जनगणनाका लागि गणक खटाउने तयारी अन्तिम चरणमा

डिसी नेपाल
१७ कार्तिक २०७८ १६:४२

कञ्चनपुर । राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्ला जनगणना कार्यालय कञ्चनपुरका प्रमुख गोविन्दप्रसाद न्यौपानेका अनुसार गणकलाई चार दिने तालिम प्रदान गरी खटाउने तयारी गरिएको छ ।जनगणनाका लागि खटिने गणकलाई आवश्यकपर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालय प्रमुख न्यौपानेले बताए । ‘गणकका लागि कात्तिक १३ गते देखि १६ गते सम्म तालिम दिएका छौं’, उनले भने, ‘तालिम पश्चात निर्धारित समयभित्रै जनगणनाको कार्य हुने छ ।’

जनगणनाको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि नौ स्थानीय तहलाई मध्यनजर गर्दै शुक्लाफाँटा, बेलौरी, पुर्नवास, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकामा रहेको कार्यालयले बेदकोट नगरपालिकासम्म हेर्ने गरी, शुक्लाफाँटामा रहेको कार्यालयले कृष्णपुर नगरपालिकासम्म हेर्ने गरी, बेलौरी नगरपालिकाले लाझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई हेर्ने गरी कार्यालय स्थापना गरिएका छन् ।

जनगणनाका लागि खोलिएका कार्यालयमै सेन्टर राखेर गणकलाई तालिमको व्यवस्था गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि कञ्चनपुरमा ४७७ गणक र ११७ सुपरिवेक्षकलाई खटाउने तयारी भइरहेको छ । पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे समान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको छ । ‘पहिलो पटक बस्ने घर र खाली घरको गणना गर्ने समेत हुँदैछ’, कार्यालय प्रमुख न्यौपानेले भने, ‘पछिल्ला जनगणनामा घर गणनाको कार्यलाई समेटिएको थिएन । यस पटक घर गणनालाई समेत समावेश गरिएको छ ।’ जन्मदार्ताको अवस्थाकाबारे समेत जनगणनामा समावेश गरिएको उनले बताए ।

गणकहरुले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्ने बताइएको छ । ‘जनगणनामा कोही पनि नछुटन भनेर सावधानीपूर्वक कार्य अगाडि बढाउने योजना अघि सारेका छौं’, उनले भने, ‘सुरक्षा निकाय र कैदीबन्दीको समेत गणना गर्छौ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *