मुसहर बस्तिका ५ जना बालबालिकाले अमेरिकाबाट पाए पढाई खर्च
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाका मुसहर समुदायका बालबालिका अहिले पनि शिक्षाको पहुँच भन्दा बाहिर छन् । चेतनाको अभाव र गरिबीका कारण उनीहरू शिक्षाको पहुँचबाट बाहिर हुनुपर्ने बाध्यता छ ।
यसअघि मुसहर बालबालिका आर्थिक अभावका कारण पढ्न नपाएको समाचार डिसी नेपालमा प्रकाशित भएको थियो । समाचार पढेर बालिकाका लागि शिक्षामा केही गरौँ भन्ने उद्देश्यका साथ अमेरिका बस्दै आएका देवी आचार्यले त्यस समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन पाँच जना मुसहर बालबालिकालाई कक्षा १० सम्म पढ्ने व्यवस्थाको जिम्मा लिएका छन् ।
आचार्य परिवारसहित मुसहर बस्तीमा गएर पाँच जना छात्रालाई कक्षा १० सम्म पढाइ खर्च दिने जिम्मा लिएको वडा अध्यक्ष बहादुर सदाले बताए । आर्थिक र चेतनाको अभावमा शिक्षाको पहुँचबाट बन्चित रहेका यी समुदायका बालबालिकालाई शिक्षित बनाएर सक्षम बनाउन सके यो समुदायलाई शैक्षिक र आर्थिक क्षेत्रमा अघि बढ्न सजिलो हुने उद्देश्य आफ्नो रहेको भनाई आचार्यको थियो ।
यस ठाउँका मुसहरहरू हरेक क्षेत्रमा अझै पछाडि रहेका छन् । आर्थिक अभावकै कारण बालबालिकाहरू शिक्षाबाट बञ्चित रहेको पढेपछि यो समुदायको लागि केही गरौँ भन्ने भित्रैबाट ईच्छा जागेर आएको आचार्यले बताए ।
स्थानीय बद्री सदाका कक्षा ५ मा अध्ययनरत छोरी कमली सदा, बुद्धिलाल सदाको कक्षा ७ मा अध्ययनरत छोरा राजु सदा, मंगलु सदाकी कक्षा ३ मा अध्ययनरत छोरी बिभा सदा, मिश्रिलाल सदाकी कक्षा पाँचमा अध्ययनरत छोरी प्रमिला सदा, हरेराम सदाकी कक्षा ३ मा अध्ययनरत छोरी सुसिता कुमारी सदालाई पढाउने जिम्मेवार आचार्यले लिएका छन् । उनीहरूलाई कापीकलमलगायत शैक्षिक सामाग्रीका लागि तत्कालै जनही ३/३ हजारको दरले १५ हजार वितरण गरिएको छ ।
बार्षिक रूपमा दिने सो सहयोगका लागि आफू, श्रीमती शुशिला आचार्य, छोरी सनम आचार्य र अमेरिकामा बस्दै आएका हेमन्त झा र निष्टा भुर्तेलले दिनको एक डलर जम्मा गरेर वर्षको १ जनालाई ३ सय ६५ डलर दिने र त्यसैबाट यहाँका पाँच जना छात्रछात्रालाई जनही वार्षिक १ सय डलर दिने बताए । साथै, बाँकी रहेको पैसा पनि बिस्तारै सहयोगमा लगाउने आचार्यको भनाइ रहेको छ ।
उनले भने, ‘नेपालकै छोरा भएर अमेरिकामा स्थापित भएकैले यो समुदायको लागि केही गर्न सकेको हुँ । म चाहन्छु, यहाँको बालबालिका पढेर हामी जस्तै योग्य नागरिक बनुन र यो समुदायलाई उकास्न सकून् । सबैको सहयोग भयो भने यो सम्भव छ ।’
सहयोग पाएकी स्थानीय आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत १३ वर्षीया कैली सदाले पढ्ने ईच्छा हुँदाहुँदै पनि बाबुआमाले ट्यूसन पढाउन नसकेको र परीक्षा शुल्क, काँपीकलम किन्न पैसा तिर्न नसकेको कारणले समस्या हुँदै आएको बताइन् ।
पढाइलाई अगाडि बढाउन सक्छु कि सक्दिन भन्ने चिन्ता लाग्ने गरेको बताउने सहयोग पाएका बालबालिकाहरु अहिले पढाइको खर्चको जिम्मा लिएपछि भने पढेर आफ्नो समुदायको लागि केही गर्न सक्ने आश पलाएको बताए ।
कैलीका बाबू बद्री सदा मजदुर हुन् । उनीले मजदुरी गर्दै ८ छोरी र १ छोरा तथा श्रीमान् श्रीमती गरि ११ जना परिवारको जिविकोपार्जन गर्दै आएका छन् । उनले भने,‘म एक्लो कमाउने तर परिवार ठूलो छ । थाम्न गाह्रो भएपछि नपढाई तीन छोरीको बालविवाह गरेर पठाए । चौथो छोरीले पनि पढ्न् पाईन् ।’
पाँचौ छोरी कैलीलाई भने हामीले ध्यान नदिएपनि सानैदेखि पढ्ने ईच्छा गरेर विद्यालयमा भर्ना भएदेखि राम्रो पढ्दै आएको बद्रीले बताए । उनले भने, ‘दिदी सुत्केरी हुँदा सघाउन दिदीको घर पठाउदा त्यहाँ पनि सघाउन छोडेर कैली त्यहाँको बिद्यालय जाने गर्थिन् ।’
मागेको बेला कापीकलम किन्न, टिउसन शुल्क, परीक्षा शुल्क तिर्न नपाएको बेला पढाइ खर्च जिम्मा लिएपछि कैलीले पढ्न पाउनेमा ढुक्क रहेको बाबु बद्रीले खुशी व्यक्त गरे । उनले भने, ‘जहाँसम्म पढ्ने ईच्छा कैलीले गर्छ । त्यहाँसम्म पढ्ने वातावरण बनाई दिने र बालबिवाह नगर्ने मेरो प्रतिबद्धता छ ।’
उनी जस्तै सहयोग पाएका अरु बालबालिकाले पढ्ने र अभिभावकले पढ्ने वातावरण श्रृजना गर्ने प्रतिबद्धता गरे । देवी आचार्य र उनका साथी कमल शर्माको सय÷सय डलरको सहयोगमा ३ सय मुसहरले सामुहिक रूपमा खानासमेत खाएका थिए । उनीहरुले भोकाएकालाई केही नभएपनि एक छाक खुवाउन सकेपनि धेरै राहत हुने आफ्नो मान्यता रहेको बताए ।
एक जनाले तीन जनालाई बनाओस् भन्ने उद्देश्यले यो सहयोग गरेर मुसहर समुदायलाई उकास्ने सोच रहेको आचार्यले बताए । पढ्ने बिद्यार्थीलाई जागिर समेत लगाई दिने प्रतिबद्धता उनले व्यक्त गरे । यस समुदायका अन्य बालबालिकासमेत शिक्षाका लागि सहयोगी हातहरूको पर्खाइमा छन् ।
Facebook Comment