प्रधानसेनापतिद्वारा चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास

काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उनले बुधवार शिलान्यास गरेका हुन् । प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गरे । उनले चिसापानीगढीसहित देशभरका गढीले देशको सीमा सुरक्षाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै यसको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरे ।
लामो समयदेखि राज्यको नरजमा पर्न नसकेको सो गढीको संरक्षणमा अहिले भीमफेदी गाउँपालिकाले सक्रियता देखाएको भन्दै उनले नेपाली सेनाले पनि आवश्यक सहयोग गरेको बताए । राज्यपक्षले यस्ता गढीलाई राष्ट्रिय गौरवको आयोजनाकै रूपमा राखेर प्रविधियुक्त संरचना बनाई भावी पुस्तालाई इतिहास अध्ययनको लागि वातावरण तयार पार्नुपर्ने उनले बताए ।
उनले ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको गढी अब देशैकै उत्कृष्ट गढीका रूपमा पर्यटकीयरूपमा चर्चामा आउने समेत बताए ।जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तत्कालीन समयमा व्यापारिक नाकाको रूपमा रहेको यस गढीको संरक्षण र विकासका लागि आफू र आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए । उनले चिसापानीगढी अब नयाँ पुस्ताको लागि अध्ययनको एउटा राम्रो गन्तव्य बन्ने र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिने उल्लेख गरे ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गाउँपालिका उपाध्यक्ष पावर्ती राना, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी लगायतको उपस्थिति थियो । गढी निर्माणका लागि चालू आर्थिक वर्षमा मात्रै ५ करोड रुपैयाँ विनियोजना भइसकेको छ । ठेक्का सम्झौतामार्फत विक्रम संवत् २०८० साल भित्रमा संरचना निर्माणको काम सम्पन्न गरिसकिने भीमफेदी गाउँपालिकाले जनाएको छ । चालू आवमा मुख्य प्रवेशद्वारामा कलात्मक गेट निर्माण गरिने, सो क्षेत्रमा कम्पाउण्ड वाल निर्माण गरिने, नेपालको नक्सा तयार गरिने, इनारको पुनः निर्माण गरिने, तथा बटुक भैरव मन्दिरको संरक्षण गरिने गाउँपालिकाको योजना रहेको योजना प्रमुख बद्र्री सापकोटाले जानकारी दिए ।
सो आयोजनाको लागि २८ लाख रुपैयाँको गुरुयोजना तयार गरी काम अघि बढाइएको उनको भनाइ छ ।
Facebook Comment