चाडपर्वमा सिन्धुलीगढी युद्ध संग्रालय अवलोकन गर्नेको भिड
सिन्धुली । सिन्धुलीगढी युद्ध संग्रालयमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । चाडपर्वमा सिन्धुलीगढी युद्ध संग्रालय अवलोकन गर्नेको भिड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनादेखि अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म मात्र चार हजारभन्दा बढी पर्यटकले युद्ध संग्रालय अवलोकन गरेका छन् । जसबाट लगभग साढे चार लाख रकम संकलन भएको छ ।
कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी युद्ध संग्रालयमा अवलोकन गर्ने पर्यटकको संख्या यो अहिलेसम्मकै उच्च रहेको कमलामाई नगरपालिका सूचना अधिकारी निर्मल लामाले बताए ।
‘अहिले युद्ध संग्रालय अवलोक गर्नेको संख्या बढेको छ । नेपालीहरूले अँग्रेज फौजलाई कसरी हराए, कसरी नेपालीले विजयी प्राप्त गरे भन्ने उत्सुकताले पनि धेरै नागरिक युद्ध संग्रालय अवलोकन गर्न आउँछन्’, लामाले भने । चाडपर्व मनाउन विपी राजमार्ग हुँदै आउने र जानेले पनि सिन्धुलीगढी अवलोकन गर्ने भएकाले अहिले भिड बढेको उनको भनाइ छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इष्टइन्डिया कम्पनीका कप्तान किनलकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लाको युद्ध संग्रहालयले पर्यटकहरूलाई मात्र नभएर अन्य इतिहासबारे जिज्ञासा राख्ने मानिसहरूलाई समेत अध्ययन अनुसन्धान गर्नका लागि महत्वपूर्ण स्थल भएको छ ।
वीरताको इतिहासका दस्तावेजहरूसहित निर्मित संग्रहालय इतिहासका सोधकर्ता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकहरूका लागि महत्वपूर्ण आकर्षणको केन्द्र बनेको लामाले बताए ।
संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरूको नामांकन गरिएको छ भने छ हजार २८१ स्क्वायर फिटको संग्राहलयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरू सबैजसो राखिएको छ । संग्रहालय भित्र तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सामाग्री राखिएको छ ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २७६ वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरू गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए ।
ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको थियो ।
नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजित छ । जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा दुईवटा टापुमा युद्धको समयमा सानो र ठूलो तोप राखेकाले सानोगढी र ठूलोगढी भनिएको हो ।
गढीको स्थापना कहिले भयो भन्ने तथ्य फेला नपरे पनि मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले सन् १७६२ मा निर्माण गराएको गढी सन् १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए ।
सिन्धुली गढीमा पृथ्वीनारायण शाहले विजय युद्धपछि सेना बस्न काठ र खरको छानो राखेर घर बनाई गढीको स्थापना गरेको इतिहासमा उल्लेख छ ।
१९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्नेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, इँटाको गारो लगाएको दुईतले दरबार निर्माण सुरू भएकोमा पछि गढीका कर्नेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए । सिन्धुली गढीको क्षेत्रफल तीन हजार वर्गमिटरमा फैलिएको छ ।
Facebook Comment