विदेशी सेवा सुविधासहित अनौठो कफीशप ‘उजामा’
![विदेशी सेवा सुविधासहित अनौठो कफीशप ‘उजामा’](https://www.dcnepal.com/wp-content/uploads/2021/10/248229433_206276044964829_5367021238716853530_n.jpg)
काठमाडौं। लाइबेरी हो या कफीशप?, जो कोही ‘उजामा’ कफीशप पुग्दा अनौठो मान्छन्। लाइबेरी जस्तो पनि देखिने र कफीशप जस्तो पनि देखिने शंखमुलस्थित ’ उजामा कफी एण्ड बेकरी विथ लाइबेरी’ मा पहिलो पटक पुग्ने जोकोही अन्योल जस्तै बन्छन्।
उजामा कफी एण्ड बेकरीमा कफीको चुस्कीसँगै थरीथरीका पुस्तकहरु पढ्ने वातावरण छ । नेपालमै नौलो र फरक किसिमको लाइब्रेरीसहितको कफीशपको स्थापना युवा उद्यमी तथा सञ्चालकद्वय लिलाराम खड्का र सौरभ कार्कीको सोचको नतिजा हो ।
पुस्तकालय र कफीको मिश्रित अवधारणासहित खोलिएको यो लाइब्रेरी क्याफेमा समसामयिकदेखि इतिहास, आख्यानदेखि कविता लगायतका थुप्रै अंग्रेजी र नेपाली किताबहरु उपलब्ध छन्।
मेनु पल्टाइवरी कफीका पृथक् स्वाद चाखेझैँ उजामामा पुग्नेले पुस्तकालयका ¥याकमा आँखा दौडाएर मन लागेको किताब कफीको चुस्कीसँगै पढ्न पाउँछन्।
युवा उद्यमी तथा सञ्चालक खड्का जापानीज इन्स्टिच्युट ’प्यानासिया’ चलाउछन्, अगाडीको अध्ययन गर्न विद्यार्थीहरु जापान जान्छन । तर, उनको कफीशप क्षेत्रमा भने ’उजामा’ स्थापना पहिलो अनुभव हो।
उनले जापानमा काम गर्ने विद्यार्थीको अवस्थाबारे मसिनो गरी अध्ययन गरेको अनुभव सुनाउँदै भने, ‘बढीजसो त लहलहमै जाने र दुःख पाउने गर्छन् । कति त गएर बिरामी भएर फर्किएर डिप्रेसनमा पुगेका पनि छन् ।’
स्वयम् युवाहरुलाई जापान पठाउँदै आएको उनी पछिल्लो समय युवाहरुलाई नेपालीमै कुनै न कुनै व्यापार व्यवसाय गर्न हौसला प्रदान गर्छन् । उनी भन्छन्, ‘अन्य देश वा वर्षौ जापानमा बसेर आउनेको भन्दा नेपालमा बसेर कुनै न कुनै व्यवसाय गर्नेको धेरै प्रगति भएको छ ।’
विदेशमा विभिन्न दुःख पाएर फर्केका युवाहरुको पीडालाई सहन गाह्रो भएको बताउने उनी युवाहरुलाई बरु विदेश जान होइन, रोक्ने उपाय सोच्नुपर्छ भन्नेतिर लागे । अन्ततः युवाहरुलाई ८ वर्षसम्म जापान अध्ययनमा सहजिकरण गरेका उनको मन एकाएक बदलियो । र, उनी सोच्न थाले– त्यस्तो कुन व्यवसाय सुरु गर्न सकिएला, जसमा विद्यार्थीलाई शिप पनि सिक्ने, रोजगारी प्राप्त पनि गर्ने ।
विदेश गएर आफ्नो खर्च जुटाउन सक्नेले आफ्नै देशमा किन नसक्ने भनेर उनले कफीशप सञ्चालन गरे र कफीशपमा विद्यार्थीहरूको रुची पनि देखे उनले । पार्ट– टाइम अर्थात् विद्यार्थीहरुले चार–पाँच घण्टा काम दियो भने उनीहरुले आफ्नो खर्च आफै जुटाउन सक्छन् भन्ने उनले सोचे।
खड्का भन्छन्, ‘कफीशपमा विद्यार्थीहरुले रमाउँदै काम गरेको देखेँ, विद्यार्थीद्वारा विद्यार्थीकै लागि व्यवसाय सञ्चालित गरौँ । आफ्नो लागि खर्च जुटाउन सके भने गाउँघरदेखि आएका उनीहरुका घरपरिवारलाई भार पनि कम हुन्छ भन्ने पनि लाग्यो।’ ‘उजामा’ले विद्यार्थीलाई रोजगारी र घण्टाको हिसाबले पारिश्रमिक दिइराखेको छ, जसलाई लीला व्यवसायभन्दा बढी अभियान ठान्छन् । उजामाका स्टाफ विद्यार्थी मात्रै छन् । उनीहरुले त्यहाँबाट पारिश्रमिकसँगै सीप पनि सिक्छन् ।
‘आफैँ अभ्यस्त भएर विद्यार्थीले नै यो किसिमको व्यवसायलाई अगाडि बढाउन सक्ने गरी हामीले तयार गर्ने हो,’ खड्का भन्छन्। उजामामा काम गर्ने विद्यार्थीलाई घण्टाको हिसाबले पारिश्रमिक दिइँदै आएको उनले बताए। काम गरेनुसारको तलब दिनेसँगै उजामाबाट विद्यार्थीहरूलाई अध्ययन गर्ने संस्कृति बसाल्ने खड्काको सोच छ।
उनका अनुसार कफीसपमा आउने ग्राहक पुस्तकालयको सदस्य बन्न सक्नेछन् । पुस्तकालयको सदस्य बन्न एक हजार तिर्नुपर्ने हुन्छ । एक हजार रुपैयाँमा दर्ता गरेबापत् उनीहरूले सहजै किताब लैजान सक्ने उनले बताए । साथै, कफीसपमा विद्यार्थी, मिडिया लगायत रिसर्चरहरूलाई १५ प्रतिशत छुट हुनेछ ।
उनी भन्छन्, ‘हामीले यहाँ लगभग ६ सय किताबहरु संग्रह गरेका छौं । किताब प्रेमीहरुकै इच्छानुसारका किताबहरु संग्रह गरेर उजामा राखेका हौं।’ खडकाका अनुसार उजामामा किताबहरु ग्राहकको इच्छानुसार अझै थपिदैँ जाने छ । भर्खरै मात्र खुलेको उजामाको उद्घाटन भने हुन बाँकी छ।
Facebook Comment