तिहारमा उल्लेख्य व्यापार भएपछि व्यापारी दंग
काठमाडौ। कोरोना महामारी कम हुँदै गएपछि व्यपारीहरुमा खुसी छाएको छ। वर्षभरीमा सबै भन्दा बढी व्यापार हुने दशैं तिहारको समय गतवर्ष भने सम्झनलायक भयो। व्यापार व्यवसाय ठप्प भएपछि व्यापार राखेको सटरको भाडासमेत दिन व्यापारीलाई हम्मेहम्मे भयो।
कोरोना महामारी सुरु भएपछि गत वर्षको दशैं तिहारमा भने अपेक्षा अनुसारको व्यापार भएन। त्यो अवस्थालाई हेर्दा अहिलेको दशैं तिहारमा भने व्यापारीहरु उत्साहित भएका हुन्। उनीहरुमा अब त लयमा फर्किन्छौं होला भन्ने आशा पलाएको छ।
लयमा फर्किने आशा पलाउनुमा कोरोना विरुद्धको खोप मुख्य कारण भएको काठमडौंको महाबौद्धका व्यापारी संजय शर्माको बुझाइ छ। कपडा पसल गर्ने शर्मा गत वर्ष छुट गरेपछिको भाडा पनि बुझाउन नसकेर अप्ठेरोमा परेका थिए।
काठमाडौं महाबौद्धबाट देशभर सामान सप्लाइ हुन्छ। देशभरमा व्यापार गर्नेहरुले महाबौद्धबाट सामान लैजाने गर्छन। मंगलबार महाबौद्ध क्षेत्रमा सामान खरिद बिक्री गर्नेको ठूलो भिड देखिन्थ्यो।
कोरोना कहरमा खाली प्राय देखिने न्यूरोडदेखि, इन्द्रचोक, असनलगायतका स्थान सामान खरिद गर्नेको मेला लागेको देखिन्थ्यो। न्यूरोडको विशाल बजार अगाडि एका तर्फ दुई लाइन पार्किङ र अर्को तर्फ रोडमै राखिएको व्यापारका कारण हिँडडुल गर्न समेत अफ्ठेरो भइरहेको थियो।
असनको भित्रपट्टी कपडाको व्यापार गरेका शर्मा खुसी मुद्रामा ग्राहकसँग डिल गरिरहेका थिए। थोरै समय लिएर कुरा गर्दा उनले व्यापार भइरहेको प्रतिक्रिया दिए। ‘अहिले त व्यापार भएको छ हजुर,’ शर्माले भने, ‘गत वर्ष हो सबै भन्दा गाह्रो भएको। हामीले चाहे जस्तो सामान राख्द पनि सकिएको थिएन। त्यो अनुसारको व्यापार पनि भएन।’
कोरोना विरुद्धको खोप लगाएका कारण पनि मानिसहरुमा कोरोनाको डर कम भएको हो। कोरोनाको डर कम भएपछि व्यापार गर्न सहज भएको शर्माको भनाइ छ। गएको भदौ महिनासम्म पनि व्यापार यसरी हुन्छ होला भनेर शर्माले अपेक्षा समेत गरेका थिएनन्। दशैं सुरु हुन थालेपछि व्यापार भएको देख्दा दंग पर्छन उनी।
‘हामीले पनि खोप लगाएका छौं। अरुहरुले पनि लगाउनु भएको छ। त्यसैले डर त लाग्दैन। तर पनि स्वास्थ्यका मापदण्ड भने पालना गर्नै पर्छ हामी जहिले मास्क लगाए बस्छौं।’ शर्माले भने खोप लगाए पनि मापदण्ड पालना गरिरहेका छौं।
असनको चोक मै भाडाँ पसल गरेकी रस्मी श्रेष्ठ पनि व्यापार भएकोमा खुसी छिन्। ग्राहकसँग डिल गर्दै बोल्न फुर्सन नभएकी उनले हाम्रो प्रश्नको उत्तरमा भनिन्, ‘गत वर्षको त कुरै नगरौं हजुर। त्यो वर्ष भुल्नु नै व्यापारीका लागि राम्रो होला। अहिलेको वर्षमा पनि हामीले अपेक्षा कम गरेका थियौं। तर, अपेक्षा गरेको भन्दा बढी व्यापार भइरहेकोछ।’
गतवर्ष तिहार खुसीले मनाउन नपाएकाहरु भने यो वर्ष हर्षका साथ मनाउने बताउँछन्। टोखाबाट सामान खरिदको लागि महाबौद्ध पुगेकी अस्मीताले धनवन्तरीको दिन पितलको सामग्री खरिद गरिन्। उनले पितलको सामग्रीमात्र नभएर घरको लागि आवश्यक पर्ने अन्य विजुलीबाट चम्किने लाइट पनि किनेकी छिन्।
‘पोहोर मनाउन पाइएन। अहिले राम्रोसँग मनाउनु पर्छ भन्ने भएर सामान किन्न आएको हो। कोरोनाको डर त लागि रहन्छ। मैले खोप लगाएकी छु तर पनि सावधानी अपनाइराख्नु पर्छ भन्ने लाग्छ।’
के छ नेपालमा कोरोनाको अवस्था
नेपालमा हालसम्म झण्डै ७५ लाखले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३ लाख बढीले पहिलो मात्राको खोप लगाएका छन्।
गत २४ घण्टामा नेपालमा कोरोनाका ४ सय ६९ जना संक्रमित थपिएका छन् भने ५ सय ५५ जना निको भएर घर फिर्ता भएका छन्। हालसम्म नेपालमा आठ लाख १३ हजार चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमध्ये सात लाख ९२ हजार ८ सय ३२ जना निको भइसकेका छन् भने ११ हजार चार सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मनाङ मुगु र हुम्लामा कोरोनाको शून्य संक्रमण भएको छ। यी जिल्लाहरुमा अहिले कोरोनाका संक्रमितहरु भेटिएका छैनन्। भने काठमाडौं उपत्यकाका तीन जिल्लामा बाहेक कुनै पनि जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छैनन्।
Facebook Comment