नवदुर्गा गुठी संरक्षणका लागि गोदावरी नगरपालिकाको ५० लाख सहयोग
काठमाडाैं ।ललितपुरको ठेचोस्थित नवदुर्गा भवानी गुठीलाई गोदावरी नगरपालिकाले अक्षय कोष स्थापनाका लागि ५० लाख सहयोग गरेको छ ।
बिहीबार ललितपुरको ठेचोमा नवदुर्गा मन्दिर पुनर्निर्माणपछि उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ३० लाख हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरपालिकाले यसअघि नै २० लाख गुठीलाई हस्तान्तरण गरिसकेको जानकारी दिइएको छ ।
गुठीलाई हरेक वर्ष जात्रा पर्व र नाच चलाउन यो रकमको व्याजबाट आउने रकम खर्च गरिने बताइएको छ । उर्जामन्त्री पम्फा भुसालले आफ्नो सांसद विकाश कोषको रकम सिधै अक्षय कोषका लागि दिन नमिल्ने भएकाले आफूले यहाँका सम्पदा पुनर्निर्माण र संरक्षणका लागि खर्च गर्ने तथा ठेचोमा रहेको माली समुदायको गुठी भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
नवदुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष प्रशान्त मालीले अक्षय कोष निर्माणपछि नवदुर्गा नाच, बाह्र वर्षे जात्रा चलाउन सहयोग पुग्ने अवस्था आएको भन्दै खुसी व्यक्त गरिन् । ऊर्जा तथा सिंचाईमन्त्री भुसालले नवनिर्मित मन्दिरको उद्घाटन गरेकी हुन् । पचलीभैरव एनपिएस जेभिले २ करोड ३८ लाख लागतमा २०७६ साल पौषमा निर्माण सुरु गरेको यो मन्दिर कोरोनाका कारण २०७७ पौषभित्र सम्पन्न हुनु पर्नेमा झन्डै एक वर्ष ढिला निर्माण सम्पन्न भएको हो ।
Facebook Comment