नेपाली कांग्रेस केन्द्रीय सभापतिका लागि चाहिने तीन विशेषताहरु कोसँग छ ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन जतिजति नजिकिदैछ उतिउति सभापतिका उम्मेदवारको संख्या बढ्दै गएको छ । तीमध्ये को ठीक भनेर देशभरका कार्यकर्ता नेतृत्व छनौटमा व्यस्त छन् ।
अहिले सभापतिको लागि चर्चामा आएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, बिमलेन्द्र नीधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइरालामध्ये को ठीक भनेर नै बहस भइरहेको छ । यहाँ जनजातिको तर्फबाट कुनै अर्को दाबेदार समेत थपिएमा १० जना सभापतिका आकांक्षी हुनेछन् । तर ती १० जनामा सबैभन्दा बढी पार्टीका लागि कामलाग्ने को त ? यसपटक नेपाली कांग्रेसको सभापति हुनका लागि कम्तिमा तीनबटा गुण हुन आवश्यक छ भन्ने एउटा अभियान चल्न सक्छ ।
हो, नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा १०–१० जनाले मलाई पनि मलाई पनि भनिरहँदा यसका लागि कार्यकर्ता वा मददाताहरुले एउटा गाइडलाइन बनाउन जरुरी भइसकेको छ । एउटा भनाई छ, ‘चरियै खाने मुसियै खाने’ अर्थात जसलाई पनि चाहिने ? १३ औं महाधिवेशनमा ३ जना प्रतिस्पर्धामा थिए । अहिले त त्यसको तीन दोब्बर बढी ।
यसरी धेरै आकांक्षी भएपनि लेखकले कांग्रेसमा सभापतिका लागि सही उम्मेदवारको चयन गर्न मतदातालाई उनीहरुको उम्मेदवारहरुमा कम्तिमा तीनवटा गुण आग्रह गर्न खाजेको हो । तल उल्लेख भएका तीनवटा गुणहरु जोजोसंग छ उनीहरुमध्ये कसैलाई सभापति बनाउनु भयो भने नेपाली कांग्रेस प्रति न्याय गरेको हुनेछ ।
राणाहरुमै ए,बी र सी गरेर तीन श्रेणी भएजस्तै नेपाली कांग्रेस जन्मदै दुईपार्टीलाई एकीकरण गरेकोले दुई गुट शुरुमै थियो । जुन अहिलेसम्म विभिन्न व्यक्तिको काँधमा सर्दैसर्दै गए पनि कायम छ । विसं २००७ सालदेखि नै कांग्रेसमा गुट भित्र पनि गुट बनेकै हो ।
राणाहरुमै ए,बी र सी गरेर तीन श्रेणी भएजस्तै नेपाली कांग्रेस जन्मदै दुईपार्टीलाई एकीकरण गरेकोले दुई गुट शुरुमै थियो । जुन अहिलेसम्म विभिन्न व्यक्तिको काँधमा सर्दैसर्दै गए पनि कायम छ । विसं २००७ सालदेखि नै कांग्रेसमा गुट भित्र पनि गुट बनेकै हो ।
विशेष गरेर मातृकाप्रसाद कोइरालालाई भारतको सहयोगमा राजा त्रिभुवनले प्रधानमन्त्री बनाएपछि बीपी कोइराला आफ्नै दाइको विरुद्धमा कम्मर कसेर लागेको इतिहासमै देखिन्छ । त्यही रोगले अहिले आएर कोइराला परिवारका तीन जनाको तीनजना नै सभापतिको दावेदार भएका छन् ।
कोइराला परिवार भित्र गुटको शुरुवात बीपी कोइरालाले नै गरेका थिए । त्यसको सीको गिरिजाप्रसाद कोइरालाले गरेकाले बीपी पुत्रहरुमध्ये जेठोलाई बिराटनगरकै एउटा कार्यक्रममा घोक्रेठ्याक लगाइएको थियो । अर्को छोरा शशांक कोइरालालाई विराटनगरमा हालीमुहाली गर्ला भनेर कोइराला परिवारकै एउटा गुटले पश्चिम लखेटेकै हो ।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला शक्तिमा हुँदाको अन्तिमतिर नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुदैछन् भनेर छोरी सुजातालाई धेरै नै पुल्पुलाए । त्यही पुल्पुलाहटले अहिले उनी सभापतिको दाबेदार बनिरहेकी छिन् । अर्थात १४ औ महाधिवेशनमा कोइराला परिवारकै तीन तीनजना सभापतिको दाबेदार भएका छन् । यो के हो ? सजिलो उत्तर छ, विनाशकाले विपरित बुद्धि । अर्थात यो मासिने मेलो हो ।
जहाँसम्म नेपाली कांग्रेसको सभापतिका लागि चाहिने गुणहरु धेरै छन् । तर त्यसमध्ये पनि तीनबटा प्रमुख रुपमा आवश्यक छ । त्यो तीनबटा विशेषता नभएकालाई पनि सभापति छान्न थाल्नु भयो भने मतदाताहरुले राजनीति होइन, चाकरी गरेको ठहर्नेछ । त्यो तीन विशेषताहरु के के हुन त भन्ने सबैलाई लागेको होला ।
पहिलो विशेषता या गुण भनेको सभापतिमा उम्मेदवार हुने व्यक्ति नेपाल विद्यार्थी संघ कै राजनीतिदेखि अग्रसर भएको हुनु पर्दछ । कम्तिमा नेविसंघको केन्द्रिय अध्यक्ष भएको वा नेविसंघको पदाधिकारीमध्ये कुनै भएको त हुनुपर्यो नि ? सबै मतदाताले अब नेविसंघको इतिहास पल्टाएर हुर्नुहोला ।
पहिलो विशेषता या गुण भनेको सभापतिमा उम्मेदवार हुने व्यक्ति नेपाल विद्यार्थी संघ कै राजनीतिदेखि अग्रसर भएको हुनु पर्दछ । कम्तिमा नेविसंघको केन्द्रिय अध्यक्ष भएको वा नेविसंघको पदाधिकारीमध्ये कुनै भएको त हुनुपर्यो नि ? सबै मतदाताले अब नेविसंघको इतिहास पल्टाएर हुर्नुहोला ।
पदाधिकारी नभएकाहरु कोही उम्मेदवार बन्न चाहन्छन् भने उनीहरु सरकारी कर्मचारीमा पनि उमेर हुन्जेल जागिर खाने र जागिर डकारेपछि पुर्खाको लगानीको ब्याज चाहियो भनेर पार्टीको राजनीतिमा आउने । त्यस्तालाई कांग्रेसका अग्रजहरुले नेता मानिदिनु पर्ने ? कहिँ नभएको जात्रा हाँडी गाउँमा भएजस्तै नेपाली कांग्रेसमा पनि भइरहेको छ ।
हो, कांग्रेसले यो १४ औं महाधिवेशनमा सभापतिका लागि पूर्व सरकारी जागिरेहरुलाई कुनै पनि रुपमा स्थान दिनु हुँदैन । हो, कोही जागिरे भएपनि पेन्शन नखाई पार्टीको आवश्यकता अनुसार जागिरबाट राजिनामा दिएर राजनीति गर्न आएका छन् भने त्यसलाई कन्सिडर गर्न सक्नु हुन्छ । यसका लागि तपाईहरुले जागिरेहरु जो अहिले राजनीतिका लागि खरानी धसेर लागेका छन् उनीहरुले सरकारबाट पेन्शन खाइरहेका छन् कि छैनन् ? उनीहरु को–को हो भनेर खोजि गर्नु होला । पेन्शन नखाएका भए उनीहरुलाई अवसर दिन सक्नु हुन्छ । त्यो पत्तालगाउने काम कांग्रेसजनको हो ।
हुनत, जसले पेन्शन खाइरहनु भएको छ वा खानु भएको छैन, उनीहरुले आफैले पनि कुनै प्रसंगमा भाषण गर्दा सार्वजनिक गर्दा हुन्छ । यसमा कुरा लुकाएर अरुले थाहा पाउदैनन् भन्ने छैन । यो पहिलो नम्बरको विशेषताहरु सभापतिका दावेदारमध्ये कसकसको मिल्दछ ? यहाँहरुले नै विश्लेषण गर्नु होला ।
दोस्रो विशेषता या गुण भनेको त्यस्तो व्यक्तिलाई सभापति बनाउनुहोस जसले कम्तिमा आफ्नो निर्वाचन क्षेत्रमा कहिल्यै चुनाव हारेको छैन् वा अब पनि हार्ने छैन् भन्ने लाग्दछ । सभापति भनेको नेपाली कांग्रेस पार्टीको मूली हो । अभिभावक हो । नेतृत्वकर्ता हो । टाउको हो । अब पार्टीको टाउको नै निर्वाचनमा बारम्बार हार्ने फेला परेमा पार्टीमा निराशा छाउँछ ।
जो कम्तिमा आफ्नो क्षेत्रमा जीत्न सक्दछ उसलाई मात्र सभापतिमा स्वीकार गर्नु होला । यसभित्र को– को अटाउँछन् ? कांग्रेसका नेता कार्यकर्ताले आफै विश्लेषण गर्ने बेला आएको छ । आफू निर्वाचन जीत्न सक्ने हैसियत छैन भने पार्टी सिंगो हाक्छु भन्ने घमण्ड नगर्दा हुन्छ । हार्नेहरु को–को हुन् ? र जीत्नेहरु कोको हुन ? यसमा होश गर्नुहोला । हैन भने पाँचबर्षमा नेपाली कांग्रेसलाई हरुवा नेताले ‘गयल भैंस पाइनमे पडू सहित’ बनाउनेछन् ।
हो हार्ने र जीत्नेको हिसाब गणना गर्दा सभापतिका उम्मेदावरहरु पक्कै पनि कम्तिमा तीन पटकदेखि बढीमा सात पटकसम्म उठेका छन् । यसलाई ग्रेडिङ् गर्न सक्नु हुन्छ । अर्थात तीन पटक उठेकाले दुईपटक जीतेको भए विचार गर्नुस । तर, दुईपटक हारेका रहेछन् भने त्यसमा भरोसा गर्न छोड्नुस । त्यस्ता नेता फेरी हार्दछन् भन्ने ग्यारेन्टी दिन सकिन्छ । तर चार वा पाँच पटक उठेका छन् र एक पटक मात्र हारेका छन् भने त्यसलाई कन्सिडर गर्न सक्नु हुन्छ ।
जस्तै काठमाडौंका प्रकाशमान सिंह कै कुरा गरौं । उनी एकपटक हारे तर पटक पटक वा धेरै पटक जीतेका छन् । उनलाई धेरै जीत्ने नेताकै रुपमा नेपाली कांग्रेसमा चिनिन्छ । तर बिमलेन्द्र नीधि पनि पछिल्लो पटक हारेका भए पनि धेरै पटक जीत्ने नेताकै रुपमा चिनिएका छन् । तर पनि हारे त । यहाँ त कहिल्यै नहार्ने चाहिएको छ । प्रकाशमानलाई नै पछिल्लो पटक रबिन्द्र मिश्रले आछुआछु नै पारेका थिए । विचरा बिमलेन्द्र नीधि र डा. शेखर कोइराला त भारतको ग्राइनडिजाइनमा नै परेर हारे ।
केही भोटले जीते पनि जीत्ने विशेषता भएको सभापति चाहिएको छ । यसका लागि शेरबहादुर देउवा एउटा ब्राण्ड भएर बसेका छन् । उनी कहिल्यै हारेका छैनन् । कहिल्यै नहार्नेमा डा. शशांक कोइराला पनि हुन तर उनको पहिलो विशेषता मै प्रश्न चिन्ह छ । कहिल्यै नहार्ने अर्को उम्मेदावर भनेको गगन थापा हुन् । उनी नेविसंघको अध्यक्ष पनि भएकै हुन् ।
यसरी हेर्दा माथिका दुई विशेषता पुरा गर्ने त बरु गगन थापा पनि पो हुन् । गोपालमान श्रेष्ठ, सुजाता कोइरालाहरु, कृष्ण सिटौलाहरु धेरै हार्नेमा पर्दछन् कि ? वा जो समानुपातिक तर्फ झर्दछ उसले त झनै सभापतिको लागि लोभ गर्नु बेकार छ । यसमा कांग्रेस नेताहरुले आफ्नो धारणा अब चियागफ वा निर्वाचन सम्बन्धी गाउँ, नगर, क्षेत्र र जिल्ला स्तरका कार्यक्रममा उठाउनु पर्दछ । हैन भने मौकामा हिरा फोड्ने काम भएन भने नेपाली कांग्रेसमा धमिरा लाग्न सक्छ । मौकामा चौका हान्न सबै मतदाता तयार हुनु पर्दछ ।
तेस्रो विशेषता या गुण भनेको सैद्धान्तिक बहस गर्न सक्ने । नेपाली कांग्रेसको सिद्धान्तको मूल के हो ? यसले गरेका व्याख्या विश्लेषणहरु के के हुन् ? विश्वमा रहेका राजनीतिक सिद्धान्तहरु कुन कुन छन् ? नेपाली कांग्रेसको ती सिद्धान्तहरु मध्ये कुन कुनसँग निकटता छ ? बीपीले भनेको समाजवादको मूल आशय के हो ? राजनीतिक, आर्थिक, धार्मिक गतिविधिहरुलाई पार्टीले कसरी व्याख्या गरिरहेको छ ? विश्वको आर्थिक चित्र कस्तो छ ? विश्व कुन धारमा गइरहेको छ ? संबैधानिक राजतन्त्र किन भनियो ? पछि गणतन्त्रमा किन गइयो ? नेपाली कांग्रेसको पहिलेको विधानमा धार्मिक स्वतन्त्रता किन लेखिएको थियो ? त्यो कसको अवधारणा थियो ?
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा किन धर्म निरपेक्षतामा पार्टी गयो । सिद्धान्त बुझेर गएको थियो कि ? वा कसैले दिएको मोटो रकमको प्रभाव थियो कि ? वा प्रथम राष्ट्रपति हुने लोभमा कांग्रेसले आफ्ना सबै सिद्धान्तहरुमा सौदावाजी गरेको हो कि ? भन्ने विषयमा प्रष्ट जनताले बुझ्ने भाषामा केस्रा केस्रा केलाएर व्याख्या गर्न सक्ने व्यक्तित्वको आवश्यकता पर्दछ । यति मात्र होइन, म सभापति भएभने आफ्नै पार्टीलाई सैद्धान्तिक आधारमा यो धारमा लैजान्छु भनेर एउटा भिजन दिन सक्नु पर्दछ ।
त्यस्तो व्यक्तिलाई सभापति छान्नु होस जसले नेपालकै अन्य राजनीतिक पार्टीका नेताहरुसँग वा विश्वका कुनै राजनेताहरुसंग सैद्धान्तिक बहस गर्न सकोस । सैद्धान्तिक रुपमा खारिएको र आर्थिक नीतिहरुमा कुनै धारलाई लिएर एउटा खाका परिकल्पना गर्न सक्ने हैसियत भएको व्यक्तिको खोजी गर्नु पर्दछ । त्यस्तो खुबी कोसँग छ ? नेपाली कांग्रेसले सभापतिमा उठ्नेहरुलाई सैद्धान्तिक बहसमा सामेल गराउनु पर्दछ । को सभापति भयो भने सैद्धान्तिक आधार, देश सञ्चालनका स्मार्ट विधिहरु के के अवलम्बन गर्न खोज्दैछन् भन्ने जानकारी दिन सक्ने हैसियत भएको व्यक्तिलाई पार्टीको सभापतिमा चयन गर्नुहोस ।
मेरो बुवा, काका वा अन्य कुनै नातेदार पार्टीको पहिलो पुस्ताको नेता हुन् वा थिए र त्यसैले मैले अब भाग खान पाउनु पर्दछ भन्ने सोच भएकाहरुलाई धारे हात देखाउने हो की ? मुखभरीको जवाफ दिएर पठाउने हो कि ? त्यो अब कांग्रेसजनको हातमा छ ।
माथीका तीन विशेषताहरु कसकसका छन् ? तीनबटै विशेषता पुरा हुने एकजना गगन थापा मात्र देखिन्छन् । तर, उनी महामन्त्रीमा उठ्ने बताइरहेका छन् । शेरबहादुर देउवामा माथीका पहिलो र दोस्रो विशेषता भएपनि तेस्रो विशेषतामा पुगेपछि उनी हच्किन्छन् । तर त्यसका लागि एउटा विकल्प छ, त्यो भनेको टीम । टीममा उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री कस्तालाई काखी च्याप्छन् ? त्यसमा भर पर्दछ । आफ्नै मार्काका महामन्त्री छान्ने हो भने त बर्बादै हुन्छ । प्रतिस्पर्धाको समयमा तोलमोल गरेर टीम बनाउने होइन । विचार दिन सक्ने, विचार अनुसार व्यवस्थापन गर्नसक्ने व्यक्तित्वको छनौट गर्नु पर्दछ । त्यसका लागि शेरबहादुर देउवाले क्षेत्रीय अधिवेशनहरु भइसकेपछि आफ्नो टीम बनाउने भनिरहेका छन् । हेरौं उनको टीम आएपछि तेस्रो विशेषतालाई कत्तिको कभर गर्न चाहेका छन् भन्ने एक्कीन गर्न सकिन्छ ।
तर, मूल रुपमा नेपाली कांग्रेसमा विभिन्न समयमा गुट उपगुट बढ्दै गएर अहिले १० जना सभापतिको आकांक्षी हुनुमा केही हदसम्म रामचन्द्र पौडेल र प्रकाशमान सिंहको पनि दोष देखिन्छ । सबैलाई जगजाहेर छ, कि कोइराला परिवारले सकभर आफ्नै परिवार भित्र पार्टी सभापति बनाउन चाहन्छ । कुनै सीप नलागेपछि रामचन्द्र पौडेललाई एकपटक सभापतिको मौका दिएका हुन् । पटक पटक कोइराला परिवारले पौडेललाई मौका दिंदैन । यो थाहा पाई पाई उनी किन कोइरालाहरुसंग म्याऊ म्याऊ गर्न दगुरी रहेका छन् ? यसको रहस्य के हो ? जति छिटो कोइराला खेमाबाट बाहिरियो उती छिटो पौडेलले मुक्ति पाउँछन् ।
त्यसैगरी प्रकाशमान सिंह पनि के के न पाइन्छ भनेर शेरबहादुर देउवाको गुट छोडेर सुशिल कोइरालाको गुटमा गएका थिए । सिंहलाई कोइरालाहरुको आवश्यकता थियो त्यसैले कार्पेट विच्छ्याएर आफ्नो गुटमा लगेका हुन् । अहिले त अब कोइराला परिवारमै तीन तीन जना दावेदार भएपछि प्रकाशमान सिंहलाई कुनै कोणबाट पनि सहयोग हुने देखिदैन । बुबा गणेशमान सिंहको बीडो थाम्नका लागि भएपनि प्रकाशमान सिंहले कोइराला परिवारको पछि लाग्नु हुँदैनथ्यो । किनकी गिरिजाप्रसाद कोइरालाले पटक पटक अपमान गरेकाले गणेशमान सिंहले कांग्रेस छोडेका हुन् । यतिकुरा पनि नबुझ्नेले कसरी पार्टी सभापति हाक्लान ? यसमा अहिलेपनि चेतखाने समय छ ।
समग्रमा नेपाली कांग्रेसको सभापतिको उम्मेदवार अश्वभाविक रुपमा धेरै भएका छन् । योग्यता पुगेका सबैलाई सभापतिमा उठ्ने हक छ । तर हक हुँदैमा पार्टीको इमेज पनि हेर्नु पर्दछ ।
समग्रमा नेपाली कांग्रेसको सभापतिको उम्मेदवार अश्वभाविक रुपमा धेरै भएका छन् । योग्यता पुगेका सबैलाई सभापतिमा उठ्ने हक छ । तर हक हुँदैमा पार्टीको इमेज पनि हेर्नु पर्दछ । सभापतिका दावेदारहरुलाई त लाग्दछ म नै जीत्दछु । सुजाता कोइराला जस्तो हाँस्यास्पद पात्र त सभापति सभापति भन्दै कुदिरहेकी छिन् र उनका पछाडी विभिन्न स्वार्थका झुण्डहरु लागेको देखिन्छ भने अरुलाई त के भन्नु र ?
जहाँसम्म महाधिवेशनको सवाल छ, त्यसमा मतदाताहरु कठोर हुनै पर्दछ । अहिले पनि ढीलो भएको छैन । माथी उठाइएका तीनबटा विशेषतालाई मतदाताले बटमलाईन बनाएमा आधा उम्मेदवार आफै साइड लाग्नेछन् । सही हकदार र योग्यता पुगेकाले सभापति हुने अवसर पाउने छ । आगे कांग्रेसजनकै हातमा !
Facebook Comment