएरै हल्का आराम गर्न ढाकरको पिँधमाअड्याएर भुइँमा टेकाउने दरो काठको अथवा बाँसको लौरोलाई तोक्मा भनिन्छ )।
राजाले बर्षभरि राम्रो काम गर्ने देशका कर्मचारीहरुलाई दिन्छन् भनेर बुझाएँ। दाजुले बुझाएपछि भाइले नबुझ्ने भन्ने त कुरै भएन। भाइलाई बुझाउन सकेकोमा म पनि दंग परेँ। यसपछि यो सन्दर्भमा दाजु भाइबीच कुनै चर्चा पनि भएन।
पछि समयक्रममा म पनि राजाको कर्मचारी बन्न पुगेँ। उसबेला राजाको जन्मोत्सवमा तक्मा (मेरो स्कुले जीवनको बुझाइमा सुनको सानो तोक्मा) दिने चलन रहेछ। मेरा पनि हाकिमहरुले तक्मा पाए।
राजा महेन्द्रले आफ्नो तस्विर राखेर सुनको माला बनाएर “महेन्द्र माला”को नाम दिएर यसलाई नेपालको सर्वोच्च विभुषणका रुपबाट मित्र राष्ट्रका राष्ट्राध्यक्षहरुलाई नेपाल भ्रमणको अबसरमा प्रदान गरिन्थ्यो । राजा महेन्द्रले यो महेन्द्रमाला सबैभन्दा पहिले आफैले ग्रहण गरेर बिधिबत रुपमा यसको प्राणप्रतिष्ठापन गरिवक्सेको थियो ।
अरु अरु कार्यालयका देशैभरिका सानो ठुलो तहका निकै कर्मचारी, शिक्षक, केही मन्त्री नेता समाजसेवी र राजाका भाइ बहिनी ज्वाइआदि भाइभारदार नातेदारहरुले पाए। राजाले कसैलाई गलामा झुण्याइ दिए कसैलाई छातीमा टाँसिदिए र कसैलाई हातमा थमाइदिए।
राजाबाट तक्मा विभुषण बक्सने कार्यक्रम दरवारभित्रै हुँदो रहेछ। प्रहरीले पनि त्यो समारोहमा ड्युटी गर्नु पर्ने रहेछ। म पनि ड्युटीमा खटिएको हुँदा मैले कार्यक्रम प्रत्यक्षै देख्ने मौका पाएँ।
अनि बल्ल मैंले थाहा पाएँ कि त्यहाँ बितरण गरिएका तक्माहरु मैले सोचेजस्तो सुनको सानो तोक्मा त होइन रहेछन् । तोक्मा र तक्मा फरक हुँदो रहेछ। दुःख लाग्छ, यो कुरा चैँ मैले भाइलाई बुझाएर उसलाई पहिले मैले गलत कुरा बुझाएको रहेछु भनेर भाइसँग माफी माग्ने अबसर चैँ गुमिसकेको थियो।
भाइलाई २०१९ सालदेखि मुटुमा केही खरावी भएजस्तो देखिएको हुँदा स्थानीय डिस्पेन्सरीमा उपलव्ध हुने सामान्य औषधि साथै गाउँघरमा प्रयोग गरिने जडिबुटीको सेवन गरी घरमै आराम गरिरहेको थियो। भाइ स्कुल जान नसकेको बर्षदिन जतिनै भइसकेको थियो।
२०२० सालको दशैँ मनाएर उपचारका लागि भारतको दार्जिलिंग लैजाने तयारी गरिएको थियो तर ईश्वरले हाम्रो प्रयासलाई साथ दिएनन्। हामीले नै ढिला गरेछौँ। टिकाको भोलिपल्ट विहान १५ बर्षको कलिलै उमेरमा भाइले हामीसँग सदाको लागि बिदा लियो।
ताप्लेजुङ नाङ्खोल्याङका नामी ज्योतिषि चहके बरालले यो नानीलाई ढुंगामा बजारे पनि केही हुँदैन भनी गरेको ज्योतिषिय भविष्यवाणी असत्य सावित भयो। त्यो दिन हाम्रो परिवारको लागि अत्यन्तै दुःखको दिन थियो।
जागिरे भएपछि बिस्तारै तक्माको बारेमा पनि थप कुराहरु बुझ्दै गइयो। राजाका पालामा काम गर्ने कर्मचारीका अलावा चाकडीवाजहरु र राजभक्तहरुले त्यो तक्मा पाउँथे। अहिले गणतन्त्रमा क कस्ले पाएका छन् ती अनुहारहरु सबैका सामु छर्लंगै छन्।
र, यतिबेला एउटा निचोडमा पुगेको छु। त्यो निचोड़ चैँ तोक्मा र तक्मा उस्तै उस्तै नै रहेछन्। तोक्मा भनेको भरियाले एकछिन् ढाकरको बोज थाम्ने साधन हो भने तक्मा भनेको कर्मचारीहरुको जागिर उचाल्ने र ठूलाबडाहरु र उनीहरुका नातागोता आसेपासेले समाजमा धाक रवाफ लगाउने हतियार रहेछ। थोर थोरै चैँ साँच्चै बहादुरले पनि पाउँदा रहेछन्।
उनताका हाम्रो देशमा महेन्द्रमाला, परम नेपालप्रतापभास्कर, ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद, परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद, परम प्रोज्ज्वल नेपालतारा, परम पवित्रॐराम पट्ट, परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट, परमसुप्रसिद्धनेपाल तारा, सुविख्यात त्रीशक्ति पट्ट ,सुप्रवल गोरखा दक्षिण बाहु, प्रवल गोरखादक्षिण बाहु आदि नामका विभुषण र यसअतिरिक्त दीर्घ सेवा पदक, दुर्गम सेवा पदक, सेवा पदक सैनिक सेवा पदक, प्रहरी सेवा पदक, निजामति सेवा पदक यस्तै यस्तै बिबिध नाम गरेका सुन, चाँदी, तामाबाट बनाइएका तक्मा विभुषण पदकहरुको प्रचलन थियो।
राजा महेन्द्रले आफ्नो तस्विर राखेर सुनको माला बनाएर “महेन्द्र माला”को नाम दिएर यसलाई नेपालको सर्वोच्च विभुषणका रुपबाट मित्र राष्ट्रका राष्ट्राध्यक्षहरुलाई नेपाल भ्रमणको अबसरमा प्रदान गरिन्थ्यो । राजा महेन्द्रले यो महेन्द्रमाला सबैभन्दा पहिले आफैले ग्रहण गरेर बिधिबत रुपमा यसको प्राणप्रतिष्ठापन गरिवक्सेको थियो।
सरकारी साथै गैह्र सरकारी कर्मचारीहरु, शिक्षकहरु, समाजसेवीहरु लगायत देशका अन्य विविध क्षेत्रका व्यक्तिहरु, राजाका भाइ भारदार नातेदारहरुलाई तक्मा विभुषण दिने पुरानै प्रचलन हो। मैले थाहा पाएदेखि बितरण गरिएका तक्मा विभुषण मान पदवीहरु हरेकपटक नै कुनै न कुनै रुपमा थोरबहुत बिवादित नभएको भने हुँदैन थियो।
त्यसबेलाको शासन प्रशासन एक प्रकारले हुकुमी पाराको जस्तै जस्तै नै थियो। हामी त राजाको सिन्दुर लगाएका मानिस पो हौँ भनेर सर्वसाधारणमा धाक रवाफ जमाउनु कर्मचारीहरुको सामान्य ब्यबहारजस्तै थियो। त्यसमाथि झन मान पदवी तक्मा विभुषण प्राप्त गर्नेको त समाजमा रवाफै रवाफ।
खासगरी कर्मचारीहरुलाई उनीहरुको पदोन्नतिमा तक्माले निकै ठूलो महत्व राख्थ्यो । कर्मचारीहरुको पदोन्नतिका लागि थुप्रै क्राइटेरिया कायमगरी तिनमा नम्वरको ब्यवस्था गरिएको हुन्थ्यो । जसमा तक्माका लागि पनि नम्बर कायम गरिएको हुन्थ्यो ।
यसै माध्यमबाट हाकिमहरुले आफ्ना नातेदार र चाकरीवालाहरुलाई पदोन्नति गर्ने चाँजो पाँजो मिलाउथे । यस्तै देशका अन्य क्षेत्रहरुमा पनि ठुलावडाहरुले आफन्तलाई तक्मा दिलाउने काम गरेको पाइन्थ्यो नै ।
कसलाई किन के कारणले तक्मा दिइनुपर्ने हो भनी सरकारले मन्त्रालय विभाग कार्यालयहरुबाट सिफारिस माग्ने प्रचलन थियो । सबैतिरबाट आएको नामावलीलाई अन्तिम तयारी गरी विभुषण समितिमा पठाउने जिम्मा चाहिँ गृहमन्त्रालयको हुन्थ्यो ।
डाडु पन्यू गृहमन्त्रालयको हातमा रहने हुँदा बिशेष गरी राजधानी बाहिरका जिल्ला अन्चलहरुमा अन्चलाधीशहरुको भरमा सरकारले काम गर्ने गराउने हुँदा बढी महत्व अन्चलाधीशहरुको सिफारिसले पाउँथ्यो । राजदरवार, जाँचबुझ केन्द्र , पन्चायत नीति तथा जाँचबुझ समिति ,गाउँ फर्क, मन्त्री र अन्य पहुँचवालाको सिफारिसको हिस्सा पनि हुने नै भयो ।
साल ठ्याक्कै नमिल्न सक्छ ४३ सालमा वा एक साल अघि पछि हुन सक्छ, कर्णाली अन्चलमा एकजना जिल्ला हाकिमले जिल्ला हेर्ने अर्थात तालुक अन्चलका हाकिमलाई थाहै नभइ प्रवल गोरखा दक्षिणवाहु विभुषण पाए। (जिल्लाको हाकिमलाई तक्मा दिनका लागि सोही बिभागको अन्चलको हाकिमले सिफारिस गर्नु पर्दथ्यो )।
तिनै हाकिमले पाएकै नामको अर्थात सोही नाम र मर्यादाको तक्मा एउटी भट्टी पसल्नीले र अर्को एक जना स्थानीय समाजसेवीले पनि पाए । भट्टी पसल्नी र आफुले पाएको विभुषण एउटै नाम र श्रेणीको भएको थाहा पाएपछि भने ती समाजसेवीले अत्यन्तै खिन्नता ब्यक्त गर्दै विभुषणको कुनै मर्यादा नै नरहेको प्रतिकृया ब्यक्त गरेका थिए ।
यस्तै यस्त गुनास र बिवादहरु हरेकबर्ष तक्मा दिदा उसबेला भइनै रहन्थ्यो । तर आजकलको जस्तो सर्बाङ्ग नाङ्गो भएर चैँ तक्मा विभुषण मानपदवी बितरण हुँदैन थियो। मलाई जानकारी भएसम्म तक्मा मान पदवी विभुषण पाउनेहरुले अहिलेको जस्तो बहिस्कार पनि गर्दैन थिए।
अपवादका रुपमा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख शंकरदेव पन्तले भने सरकारले वाहाँलाई प्रदान गरेको विभुषणलाई बहिस्कार गर्नु भएको थियो। विभुषण बहिस्कारको सायद यो नै पहिलो घटना थियो जस्तो लाग्छ । कारण यो बहिस्कारको त्यसबेला निकै चर्चा चलेको थियो । जे जस्तो भए पनि उनताका समाजमा तक्मा विभुषणको मर्यादा थियो र सम्मान पनि गरिन्थ्यो ।
२६ बर्ष सरकारी सेवामा रही राम्रो काम गरेबापत श्री ५ को सरकारले “प्रवल गोरखाद क्षिणवाहु” प्रदान गरेको हुँदा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारका बाहुलीबाट विभुषणले सुशोेभित हुने सुवर्ण अबसर लेखकलाई पनि प्राप्त भएको थियो ।
जहाँसम्म मलाई लाग्छ म मेरा हाकिमको खासै पृय कर्मचारी त थिइनँ तर दिइएको जिम्मेवारी सकेसम्म पूरा गर्न प्रयत्न चैँ गर्थें । भनौँ म कामसँग सरोकार राख्ने कर्मचारी हिस्साको थिएँ । मैले आफ्नो ज्यान जोखिममै पारेर काम गरेबापत विभुषण पाएको भने चैँ होइन । साथै हाकिमको चाकरी गरेर पाएको पनि होइन ।
मेरो बुझाइमा मैले काम गरेको राष्ट्रिय अनुसन्धान विभागलाई त्यो सालका लागि प्राप्त भएको विभुषणको कोटामा मलाई पारिएको हो । ज्यानै जोखिममा पारेर राम्रो काम गरेबापत मात्र तक्मा प्रदान गरिने भए त्यस पछि मैले जोखिम मोलेर काम गरेको थिएँ तर म पुरस्कृत भइनँ कारण मैले पहिल्यै विभुषण पाइ सकेको थिएँ ।
मैले भन्न खोजेको उसबेला मान पदवी विभुषण तक्मा पुरस्कारहरु बढी मात्रामा हाकिमको तजविजमानै दिइन्थ्यो । अहिलेको ब्यवस्थामा पनि सो कायमै रहेको पाइन्छ । ब्यवस्था फरक, सत्ता फरक, सत्ताधारी फर तर सत्ता सन्चालनमा चैँ कुनै फरक आएको पाइएन । उही चाकरीबाद, नाताबाद, कृपाबाद, फरियाबाद छँदैछ । थैलीबादको ठाउँ थैलोबादले लिएको छ ।
सार्वभौम जनताको सरकारले मान पदवी तक्मा विभुषण प्रदान गर्ने कार्यमा विवेक नपुर्याएको भन्ने देखिंदै सुनिदै आएको हो । झन यसपालिको तक्मा विभुषण पाउने महानुभावहरुको नाम हेर्दा त प्रदान गरिने मापदण्ड नै के हो भन्ने ठम्याउनै सकिदैन ।
मैले थाहा पाएका मध्ये दुईजना प्रहरी अधिकृतले धेरै पहिले ठ्याक्कै (सालचैँ कुन हो बिर्सेँ )प्राप्त गरेका विभुषणहरु(तक्मा) को उल्लेख गर्न चाहान्छु जसबाट सो समयमा कस्ता राष्ट्रसेवकहरुलाई के आधारमा मान पदवी र विभुषणहरु प्रदान गरिन्थ्यो र त्यसको समाजमा के कस्तो प्रभाव पर्दथ्यो भन्ने कुराको केही जानकारी हुन सक्छ ।
(क) “परम प्रोज्ज्वल नेपालतारा” विभुषणबाट विभूषित :–डि.आई.जी.पी. पदबाट अवकाश लिनु भएका मनबहादुर राई ।
हाम्रो देशको तराइ क्षेत्र जसलाई मधेश पनि भनिन्छ त्यस छेत्रमा उहिले राणाशासनकाल देखि नै डाँकुहरु सकृय हुँदै गएका रहेछन । भारतको सिको गरेर नेपालको तराई क्षेत्रमा डाकाहरुको बृद्धि हुँदै जाँदा जनकपुरको झिँझा नामको गाउँका प्राय सबै मानिसहरुको पेशा नै डकैत गर्नु भएछ। हुँदा हुँदा झिँझाका डाँकुहरु भन्ने सुन्नासाथ प्रहरीहरुको खुट्टा लगलग काम्थे रे। झिँझाका डाँकुहरु भनेपछि भारतको बिहारका पुलिसहरु पनि थर्कमान हुन्थे रे । पुरै मधेश भेगमा झिँझाका डाँकुहरुको मनपरि चल्थ्यो ।
प्रहरी लाचारजस्तै थियो । प्रहरीलाई न राम्रो तालिमको ब्यवस्था थियो न राम्रा हतियारकै उपलव्धता थियो । दोश्रो विश्वयुद्धमा प्रयोग भएका र युद्ध समाप्तिपछि प्रयोग नगरिएका थ्रि नट थ्रि राईफलहरु र केह पेस्तोलहरु मात्र नेपाल पुलिसलाई उपल्बध गराइएको थियो । पाहाडी इलाकामा त कतिपय पुलिस चौकीहरुमा हतियारै हुँदैन थियो । लट्ठीका भरमा पुलिसले ड्युटी गर्थे ।
डाँकुहरुसँग पनि गतिला हतियार त हुँदैन नै थियो । प्राय बाह्र बोरे बन्दुक, कटुवा पेस्तोल खुँडा र तरवारकै भरमा झिँझाका डाँकुहरुले पुलिसलाई हैरान पारेका थिए ।
यस्तै समयमा एस.पी. मनबहादुर राइलाई जनकपुर खटाइयो । निकै खाइलाग्दो अग्लो शरीर आकर्षक ब्यक्तित्व भएका ठूलो अनुहारमा जुँगा पालेका त्यस समयका पुलिस फोर्सका भरपर्दा अफिसरले त्यहाँ गएर एक बर्षमा नै झिँझाका डाँकुहरुबाट पुरै मधेश छेत्रलाई मुक्त गराउन सफलता प्राप्त गरेका हुँदा उनलाई सरकारले “परम प्रोज्जल नेपाल तारा” विभुषणले विभुषित गर्यो ।
पहिलो पटक नेपाल प्रहरीका अफिसरहरुले प्राप्त गरेको नेपातारा विभुषण यो नै थियो भने सायद अन्तिम पनि यहिनै होला । मनबहादुर राइलाई यो विभुषण प्रदान गरिँदा सबैले खुशी ब्यक्त गरेका थिए । राम्रो काम गरेबापत प्रदान गरिएको विभुषण थियो यो ।
(ख) सुप्रसिद्ध प्रवल गोरखा दक्षिणवाहु विभुषणबाट विभुषित हुनु भएका आइ.जी.पी.पदबाट अवकाश हुनुभएका खड्गजित बराल :
२०१४ सालमा नेपाल पुलिस फोर्सको इन्स्पेक्टर पदमा नियुक्त भएका खड्गजित बरालले सेवा प्रवेशको शुरुदेखि नै नेपाल पुलिस फोर्सको आधुनिकीकरण गर्नमा महत्व पूर्ण भुमिका निर्वाहा गर्दै आफू खटिएका हरेक जिल्ला अन्चल क्षेत्रहरुमा पुलिसहरुको मनोबल उच्च पार्न इमान्दार बन्न राम्रो प्रेरणा दिनु भई जनमानसमा पुलिसप्रतिको नकारात्मक धारणालाई हटाइ पुलिस जनताको साथी हो भन्ने भावनालाई अभबृद्धि गराई जनता र प्रहरीबीचमा राम्रो सम्बन्ध गराउन सफल साथै भ्रष्ट्राचारलाई न्युनिकरण गरी प्रहरीको छवि सुधार गर्नमा पनि राम्रो सफलता प्राप्त गरेका हुँदा श्री ५ को सरकारले वहाँलाई “सुप्रवल गोरखा दक्षिणवाहु” विभुषण प्रदान गरेको थियो ।
सो विभुषणको सम्मानार्थ साथै नेपाल पुलिस फोर्समा एम.ए. डिग्री हासिल गरेको पहिलो आई.जी.पी. भएका हुँदा आफुले हस्ताक्षर गर्नु पर्ने कुनै पनि चिठी पत्रमा
खड्गजीत बराल
एम.ए
सु.प्र.गो.द.वा
भन्ने लेखेर सही गर्ने गर्नु हुन्थ्यो । अहिलेका आई.जी.पी. हरुमा खोइ त्यस्तो मनोबल । नेपाल पुलिस फोर्समा खड्गजित बरालपछिका आजसम्मका कुनै पनि आई.जी.पी. हरुले उहाँको गरिमालाई कायम राख्न सक्नु नभएको मात्र होइन केही भुतपूर्व आई.जी.पी. हरुले त भ्रष्ट्राचार गरेकाले जेल सजाय समेत भोग्नु परेको हुँदा पुलिस फोर्सका लागि कहिल्यै नमेटिने कालो धब्बा लागेको पनि छ । बाहालमा छँदा वाहाँहरु सबैले बिभिन्न विभुषण मान पदवी त पाउनु भएकै हो ।
२०१२ सालमा पुलिस ऐन बनाएर नेपाल पुलिस विभागको बिधिवत गठन गरिएको हो । उनताका नेपालमा प्रशासनका निमित्त १४ अन्चल ७५ जिल्लाको ब्यवस्था गरिएको थिएन । पुरानै राणा शासनकै समयमा सन्चालन गरिएका प्रशासनिक इकाइहरुबाटै देशको प्रशासन चलाइन्थ्यो ।
पुलिस प्रशासन अहिलेको जस्तो सबल सÞक्षम चुस्त दुरुस्त थिएन । एकातिर बिस्तारै बिस्तारै आफ्नो क्षमता वृद्धि गर्दै थियो भने तत्कालिन कायम रहेका प्रशासनिक निकायहरु जस्तै- गौँडा, गोश्वार, अमिनि र काठमाण्डौ पश्चिम सायद २५ र पूर्वमा १०÷१२ जिल्लाहरु को ब्यवस्था भएको पाइन्छ ।
पश्चिममा डोटी गौँडा पाल्पा गौँडा हुँदै बिरगन्ज धनकुटा र इलाममा गौँडा नामको प्रशासनिक निकाय कायम भई ती निकायका प्रमुखलाई वडाहाकिम दर्जा दिइएको थियो । गौँडा अन्तरगत प्रहरी , माल अड्डा अमिनि , भन्सार, आदि सरकारी कार्यालयहरुको ब्यवस्था गरिएको पाइन्छ ।
प्रहरीतर्फ काठमाण्डू, पाटन र भक्तपुर तराइतर्फ नेपालगन्ज, भैरहवा, विरगन्ज, जनकपुर, विराटनगर र झापाभद्रपुरमा डि.एस.पी. दर्जाको अफिसर अधिराज्यका अन्य जिल्लास्तरीय प्रशासनिक प्रहरी कार्यालयहरुमध्ये इन्स्पेक्टर र पहाडी भेगका ३६ जिल्लाका प्रहरी कार्यालयमा प्रहरी सव–इन्स्पेक्टर इन्चार्ज हुन्थे।
ताप्लेजुङ नाङ्खोल्याङका नामी ज्योतिषि चहके बरालले यो नानीलाई ढुंगामा बजारे पनि केही हुँदैन भनी गरेको ज्योतिषिय भविष्यवाणी असत्य सावित भया । त्यों दिन हाम्रो परिवारको लागि अत्यन्तै दुःखको दिन थियो।
२०१९ सालमा हो हाम्रो देशमा ७५ जिल्ला र १४ अन्चल कायम गरी प्रशासन ब्यवस्थित रुपमा सन्चालन गरी विकास निर्माण कार्यलाई जिल्ला र अन्चलकै माध्यमबाट गरिने कार्य सन्चालन गर्न शुरु गरियो । पछि चार बिकास क्षेत्र र केही बर्षपछि पाँच बिकास क्षेत्र कायम गरिएको थियो ।
देशको आन्तरिक सुरक्षाको जिम्मा प्रहरीलाई दिएको हुँदा दुरदराजका प्रहरीहरु आफू नै सरकार हौँ भन्ने भावना लिएर जनतामाथि हैकम चलाउँद थे। वास्तवमा सबै जागिरेहरु आफूलाई सर्वसाधारण मानिसहरु भन्दा उच्चतहको सम्झन्थे। हुन पनि यो त्यसबेलाको शासन प्रशासन एक प्रकारले हुकुमी पाराको जस्तै जस्तै नै थियो ।
हामी त राजाको सिन्दुर लगाएका मानिस पो हौँ भनेर सर्वसाधारणमा धाक रवाफ जमाउनु कर्मचारीहरुको सामान्य ब्यबहारजस्तै थियो । त्यसमाथि झन मान पदवी तक्मा विभुषण प्राप्त गर्नेको त समाजमा रवाफै रवाफ ।
आर्मी र प्रहरीको आ–आफ्नै युनिफर्म हुँदा र उनीहरुले प्राप्त गरेका तक्मा विभुषण गला र छातीमा शोभायमान हुँदा उनीहरुको तुजुकै बेग्लै हुन्थ्यो । यसअघिका शासनप्रणालीमा हरेक बर्ष कोटा निश्चित गरी तक्मा बितरण गरिने परम्परालाई नै कायम गरेको देखिन्छ। विभुषणका नाम र बितरण गरिने समय भने परिबर्तन गरिंएको छ । तर दिने प्रकृया भने उहिलेको भन्दा खराब भएको प्रतित हुन्छ।
मान पदवी विभुषण तक्मा आदिको बिशेषगरी देशका कर्मचारीसँग सम्बन्ध हुँदो रहेछ । पद र तक्मा एक अर्काका पुरक रहेछन्। हाकिमहरुले आफ्ना नातेदार कर्मचारी र चाकरीबाज कर्मचारीलाई तक्मा दिलाएर नम्वर बढाएर प्रमोशन गराउने, प्रमोशन गराउन नसके तक्मा दिएर चित्त बुझाउन लगाउने, तक्माको बदला आम्दानी हुने कार्यालय बिभाग मन्त्रालयमा सरुवा गरिदिने , एक प्रकारले बजारमा धानसँग आलु साँटेजस्तो गरी प्रमोसन र तक्माको सट्टा पट्टा गरिने चलन पहिले पहिलेका सरकारमा चलन चल्तीमा नै भएको पाइन्थ्यो भने बर्तमान सरकार पनि यसबाट उम्कन सकेको पाइएन । अस्तुः
Facebook Comment