बढ्यो पालाको व्यापार, नयाँ पुस्ताको अरूचीले व्यावसाय संटकमा

तर्कबहादुर थापा
१६ कार्तिक २०७८ ७:५२

काठमाडौं। भक्तपुर पुरानो थिमीस्थित आफ्नै घरको चक्कामा दिन बित्ने गरेको छ मुकेश प्रजापतिको। हुन त सधैं माटोकै काम गर्ने उनी तिहार आउन थाल्यो भनेपछि अधिक व्यस्त हुने गर्दछन्।

बुजुलीबाट चल्ने मोटरले चक्का घुमाइ रहेको हुन्छ। दुई हातले उठाएर फ्यात्त माटो चक्कामा फालेपछि सुरु हुन्छ पालाको रुप दिन। हातमा अलिकति पानी लगाएर आकार दिन्छन्। धागोले काट्छन् र सुकाउन प्रयोग गरिने काठको भाँडोमा राख्छन्। केही दिन सुकेपछि आगोमा हालेर पोलिन्छ र तयार हुन्छन् बत्ति बाल्ने पाला।

‘अहिले अलि बढी व्यापार हुन्छ की भन्ने आश छ,’ आफ्नो हातले पालाको आकार दिइरहेका मुकेशले भने, ‘पोहोर ठूलो नोक्सान बेहोर्नु प¥यो। कोरोनाका कारण कतै पनि दिपावली मनाउने काम भएन। हामीले बनाएका थियौं। बिकेन्। त्यसै राख्नु पर्‍यो।’

कोरोना महामारी भएपछिको दोस्रो तिहार हो यो। अघिल्लो वर्ष कोरोनाको डर थियो। मान्छेहरुले धेरै उत्सव गरेर तिहार मनाउन सक्ने अवस्था पनि थिएन। तर, विस्तारै अहिले कोरोनाको महामारी कम हुँदै गएको छ। अधिकांशले कोरोनाको विरुद्धको खोप पनि लगाएका कारण तिहार राम्रैसँग मनाउने वातावरण बनेको छ।

लक्ष्मीपूजाको दिन दिपावली गर्नका लागि पालाको अत्याधिक प्रयोग हुने गरेको मुकेशको अनुभव छ। बुबाको पेशालाई आफूले रहरले सुरु गरेर पेशा नै बनाएका मुकेशको पोहोरको बाँकी पाला सबै बिक्री भइसकेको छ। ‘पाटीले एकै दिन लगेर गए। पोहोर भएको खर्च अहिले उठ्यो। ब्याज त कता उठ्नु,’ ठट्टा गर्दै थिए, ‘ब्याज नउठेर पो घाटा लाग्यो त। हामीले एक वर्षसम्म पालन पोषण गरेर राखेका थियौं।’

भक्तपुरको बोडे, चपाचो, पुरानो ठिमी, च्याम्मासिंह, तालाको पोर्टरी स्क्वायर लगायतका ठाउँका प्रजापती समुदाय यतिबेला मुकेश जस्तै चक्काकै अगाडि आफ्नो समय व्यतित गर्छन्। माटाका भाँडा बनाउने उनीहरु विषेश गरी तिहार आउँदा बत्तिबाल्न प्रयोग गरिने पाला बनाउनमै आफ्नो समय व्यतित गर्ने गर्छन्।

‘हाम्रो समस्या भनेको माटो हो,’ आफूले आकृति दिएको पालालाई पातलो काठमा राख्दै उनले भने, ‘पहिला माटो पाइन्थ्यो। अहिले किन्नु पर्छ। किन्दा माटो त्यति राम्रो पनि पाइँदैन। गाह्रो छ।’

यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दिपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको भए पनि पछिल्लो समय विजुलीबाट जल्ले झिलिमिली बत्तिको प्रचलन बढेका कारण पनि माटोसँग खेलेर जीवन व्यति गरिरहेका मुकेशहरुलाई अफ्ठेरो परेको छ।

‘बजारमा पाला जस्तै बत्ति पाइदो रहेछ। धेरैले बालेको देख्छु,’ निरश छ उनको बोलीमा, ‘हुन त भगवान खुसी पार्न त माटोको पाला नै चाहिन्छ। तर, आ–आफ्नो बिचार त हो नि।’

आफ्ना बुवाले हातले घुमाउनु पर्ने चक्कामा माटोको भाँडा तथा पालाहरु बनाउने गरेको मुकेशले सुनाए। एकै छिनको कुराकानीपछि मुकेशले घरमा रहेको ठूलो काठको चक्का देखाउँदै भने, ‘मैले सिकेको चक्का हो यो। माया लाग्छ। त्यसैले राखेको छु। प्रविधिले सजिलो त गरायो। तर, पलाष्टिकका आउन थालेपछि पेशा नै संकटमा पर्छ कि झैं लाउँछ।’

‘बुवासँग काम गर्दा खेतबाट आफै गएर माटो खनेर ल्याउथ्यौं। हामी आफैले माटो खनेर ल्याउँदा राम्रो हेथ्र्यौं। ढुङ्गाहरु छानेका हुन्थ्थे। अहिले त्यस्तो हुँदैन। बेच्नेलाई कस्तो माटो आवश्यक पर्छ भन्ने पनि थाहा छैन’, मुकेशले भने।

‘आम्दानी कति हुन्छ हिसाब गरेको छैन,’ आम्दानीको कुरा गर्दा मुकेशको अनुहार बिजुलीको उज्यालोमा अझै चम्केको देखिन्थ्यो, खुसी मुद्रामा उनले भने, ‘आफूलाई जान मन लागेको ठाउँ, खानमन लागेको कुरा कुनै पनि चिज पैसा अभावका कारण रोक्नु परेको छैन। यसरी बुझ्नुहोस कि आम्दानी पनि राम्रै छ।’

नयाँ पुस्ताले परम्परागत पाला बनाउने व्यवसाय स्वीकार नगरीसकेको उनको गुनासो रहेको छ। उनले भने, ‘सिक्न पनि आउँदैनन्। आम्दानी नहुँने काम पनि कसैले गर्छ जस्तो कुरा गर्छन्।’

‘खै अब सरकारलाई के गर्ने के नगर्ने भनौं,’ सरकारसँगको अपेक्षा के छ भन्ने प्रश्नमा मुकेशले भने, ‘कुमालेहरुलाई माटोको भन्दा बढी अन्य कुनै कुराको पनि आवश्यकता पर्छ जस्तो लाग्दै। सकेसम्म सरकारले हामीलाई आवश्यक पर्ने माटो खन्ने ठाउँहरु व्यवस्थित गरिदिएको भए हामीलाई काम गर्न सजिलो हुथ्यो। हामी माटो किन्न तयार छौं तर, राम्रो चाहियो। भनेको बेला पाउनु पर्‍याे।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *