छठ पर्वको मौका छोपेर महँगी बढाइयो

धनुषा । छठ पर्वको पूर्वसन्ध्यामा बजार भाउ निकै महँगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको पिडारी चोकमा छठ पर्वका लागि सामग्री खरिद गर्न पुगेका सतीशलाल कर्णले छठ पर्वमा पूजाका लागि चाहिने केरादेखि कागतीसम्मको भाउ बढेको बताए। अरु बेला रु पाँच गोटाले पाउने कागती अहिले रु २० गोटाभन्दा कममा पाउन मुश्किल भएको उनको भाइ थियो ।
छठमा चाहिने सामग्री किन्नका लागि बिहानदेखि बेलुकासम्म बजारमा बर्तालुको भीड निकै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको सङ्ख्या उल्लेख्य छ । अहिले केरा घरीको रु ५०० देखि ८०० सम्ममा बिक्री भएको व्यापारी बताउँछन् । साथै उखु गोटाको रु १५ मा बिक्री भएको व्यापारीको भनाइ छ ।
छठ पर्वमा केराको सिङ्गै घरी नै प्रसादका रूपमा चढाउनुपर्ने भएको हुँदा अहिले बजारमा केराको माग अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ । शनिबार मात्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजारमा लाखौँ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेक्केदार बताउँछन् । विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगर बजारमा मागअनुसार आपूर्ति नभएकाले केराको मूल्यमा ह्वात्तै वृद्धि भएको एक उपभोक्ता सञ्जीप साहले बताए । प्राय सबै बजारमा अहिले केराकोे खरिद बिक्री गर्नेको ठूलै भीड लागेको देखिन्छ । स्थानीय बजारमा केराको माग बढेपछि स्थानीय किसानले लगाएको केरा बजारमा ल्याउने क्रम जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँमा जहाँ केराको खेती गरिन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्न नसक्दा भारतको हाजिपुर, दरभङ्गा, पटना, आसाम, बङ्गाल, ठाकुरगञ्जलगायत ठाउँबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति जनकपुरका अध्यक्ष विश्वेश्वर यादवले बताए । गत वर्षको तुलनामा यसवर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ ।
Facebook Comment