एमाले १०औँ महाधिवेशन : प्रत्येक घरमा निमन्त्रणापत्र

डिसी नेपाल
३ मंसिर २०७८ ९:३०

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्याउने गरी निमन्त्रणापत्र पठाएको हो ।

१०औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उनले बताए । उनका अनुसार वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको छ ।

उनले भने, ‘पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् । उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।’

प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले)का जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् । उनका अनुसार चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।

एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।

उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम सुरु भइसकेको छ । यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको अध्यक्ष रावलले जनाए । उनका अनुसार महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग तीन हजार ५ सय बेड सम्झौता गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *