स्वस्थ जीवनका लागि उत्तम माध्यम हो योग: देउवा

डिसी नेपाल
३ मंसिर २०७८ १६:१८

काठमाडौं।योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। उनले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरे।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गरेको अनुसन्धान, प्रचार र योगदानको सराहना गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उनीहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उनीहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उनीहरु ठूलो क्रान्तिकारी भएको बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए। उनले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *