मुख्यमन्त्री शाहीसँगका साँढे ६ महिना र सम्झिएको त्यो विरासत
![मुख्यमन्त्री शाहीसँगका साँढे ६ महिना र सम्झिएको त्यो विरासत](https://www.dcnepal.com/wp-content/uploads/2021/11/252336068_286922496658994_117799632253176616_n.jpg)
२०५६ साल हो जस्तो लाग्छ महिना गते र बार ठ्याक्कै याद भएन। म उमेरले त्यस्तै ११ बर्षको हुँदो हुँ। दिनले आफ्नो चम्कीलो आकारलाई खुम्च्याउँदै मलिनता तिर लग्दै थियो। रातले आफ्ना अधेँरी पखेटा फिँजाइरहेको बेला गाउँमा भुमिगत पार्टी माओवादीको कार्यक्रमको निम्तो आउन थाल्यो। रातको त्यस्तै ८÷९ बजेको हुँदो हो यो अनुमानीत समय थियो।
माओवादीको कार्यक्रममा कोही डरले गएका थिए कोही करले गएका थिए म जस्तै कोही रहरले पनि गएका हुँदा हुन्। हिउँदको समय टहटह जुनेली रात अनि कठ्याङ्ग्रीदो चिसो माओवादी छापामारको सुरक्षा घेरामा हामी गाउँका जनता। मलाई त पहिलो रहर माओवादी छापामारहरुको अनुहार हेर्नु थियो।
रात आफ्नो गतिमा दौडिँदै थियो कार्यक्रममा बोल्ने क्रम सुरु भयो सबैभन्दा ठूलो नेता थिए त्यो बेलाका कमरेड विशाल ( अर्थात महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री ) त्यो बेलादेखि नै माओवादी छापामारको पंक्तिमा यो नाम चर्चित थियो।
पहिलो पटक देखेको माओवादी छापामार कमाण्डर विशाल उर्फ महेन्द्रबहादुर शाहीले त्यो राति गरेको भाषण अनि जनयुद्ध लड्नुको बारे प्रष्ट्याएको उद्देश्य त्यो बालापनमा माओवादीले सुरु गरेको जनयुद्ध हाम्रो लागि हो र हाम्रो पुस्ताको लागि हो भन्ने धेरैमा गहिरो गरी छाप बसेको थियो। त्यही भाषणको प्रभावले म पनि ११ बर्षको उमेरमा केही बुझेर केही रहरले र बाँकी महेन्द्रबहादुर शाहीको प्रभावले परिबर्तनको यो आन्दोलनमा सहभागी हुने मौका पाएँ।
नेकपा माओवादीको चर्चित चुनवाङ बैठकले लिएको निर्णयलाई कार्यन्वयन गर्न चीनमा माओले चलाएको लङ मार्च अभियानको झक्लो दिने गरी थालिएको ढाडमा टेकेर टाउको हान्ने अभियानको अबधिभर म महेन्द्रबहादुर शाहीसँग नजिक रहेर काम गर्ने अबसर पाएँ। त्यो बेला देखिको हाम्रो भावनात्मक सम्बन्ध हाम्रो आत्मियता अनि कमाण्डरले गरेको म प्रतिको अभिवाकत्वले मलाई आन्दोलनको बेला कहिल्यै पनि निराश बनाएन झन् उर्जा थपेको ताजा अनुभव मलाइ अहिले जस्तै लाग्छ।
पाल्पाको तानसेन, कपिलबस्तुको तौलिहवा, रुपेन्देहिको बुटवल, पाल्पा र अर्घाखाँचीको सिमाना तिनगिरे, पाल्पाको धरामपानी, लगायतका सफल फौजी मोर्चाहरुमा दिएको निर्देशन अनि प्रेरणाले नै आज यो स्थान बनाएको छ।
लाग्थ्यो सत्तामा पुगेका माओवादी नेताहरु आफ्ना सपनाहरुप्रति बेइमान भैसके होलान्, अहँ यो ६ महिनाको यात्रामा मैले त्यो भेटिन जनयुद्धको आधारभूमी रुकुम पश्चिम होस वा कालिकोटको माल्कोट होस् या जुम्ला, हुम्ला, र मुगुका ती जनयुद्धकालीन बस्तीमा पुग्दा होस् जे हिजो जनयुद्धताको बेला बाँढेका सपनाहरु थिए ती सपनाहरु पूरा गर्ने यात्रामा अहिले पनि कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिबद्ध देखेँ।
त्यही भएर हो जनयुद्धका घाइते र शहिद परिवारहरुको लागि जीवन निर्वाह भत्ताको व्यवस्था सत्ताबाट मिलाएको, बैँक खाता छोरीको सुरक्षा जीवन भरीको लोक प्रिय कार्यक्रम ल्याएको, गाडीको नाम सुनेका तर नदेखेका बस्तीमा रोड पुर् याएर गाडी गुडाएको। क्षमता हुँदा पनि अगाडि बढ्न नसकेका पत्रकारहरुको लागि छात्रबृद्धि कार्यक्रम लागू गरेको आदि।
जनयुद्धको बेला निर्माण गरेका आधार इलाकाहरुमा हिँडेका पैतलाका डोबहरु अझै मेटिएका छैनन् ती पैतलाका डोबहरु पछ्याउन हिँड्दै गर्दा महेन्द्रबहादुर शाही आफैं भन्छन् ‘सत्ता केही क्षणको लागि मात्र हो हाम्रो त त्यो बेलाका सपनाहरु हुन्। ती सपनाहरु पूरा गर्न अहिले पनि लागिरहेको छु,। बस् तरिका मात्र बदलिएको हो। जनताको बीचमा खाएका कसम गरेका प्रतिबद्धता त अहिले पनि ताजै छन्।’
सेजुवाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा कार्यरत थिए
Facebook Comment