लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल
काठमाडौं ।लाङ्टाङमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ ।
गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन सुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो । दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताए ।
मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए । पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए । पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह गरेका छन्।
यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । भगवान् शङ्कर बिराजमान रहेका पवित्र तीर्थ गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवं धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन् ।
Facebook Comment