बागमती किनारमा छठको रौनक (फोटोफिचर)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।
देशभरका तलाउ तथा नदीहरू छठको लागि सिंगारिएको काठमाडौंको गौरिघाटस्थित बागमती नदी पनि दुलही झै सिंगारिएको छ। नदीको एकातिर श्रदालु भक्तजनका लागि त्रिपाल लगाइएको छ भने अर्को तर्फ विभिन्न झिलीमिली बत्तीहरूले उज्यालो दिइरहेका छन्।
आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् ।
आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ । त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रुपमा ग्रहण गरी व्रत समापन गर्दछन् ।
Facebook Comment