इजरायल रोजगारीः मंसिर ५ सम्म स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गरिसक्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि इजरायलको पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी अफ इजरायल(पीआइबीए)द्वारा चिठ्ठा प्रणालीबाट छनौट भएका नेपाली युवालाई प्रमाणपत्र पेश गर्न विभागले एक सूचनामार्फत आग्रह गरेको हो ।
विभागले तोकेको स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न र प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरेको छ । त्यस्तै, स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पताल(विभागले तोकेको चार अस्पताल)बाटै विभागलाई उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्र भने स्पष्ट बुझिने गरी स्क्यानप्रति उम्मेदवार स्वयंले विभागको इमेल israelsec@dofe.gov.np मा मंसिर ५ गतेभित्र पठाइसक्नुपर्ने उल्लेख छ ।
विभागले स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरस्थित सानेपाको स्टार अस्पताल, काठमाडौंस्थित मन्डिखाटारको ह्याम्स अस्पताल, ललितपुरस्थित भैसेपाटीको नेपाल मेडिसिटी हस्पिटल र काठमाडौंस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ ।
पछिल्लो समय नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौतानुसार पहिलो चरणमा इजरायलले १ हजार नेपाली कामदारको माग गरेको थियो । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये भाषा र अन्तर्वार्ता परीक्षामा पास भएका १६ सय जनाको नाम लिष्ट विभागले सार्वजनिक गरेको थियो ।
१६ सय जनामध्येबाट इजरायलस्थित पीआइबीएले चिठ्ठा प्रणालीमार्फत कामदार छनौट गरी ११ सय ७५ जनाको नाम लिष्ट पुनः नेपाललाई पठाएको थियो । तिनै ११ यस ७५ जनालाई विभागले स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको हो ।
Facebook Comment